काठमाडौं । प्रसिद्ध भाषाशास्त्री तथा निबन्धकार बालकृष्ण पोखरेललाई शंकर लामिछाने निबन्ध पुरस्कार अर्पण गरिएको छ ।
शङ्कर लामिछाने प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार मदनमणि दीक्षितलाई शंकर लामिछाने सम्मान अर्पण गरिएको थियो । यस्तै, ०७३ सालको शंकर लामिछाने युवा निबन्ध पुरस्कार नियात्रा लेखक दामोदर पुडासैनी किशोरलाई दिइयो ।
शंकर लामिछानेकी धर्मपत्नी एवं प्रतिष्ठानकी संरक्षक रत्ना लामिछानेले सम्मानित र पुरस्कृत तीनै जना स्रष्टाको योगदान नेपाली साहित्यमा विशेष रहेको बताइन् ।
वरिष्ठ साहित्यकार तथा नियात्राकार तारानाथ शर्माले शंकर लामिछानेसँगको आफ्नो अन्तरंग प्रसङ्गको स्मरण गर्दै नेपाली साहित्यमा नियात्रा शब्दको प्रथम प्रयोक्ता पोखरेल, जस्तोसुकै गम्भीर विषयमा कलम चलाउने दीक्षित लगायतलाई एउटै मञ्चमा सम्मान गरिँदा प्रतिष्ठानको गरिमा अझ बढेको बताए ।
शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित र पुरस्कृत व्यक्तिहरुको बारेमा समालोचक डा. लक्ष्मणप्रसाद गौतमले प्रकाश पारेका थिए ।
कार्यक्रममा नरेन्द्रराज पौडेलको ‘विमोचनको बिगबिगी’ नामक हास्यव्यङ्ग्य कृतिको समेत लोकार्पण गरियो ।कृतिको बारेमा समालोचक डा. ज्ञानु पाण्डेले टिप्पणी गरेकी थिइन् ।