+
+

पश्चिम तराईमा चुनावी चटारो : भोट माग्न खेतमै पुग्न थाले कार्यकर्ता

मधेसी महिलाको प्रश्न-बृद्धभत्ता रोक्दा नबोल्ने्,अहिले भाउजु भन्दै आउने ?

 आरपी सुवेदी आरपी सुवेदी
२०७३ चैत ३१ गते १०:४०

३१ चैत, नेपालगन्ज । मधेसी मोर्चाले चुनाव बहिस्कार गर्ने भनिरहेको बेला पश्चिम तराईका मधेसी बस्तीमा भने खेतबारीमा समेत चुनावी माहौल छाइसकेको छ । स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेका ग्रामीण भेगमा एकाएक चुनावी सरगर्मी बढेको छ ।

बाँके जानकी गाउँपालिका-५ गुरुवागाउँकी ५५ वषर्षीया मायादेबी हरिजन खेती स्याहार्ने बेलामा भोटमाग्नेहरु खेतको गह्रामै पुग्ने गरेको बताउँछिन् । उनले भनिन-‘मलाई जिताउनु है भन्दै भोट माग्नेहरु घरमा मात्र नभएर खेतमै पुग्ने गरेका छन् ।’

उनले सबै पार्टीका भोट माग्न आउने गरेको बताईन । जानकी गाउँपालिका- ५ साबिकको बेलहरी गाविसलाई खुला दिसामुक्त घोषणा गर्ने सभामा पुगेकी उनले भनिन्-‘पहिला पनि यो बाटो बनाई दिन्छु भन्दै भोट मागे अहिले पनि त्यही भन्दैछन् ।’

अहिले गाउमा गहुँ, अडहर, चना, मसुरो लगायतको खेती काट्ने, दाउने र भित्र्याउने चटारो छ । उनले अघिपछि कहिल्यै नबोल्नेहरुसमेत चुनावमा मलाई भोट दिनु है भन्दै घरदेखि खेत खलियानसम्म पुग्ने गरेको जानकारी दिईन ।

उनको नजिकै रहेकी भगवती देबी हरिजनले भोट माग्न आउनेलाई ‘तिमिले जितेर के-के योजना बनाएका छौ पहिला भन त्यसपछि तिमिलाई भोट दिनेकी नदिने भनेर बिचार गर्नेछौ भन्ने प्रश्न गर्ने गरेको बताइन ।

काम गर्ने खेतमा र घरमा साँझ बिहान विभिन्न पार्टीका स्थानीय नेता तथा बैशाख ३१ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र रुपले उम्मेदवार बन्नेहरु मत माग्न र मतदातालाई खुसिपार्न जुटेका छन् ।

बेलहरीकी रेखा यादव र सुदीमा जरवटले एकै स्वरमा भने-‘गाविसले घरमा चर्पी नबनाएको भन्दै बृद्ध भत्ता रोकेर राख्दा आर्थिक अवस्था कमजोर छ यीनीहरु सक्दैनन भनेर भनिदिने कोई आएनन् अहिले भने दिनहुँ काकी,भाउजु, दिदी जस्ता नाता लगाएर यो पटक मलाई जिताउन भोट दिनु है भनेर दिनकै आउने गरेका छन् ।’

उनीहरुले आफ्नो पिरमर्क बुझ्ने र गाउँको विकासमा निरन्तर योगदान दिएका व्यक्तिलाई छानेर भोट दिने बताए ।

मधेशी दलित र मुस्लिम बाहुल्यता भएको सो ठाँउमा काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजबादी फोरम, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, सद्भावना, तमलोपा जस्ता पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरु आ-आफ्नो पार्टीको पक्षमा मत माग्ने कार्यमा सक्रिय रहेको उनीहरु बताउँछन् ।

मधेशीदलहरुले चुनावमा भाग लिने नलिने तय नगरे पनि ग्रमीणतहमा रहेका नेता तथा कार्यकर्ताहरु भने आ-आफ्नो प्रचार गर्दै भोटमाग्न थालेको बेलहरीका मिश्रीलाल नाउले बताए ।

उनले भने-‘मधेशी मोर्चाका ठूला नेताले चुनाव हुदैन भन्ने गरेको सुनेको छु तर, यहाँ गाउँमा भने सबै पार्टीका सबैले मत मागिरहेका छन् ।’
उनले गाउँको बिकासको लागि खट्नेलाई नै जनप्रतिनिधि बनाउने गरी मतदानमा सरिक हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?