+
+

पैत्रिक सम्पत्ति हत्याउन दाजुले नागरिकता कीर्ते गरे, न्याय खोज्दै उस्मान

आरपी सुवेदी आरपी सुवेदी
२०७३ चैत १८ गते १६:५४

१८ चैत, नेपालगञ्ज । सम्पत्तिको लागि सहोदर दाजुभाइ नै कतिसम्म वैरी हुन सक्छन् भनेर समाजमा विभिन्न उदाहरण देख्न पाइन्छ । नेपालगञ्जका एक व्यक्ति आफन्तको ठगिनुका साथै राज्यको न्याय प्रक्रियाको अवस्था कति दयनीय छ भन्ने भुक्तभोगी बनेका छन् ।

नेपालगन्ज–१ धम्बोझीका ४४ वर्षीय मोहम्मद उस्मान हल्वाईले पैत्रिक सम्पत्तिमा जालसाझी गरिएको मुद्दाको निवेदन बोकेर कार्यालयहरु धाउन थालेको पाँच वर्षभन्दा बढी भयो । तर, उनले न्याय पाउनु त परको कुरा, सामान्य सुनुवाई पनि हुन सकेको छैन ।

मोहम्मदले आफ्नै दाजु फारुख हल्वाईले आफूलाई पैत्रिक सम्पत्तिबाट वञ्चित गर्ने उद्देश्यले नागरिकता नै कीर्ते गरेको आरोप लगाएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेबाट मिति ०३८ असोज ८ मा फारुक हल्वाईको जन्मसिद्धको आधारमा जारी भएको नागरिकता नम्बर २९१४२ मा बाबुको नाम मोहम्मद सफिक हल्वाई छ । तर, फारुकको नागरिकतामा बाबुको नाम मोहमद सदिक हल्वाई रहेकोले फारुकले आफू विरुद्ध जालसाझी गरी पैत्रिक सम्पत्तिबाट वञ्चित गरेको उनको आरोप छ ।

उस्मानले गुनासो गरे, ‘विगत पाँच वर्षदेखि दाजुको नागरिकतामा सरकारी टापछाप कीर्ते जालसाझी मुद्दा बोकेर विभिन्न कार्यालय धाउँदै हिँडेको छु, तर कतैबाट न्याय पाउन सकिनँ ।’

उस्मानको धम्बोझी चोकदेखि ५ सय मिटर पश्चिममा निकै जीर्ण घर छ । भत्किन लागेको घरको उनले मर्मत समेत गर्न सकेका छैनन् । गरिबीका कारण उनले घरमा बिजुली समेत जोडेका छैनन् । तर, त्यो घरमाथि नै दाजु फारुकले आँखा लगाएको उनले आरोप लगाएका छन् ।

‘पैत्रिक सम्पत्तिको नाममा रहेको यही एउटा घर पनि बेच भन्दै दाजुले धम्क्याउने गरेका छन्’, उनले अनलाइनखबरलाई सुनाए । पूर्व प्रहरी समेत रहेका बलराम नाम गरेका व्यक्तिले दाजु फारुखसँग मिलेर बारम्बार धम्काइरहेको उनको भनाइ छ ।

उस्मानले दाजुले सरकारी कागजात कीर्ते गरेको उजुरी गर्दै ढड्डाको फोटोकपी र आवश्यक प्रमाण सहित ०७० फागुन २९ गते जिल्ला प्रहरीमा निवेदन दिएका थिए । तर, अहिलेसम्म त्यसको सुनुवाई भएको छैन ।

यस प्रकरणमा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थसँग बुझ्न खोज्दा उनले पुरानो मुद्दा भएकोले आफूलाई त्यसबारे जानकारी नभएको बताए । उनले मुद्दाको बारेमा बुझेर कारबाही अगाडि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?