Comments Add Comment

१७ वर्षसम्म साङ्लोमा बाँधिएका युवाको फेरियो जीवन

पाँच वर्षसम्म निःशुल्क उपचार गर्छौं: अस्पताल

१४ चैत, झापा । १७ वर्षसम्म आफ्नै घरमा साङ्लोमा बाँधिएर बस्न बाध्य झापा राजगढ ८ का लीलाप्रसाद चम्लागाईंको दिनचर्या फेरिँदै गएको छ ।

दुई साता अघि उद्दार गरिएपछि स्वास्थ्य उपचार पाएसँगै उनको जीवन बदलिएको हो । मानसिक सन्तुलन राम्रो नभएकोले चम्लागाईंलाई परिवारले १७ वर्षयता बाँधेर राख्दै आएको थियो । मस्तिष्कको राम्रो विकास नभएका उनी क्षयरोगबाट पनि पीडित थिए । तर, आर्थिक अभावको कारण परिवारले उनको उपचार गर्न सकेको थिएन ।

समाचारले फेरियो जीवन, उपचार सुरु

उनकी आमाका अनुसार, लीलाप्रसाद खान-लाउन र कतै हिँडेर गए फर्किएर घर आउन जान्दैनथे । कतिसम्म भने, दिसा-पिसाब आएको समेत थाहा पाउँदैनथे । तर, स्थानीय मेची टाइम्स दैनिकमा एउटा समाचार आएपछि उनको जीवन बदलिएको छ ।

पत्रिकामा उनको बारेमा समाचार आएपछि विर्तामोडमा रहेको बीएण्डसी हस्पिटलले उनको उद्दार गर्‍यो । उद्दार गरिए लगत्तै विशेषज्ञ चिकित्सकबाट निःशुल्क उपचार सुरु भयो ।

करिब दुई साता लामो उपचारपछि सोमबार चम्लागाईंलाई डिस्चार्ज गरिएको छ ।

उपचारपछि स्वास्थ्य सामान्य बन्दै

लीलाप्रसादको अवस्था अहिले पहिलेको भन्दा धेरै सामान्य भएको छ । उनको उपचारमा संलग्न डा. सञ्जीव बर्माका अनुसार, उनमा धेरै सुधार आएको छ ।

‘लीलाप्रसादले दिसापिसाब आएको थाहा पाउन थालेका छन्’, उनले भने, ‘पहिले जस्तो बेहोस भइराख्ने समस्या पनि अहिले छैन ।’

पाँच वर्षसम्म निःशुल्क उपचार गर्छौं: अस्पताल

बीएण्डसी हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिस गिरीले अहिलेसम्म उनको उपचारमा डेढ लाखभन्दा बढी रकम खर्च भएको बताए ।

‘सामान्य अवस्थामा फर्काउन पाँच वर्षसम्म उपचार गर्नुपर्ने चिकित्सकहरुको भनाइ छ’, उनले भने, ‘हामी पाँच वर्षसम्मै बिरामीको निःशुल्क उपचार गर्नेछौं ।’

केही दिनअघि झापाका सहायक प्रमुख जिल्ला अधिकारी डम्मरुप्रसाद निरौला, महिला तथा बालबालिका कार्यालयकी प्रतिनिधि टीका खतिवडा लगायतको टोलीले लीलाप्रसादको अवस्थाबारे जानकारी लिएको थियो ।

यो पनि पढ्नुहोस्-

१७ वर्षदेखि साङ्लोमा बाँधिएका किशोरको उद्दार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment