+
+

भारतले दुई देशबीचको सम्वन्धमा आघात पुर्‍यायोः चीन

दलाई लामाको अरुणाञ्चल भ्रमणबाट चीन आक्रोशित

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २३ गते १८:३९

२३ चैत, काठमाडौं । तिब्बती धर्मगुरु दलाई लामाको अरुणाञ्चल प्रदेश भ्रमणलाई लिएर चीनले कडा प्रतिक्रिया दिएको छ । भारतले लामालाई भ्रमण अनुमति दिएर दुई देशबीचको सम्वन्धमा गम्भीर आघात पुर्‍याएको उसको भनाई छ ।

‘भारतले भ्रमण अनुमति दिनु हुँदैनथ्यो,’ चिनीया विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनिईङले पत्रकारहरुसँग भनिन् ‘तिब्बती धर्मगुरुलाई भारत-चीन सीमाको विवादित क्षेत्रमा पुर्‍याउनुले दुई देशबीचको सम्बन्धलाई गम्भीर आघात पुग्नेछ ।’

यस विषयमा चीनले भारतसँग कडा आपत्ति जनाएको उनले जानकारी दिइन् । उनले भनिन्, ‘चीनको चिन्तालाई नजरअन्दाज गर्दै भारतले यो भ्रमणको व्यवस्था मिलाएको छ । हामी भारतलाई चेतावनी दिन चाहन्छौं कि भारतले चीनको हितलाई क्षति पुर्‍याउनका लागि दलाई लामालाई प्रयोग गर्न बन्द गरोस ।’

भारतले भने दलाई लामाको भ्रमणलाई धार्मिक यात्रा बताएको छ । गृह राज्यमन्त्री किरण रिजिजुले टि्वट गरेका छन्, ‘भारत एउटा धर्मनिरपेक्ष लोकतान्त्रिक देश हो र यसले धार्मिक नेताहरुलाई रोक लगाउँदैन । म चीनलाई आग्रह गर्छु कि उसले दलाई लामाको अरुणाञ्चल यात्रालाई राजनीतिक रुपमा नबुझोस ।’

अर्को एक टि्वटमा उनले भनेका छन्, ‘अरुणाञ्चल प्रदेश विवादित क्षेत्र होइन । यो प्रदेशका मानिसहरु शान्तिप्रेमी भारतीय हुन् जो मित्रवत सम्बन्ध चाहन्छन् ।’

बुधबार दलाई लामाको अरुणाञ्चल प्रदेशको एक साता लामो यात्रा सुरु भएको छ । पूर्वी हिमालयमा अवस्थित यस क्षेत्रमाथि चीनले ‘दक्षिणी तिब्बत’ का रुपमा आफ्नो दावी गर्दै आएको छ ।

बोमडिलामा पुगेका दलाई लामाले पत्रकारहरुसँग भने, ‘म प्राचीन भारतको विचारको सन्देशवाहक हुँ र जहाँ जान्छु, अहिंसा, धार्मिक शान्ति तथा धर्मनिरपेक्षताको कुरा गर्छु ।’

चीनको आरोपलाई जवाफ दिँदै उनले भने, ‘भारतले कहिले पनि मलाई चीनविरुद्ध प्रयोग गरेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?