Comments Add Comment

ललितपुरमा भेटिएको सिलिन्डर केयुकेएलको, प्रयोग गर्न नमिल्ने

३ जेठ, काठमाडौं । ललितपुरको मलपोखरीमा भेटिएको अक्सिजन सिलिन्डर काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को भएको पुष्टि भएको छ ।

केयूकेएल व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीव राणाले उक्त सिलिन्डर बेवारिसे नभइ केयूकेएल परिसरमा भएको ढल महाशाखा अन्तर्गत दर्ता रहेको जानकारी दिए ।

स्थानीयले सिलिन्डर भेटिएको जानकारी दिएपछि नि: शुल्क भोजन सेवा दिँदै आएको हन्ड्रेड ग्रुपका सदस्यहरु मलपोखरी पुगेका थिए ।  उनीहरुले फोटो र भिडियोमार्फत मलपोखरीको सिलिन्डर सार्वजनिक गरेका थिए ।

समूहका संयोजक अन्शु यादवले भने ‘यहाँ भएका करिब ४० प्रतिशत काम लाग्ने अवस्थाका छन् । स्थानीयले नै जनप्रतिनिधिको नम्बर भनेर दिएको नम्बरमा हिजोदेखि नै सम्पर्क गर्न खोजिरहेका छौं । तर सम्पर्क हुन सकेको छैन ।’ स्थानीय जनप्रतिनिधिसँग सम्पर्क हुन नसकेपछि प्रहरीलाई जानकारी दिएको उनले बताए ।

ललितपुर महानगरपालिका- ४ मा भेटिएको अक्सिजन सिलिन्डर बेवारिसे नभइ काठमाडौं उपत्यका खानेपानी लिमिटेडको परिसरभित्र भएको वडा अध्यक्ष नारायण केसीले बताए । ७२ सालमा गएको भूकम्पले कम्पाउन्ड भत्केपछि केयूकेएल परिसरमै रहेका सिलिन्डर पनि खुला ठाउँमा रहेको जस्तो भ्रम परेको उनको भनाइ छ । उनले भने ‘यो बेवारिसे भनेर बेकारमा हल्ला फिजाइएको छ । त्यो केयुकेएलको परिसरमा राखिएको सिलिन्डर हो ।’

करिब ३५ वर्ष पुरानो सिलिन्डर भएको र मेडिकल प्रयोजनका लागि प्रयोग गर्न समेत नमिल्ने कार्यकारी निर्देशक राणाले बताए । उनले भने, ‘त्यो करिब ३५ वर्ष पुरानो पहेँलो सिलिन्डर हो । क्लोरिनको सिलिन्डर हो जसलाई ‘पोइजनस’ मानिन्छ । मेडिकल प्रयोजनको लागि प्रयोग गर्न हानिकारक मानिन्छ ।’

यद्यपि कोरोना महामारीको कारण सिलिन्डरको अभाव भइरहेको बेला त्यसलाई सफा गरेर प्रयोग गर्न सकिन्छ कि भनेर अध्ययन भइरहेको उनले जानकारी दिए ।

हन्ड्रेड ग्रुपको नि:शुल्क भोजन सेवा

हन्ड्रेड ग्रुपको निशुल्क भोजन सेवा समूहले गत वर्ष को लकडाउनदेखि असाहयहरुलाई निरन्तर निशुल्क खाना वितरण गर्दै आइरहेको छ । लामो समय खुला मञ्चमा खाना वितरण गरेको यो समूहले अहिले थापाथलीमा नि:शुल्क खाना वितरण गर्दै आएको छ ।

बानेश्वरस्थित संयोजक यादवको घरमा १० बेडको आईसोलेसन सेन्टर पनि तयार गरेको छ । नि:शुल्क भोजन सेवामा खटिएका स्वयंसेवीलाई संक्रमण भएको अवस्थामा प्राथमिक उपचार सहित बस्न सकिने व्यवस्था गरेको यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment