Comments Add Comment

प्रचण्ड पुत्री काठमाडौं मेयरको उम्मेदवार बन्न नपाउने, कसको छ सम्भावना ?


२३ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रमा काठमाडौं महानगरको मेयरको उम्मेदवार खोजी सुरु भएको छ ।

बाहिर हिमाल शर्मा र रेणु दाहालको नाम चर्चामा छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री भएका कारण पनि रेणुको नाम बढी चर्चामा छ । तर, उनी काठमाडौंको मेयरको उम्मेदवार हुन सक्दिनन् किनकी उनको मतदाता नामावलीमा नाम भरतपुरमा छ ।

हिमाल शर्माको नाम पनि छलफलमा नभएको काठमाडौं माओवादीका एक नेताले जनाए ।

माओवादी काठमाडौंको मेयरमा सर्वोत्तम डंगोललाई नै उम्मेदवार बनाउने प्रवल सम्भावना छ । डंगोल आफैं भने त्यति उत्साहित देखिएका छैनन् । ‘मेरो आफ्नो विचार नलड्ने भन्ने छ । तर पार्टीले जिम्मेवारी दियो भने त भाग्दिना’ उनले भने ।

काठमाडौं महानगरमा नेवार समुदायको बाहुल्य भएकाले स्थानीय र त्यही समुदायबाट उम्मेदवार बनाउने प्रमुख दलहरुको तयारी देखिन्छ । माओवादीमा पनि उम्मेदवार छनोट गर्दा स्थानीयलाई प्राथमिकता दिनु पर्ने माग चर्को छ ।

स्थानीय र नेवार समुदायकै भएकाले हितमान शाक्यलाई अघि सार्नु पर्ने तर्क पनि केहीको छ । तर, पार्टीको माथिल्लो नेतृत्वमा पुगिसकेको र प्रदेश इन्चार्ज रहेका शाक्य पनि येमरको उम्मेदवार बन्ने सम्भावना छैन ।

माओवादीमा काठमाडौंको मेयरमा पार्टीभित्रबाट उम्मेदवार नभए स्वतन्त्र वामपन्थीलाई अघि सार्ने विकल्पबारे पनि छलफल चलिरहेको एक नेताले बताए ।

माओवादी काठमाडौंका इन्चार्ज लेखनाथ न्यौपानले मेयरको उम्मेदवार तय भइनसकेको बताए । ‘पार्टीको नीति र कार्यक्रम बोक्न सक्ने र जनतासाग पनि राम्रो सम्वन्ध भएको उम्मेदवारको खोजीमा छौं, उनले अनलाइनखबरसाग भने ।

माओवादीले वडा अध्यक्ष र सदस्यहरुको नाम वडा कमिटीबाट सिफारिस मागेको छ । मेयर र उपमेयरका उम्मेदवारहरुको भने नाम भने नगर कमिटीले सिफारिस गर्नेछ ।

सबै कमिटीलाई सर्वसम्मत वा नभए तीन जनाको नाम माइन्यूटसहित सिफारिस गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment