+
+
Shares

आजकै दिन पूर्वको रातो तारा यसरी निभ्यो !

ईश्वर पोखरेल ईश्वर पोखरेल
२०७३ चैत २७ गते १२:५५

रत्न बान्तवासँग भेट भएको झन्डै एक महिनापछि पूर्व दक्षिण क्षेत्रका प्रमुख मदन भण्डारीसित केही विषयमा छलफल गर्न विराटनगरतिर जानुपर्ने भयो । ०३५ चैत २५ गते म सिरहा-लहान हुँदै विराटनगर पुगेको थिएँ । जनसङ्घर्षका शृङ्खलाहरूलाई कसरी नयाँ स्तरमा जोड्ने भन्ने विषयमा मदनसँग गम्भीर छलफल भयो ।

हामी त्यसबेलासम्म सशस्त्र संघर्षलाई संघर्षको मुख्य रूप मान्दै जनताका विभिन्न किसिमका सङ्गठन निर्माण गर्ने र तिनलाई कुशलताका साथ परिचालन गर्दै जनपरिचालनलाई कसरी व्यापक विस्तार गर्ने भन्ने योजना बनाउन जुटेका थियौं ।

पुरानो अभ्यासमा रहेका कतिपय सङ्गति नमिलेका कुरालाई हटाउने र परिवर्तित सन्दर्भमा नयाँ अभ्यासलाई विकास गर्नुपर्ने आवश्यकताले हामीलाई घचघच्याइरहेको थियो । हाम्रो त्यो भेटघाटमा कमरेड रत्न पनि आउनुपर्ने थियो । तर, उहाँ ताप्लेजुङतिर जाँदै हुनुहुन्छ भन्ने जानकारी आयो । त्यसैले मदनसितको त्यो मिटिङमा उहाँको उपस्थिति हुन सकेको थिएन । मदन र मैले पछि उपयुक्त समयमा अरू थप केही साथीसहित बसेर विचारहरू थप व्यवस्थित बनाउनुपर्ने निष्कर्ष निकाल्यौं ।

मदनसँगको कुराकानीपछि म आफ्नो कार्यक्रममा फर्किदै थिएँ । होसियारीपूर्वक विराटनगरको बसपार्कमा पुगेर पश्चिम लहानतिर जाने बसको खोजीमा आँखा डुलाउँदै थिएँ । बस देखिरहेको थिइनँ । एक्कासि नजिकैको पत्रिका पसलमा मेरो नजर पर्‍यो । अङ्ग्रेजी दैनिक ‘दी राइजिङ नेपाल’ को अन्तिम पृष्ठमा छापिएको एउटा समाचारमा आँखा पुग्यो । त्यसमा भनिएको थियो- ‘वान र्‍याडिकल किल्ड इन क्ल्यास विथ पोलिस इन इलाम ।’

एउटा सानो कोलममा लेखिएको १० हरफजतिको त्यो समाचार पढेपछि म स्तब्ध बनेँ । वरिपरि आँखा घुमाउँदै पटकपटक त्यो समाचार पढेँ । अनुहार अँध्यारो भएर आयो, आँखा तिरमिराए, ओठ-मुख सुक्यो । एकाएक वाक्य बन्द भए जस्तो भयो । मैले ‘राइजिङ नेपाल’ र ‘गोरखापत्र’ दुवै किनेँ । त्यसपछि लहान जाने बसको खोजी नगरी म जताबाट आएको थिएँ, त्यतै फर्कें । कमरेड सागर अर्थात् मदन भण्डारी बस्नुभएको ठाउँतिर अगाडि बढेँ । मेरो मनस्थिति असन्तुलित थियो । तैपनि पाइलाहरू भने फटाफट अघि बढ्दै थिए ।

मलाई मदन बस्नुभएको कोठामा पुग्न कति समय लाग्यो, त्यसको पनि पत्तो भएन । मदन कोठामै हुनुहुँदो रहेछ । म फुङ्ग उडेको अनुहारमा फर्किएको देख्दा उहाँ अचम्ममा पर्नुभयो । एकछिन त हामी दुवै के बोलूँ-बोलूँ जस्तो स्थितिमा रह्यौं । केही नबोलीकन मैले ‘गोरखापत्र’ मा छापिएको समाचार मदनलाई देखाएँ । उहाँले पनि सर्सर्ती नजर दौडाउनुभयो । पढ्दापढ्दै उहाँको अनुहार अँध्यारो भयो । समाचार पढेपछि उहाँ पनि केही बोलिहाल्ने स्थितिमा हुनुहुन्नथ्यो । त्यो दुःखद समाचारबाट हामी मर्माहत बन्यौं । हामी दुवै जना केही समय मौन रह्यौं ।

केही समयपछि मदनले भन्नुभयो- ‘कमरेड ! तपाईंले आज जनकपुरतिर नगएर ठीकै गर्नुभयो । अब हामीले कमरेड रत्नको हत्यापछि उत्पन्न परिस्थितिबारे गम्भीरतापूर्वक छलफल गर्नुपर्छ ।’

त्यस रात मदनले केही साथीलाई बोलाउनुभयो । हामीले श्रद्धाञ्जलीका लागि सानो भेला गर्‍यौं, । त्यहाँ रत्नको हत्याको सेरोफेरोमा रहेर अबेलासम्म छलफल भयो । अन्य परिस्थितिका बारेमा पनि छलफल भयो । कमरेड रत्नको सम्झना र सम्मानमा हामीले गीत गायौँ । केही साथीले शोकमा आँसु नै बगाउनुभयो । हामीले हत्याको बदला लिने र शोकलाई शक्तिमा बदल्ने अठोट गर्‍यौं ।

रत्नको हत्याबारे त्यसबेलासम्म हामीसित त्यति धेरै सूचना प्राप्त भइसकेको थिएन । अपूरा सूचनाका आधारमै हामी कुराकानी गरिरहेका थियौं । केही दिनपछि हामीले सत्य-तथ्यको जानकारी पायौं ।

काठमाडौंमा अध्ययनरत सुशीला श्रेष्ठ पूर्णकालीन भूमिगत कार्यकर्ताका रूपमा ताप्लेजुङ जान लाग्नुभएको रहेछ । उहाँलाई इलामबाट ताप्लेजुङ पुर्‍याउन पूर्व उत्तरको इन्चार्जका नाताले रत्न स्वयम् त्यता जाँदै गर्नुभएको रहेछ । उहाँहरू तयारीका साथ इलामबाट ताप्लेजुङ जान लाग्नुभएको थियो ।

बिहानै इलामको इभाङ जंगलमा सुराकी र पुलिससित उहाँहरूको मुठभेड भयो । त्यसैबेला पुलिसहरूले रत्नमाथि अन्धाधुन्ध गोली प्रहार गरे । रत्नसँगै आउनुभएका केही साथीहरू यताउता लाग्नुभयो ।

पुलिसहरू रत्नलाई ताकीताकी गोली चलाइरहेका थिए । उहाँ भने प्रतिरोध र मुठभेड गर्दै अगाडि बढ्न चाहिरहनुभएको थियो । तर, रत्नले आफूलाई बचाउन सक्नुभएन ।

इभाङको जंगलमा शत्रुहरूसित अन्तिम समयसम्म लड्नुभएका रत्नले अन्ततः मुठी कस्दै अन्तिम सास लिनुभयो । रत्नको स्वाभिमानी रगतले इलामको इभाङ जंगल र पाखा सिञ्चित भयो । त्यस टोलीमा रहनुभएका सुशीला श्रेष्ठ र अन्य साथीहरू कसरी प्रतिक्रियावादीहरूका आँखा छल्दै उम्कनुभयो, पछि गिरफ्तारीमा परेर तथा चरम यातना सहेर पनि उहाँहरूले कसरी आफ्नो निष्ठामा अडिइरहनुुभयो, तिनका छुट्टै गौरवशाली प्रसङ्गहरू छन् ।

रत्नको हत्या भएको खबरले मेरो मन निकै बेचैन थियो । त्यसपछिका धेरै रात म राम्ररी निदाउन सकिनँ । ०३० असार १५ गतेदेखि सुरु भएको रत्नसितको मेरो मित्रता ०३५ चैत २८ गतेसम्म अविच्छिन्न मात्र होइन, अत्यन्त प्रगाढ र ‘कमरेडली’ सम्बन्धमा विकसित भएको थियो । त्यो सम्बन्ध वैचारिक जगमा झन्-झन् खँदिलो बन्दै गयो ।

रत्नसितको सम्बन्ध देश र जनताको स्वार्थमा समर्पित भइरहने दृढ सङ्कल्पका साथ अगाडि बढिरह्यो । हामीले सपनाहरू सँगसँगै देख्यौं, सपना साकार पार्ने योजनाहरू सँगसँगै बुन्यौं । रत्नसितको सम्बन्ध र सम्पर्क तथा त्यस अवधिका प्रत्येक घटना-प्रसङ्गलाई कैयौं पटक मैले एक-एक गरी सम्झिरहेँ । ती सबै सिनेमाका रिल जसरी मेरो दिमागमा घुमिरहे ।

(एमाले महासचिव ईश्वर पोखरेलको कृति ‘पूर्वको रातो तारा’ पुस्तकको सम्पादित एक अंश । ३९ वर्षअघि आजकै दिन अर्थात् २०३५ चैत २७ गते तत्कालीन नेकपा मालेका नेता रत्न बान्तवाको राज्यले इलामको इभाङ जंगलमा हत्या गरेको थियो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?