Comments Add Comment

गच्छदारको रणनीतिः माओवादी र राप्रपालाई जितेर तेस्रो शक्ति !

'चुनाव कसरी जित्ने मलाई थाहा छ, आउने चुनावबाट प्रधानमन्त्री बन्छु'

२३ चैत, काठमाडौं । बुधवारदेखि संसदको पाँचाैं ठूलो दलमा पुनरागमन भएपछि लोकतान्त्रिक फोरमका अध्यक्ष बिजय गच्छदारले आउने चुनावमा तेस्रो पार्टी हुने घोषणा गरेका छन् । उनले आउने मंसिरमा हुने संसदको चुनावमार्फत आफू प्रधानमन्त्री बन्ने समेत घोषणा गरेका छन् ।

जनमुक्ति पार्टी लोकतान्त्रिक र दलित जनजाति पार्टीसँग एकीकरणपछि आयोजित घोषणासभालाई निकै लामो सम्बोधन गर्दै गच्छदारले ठूला पार्टीको तीब्र आलोचना गरे ।

उनले अब वैकल्पिक शक्तिका रुपमा नेपालमा लोकतान्त्रिक फोरम उदाउने दाबीसमेत गर्न भ्याए ।

गच्छदारले भने- कांग्रेस र एमालेलाई पनि जित्ने लक्ष्य राखेर हामी गाउँ पस्नुपर्छ, यसपटक हामी तेस्रो शक्ति हुन सक्छौं । माओवादीले तेस्रो शक्तिको हैसियत कायम राख्न गाह्रो छ । राप्रपा एकीकरणसँगै फुटिसकेको छ, उसै पनि राप्रपा वैकल्पिक लोकतान्त्रिक शक्ति होइन ।

चुनाव कसरी जित्नुपर्छ भन्ने अनुभव र योजना आफूसँग रहेको भन्दै गच्छदारले अब फोरम लोकतान्त्रिक हिमाल, पहाड र तराई सबैतिरको साझा पार्टी भएकाले तेस्रो शक्ति बन्ने आधार रहेको बताए । उनले अरु केही दलसँग पनि चाँडै एकीकरण हुने सुनाए ।

गच्छदारले भने- अहिलेसम्मका सबै प्रधानमन्त्रीहरु असफल भए । ठूला दल असफल भइसकेका छन् । अब नेपाल लोकतान्त्रिक फोरमले सरकारको नेतृत्व गर्ने गरी चुनाव जित्नेछ । तपाईहरुले मलाई प्रधानमन्त्री बनाउने सपना देख्नुभएको छ, भगवानको कृपाले म अझै १०/१५ वर्ष सक्रिय राजनीतिमा हुनेछु । तपाईहरुको सपना र मेहनत सफल हुनेछ ।

पार्टीको नामबाट मधेस हट्यो, पाँचौं शक्तिमा ‘कमब्याक’

एकतापछि नयाँ पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम राखिएको छ र अध्यक्ष गच्छदार नै भएका छन् । गच्छदारले पार्टीको नामबाट मधेसी शब्द पनि हटाएका छन् । तर, निर्वाचन आयोगमा यसअघि नै दर्ता भइसकेकाले चुनावसम्म मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नै रहने भएको छ ।

साथै तीनजना सांसदसहितका दुई पार्टीसँग एकीकरणपछि बिजय गच्छदारको पार्टी फेरि संसदको पाँचौ ठूलो दल बनेको छ । फोरम लोकतान्त्रिकको १४, जनमुक्तिको दुई र दलित जनजातिको एक सांसद गरेर गच्छदारको पार्टीको १७ सांसद हुनेछ ।

यसअघि पाँचौं दल भए पनि संघीय समाजवादी र मधेसी जनअधिकार फोरम एकीकरण भएर १५ सांसद भएपछि गच्छदारको पार्टी छैटौं भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment