Comments Add Comment

प्रदेश नम्बर १ का ९० स्थानीय तहमा चुनाव जित्ने एमालेको दाबी

१६ चैत, बिराटनगर । नेकपा एमालेले आसन्न स्थानीय चुनावमा प्रदेश नम्बर १ का ९० स्थानीय तहमा पार्टीले जित्ने दाबी गरेको छ ।

एमालेको प्रदेश कमिटीले चुनावको तयारी तीव्र बनाएको छ । र, उम्मेदवार छनोटका लागि मापदण्ड पनि बनाएको छ ।

एमालेको स्थायी समितिले स्थानीय तहको निर्वाचन लक्षित गरी यसअघि नै मापदण्ड बनाइसकेको थियो । तर, मंगलबार र बुधबार बिराटनगरमा बसेको प्रदेश नम्बर एकको वैठकले मेयर र उपमेयरका लागि तल्लो तहबाट भएको सिफारिसमा उम्मेदवारहरुलाई थप व्यक्तिगत विवरण माग गर्ने निर्णय गरेको छ ।

वैठकले प्रदेश नम्बर १ को समृद्धि र विकासका लागि गुरुयोजना बनाउन केन्द्रीय सचिव भीम आचार्यको नेतृत्वमा समिति बनाएको छ । समितिमा पूर्व सञ्चारमन्त्री शेरधन राईसहित जगन्नाथ खतिवडा, हिक्मत कार्की, जीवन घिमिरे, डा. शिवमाया तुम्बाहाम्फे, मञ्जु चौधरी, रुपनारायण श्रेष्ठ, गुरु बराल, मोती दुगड, मणिराज उपाध्याय, हिराबहादुर थापा, खेम नेपाली र तेज ढकाल सदस्य रहेका छन् ।

शेरधन राईको नेतृत्वमा आर्थिक विभाग गठन गरेको छ । संगठन विभाग प्रमुखमा जगन्नाथ खतिवडा, प्रचार विभाग प्रमुखमा हिक्मत कार्की र स्कुल विभाग प्रमुखमा जीवन घिमिरे संयोजकको जिम्मेवारी दिएको छ ।

बैठकमा एमाले नेताहरुले एक नम्बर प्रदेशका ९० स्थानीय तहमा पार्टीले चुनाव जित्ने दाबी गरेका छन् ।

प्रदेश सदस्य जीवन घिमिरेले तराईका केही क्षेत्रबाहेक एमाले अन्य सबै स्थानमा चुनाव जित्ने दावी गरे । एमालेले हार्ने ठाउँ नै नदेखिएको भन्दै नेता घिमिरले ९० स्थानीय तहमा एमालेले चुनाव जित्ने दाबी गरे ।

झापामा १२, मोरङमा ९ देखि १३ वटा र सुनसरीमा ६ देखि ८ वटा स्थानीय तहमा चुनाव जित्नेएमालेको दाबी छ । प्रदेश नम्बर एकमा तीन वटा उपमहानगरपालिका, ४६ वटा नगरपालिका र ८८ वटा गाँउपालिका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment