Comments Add Comment

जनतालाई स्वास्थ्यमन्त्रीको अपीलः नयाँ वर्षसँगै पाँच प्रतिवद्धता जनाउनुस्

३१ चैत, काठमाडौ । नयाँ वर्षसँगै स्वास्थ्य मन्त्रालयले नयाँ अभियान सुरु गर्दैछ । ‘मेरो वर्ष मेरो स्वास्थ्य’ नाम दिइएको यो अभियानमा आम जनतालाई पाँच प्रतिवद्धता जनाउन अपील गरिएको छ ।

‘मेरो वर्ष अभियान ०७४’ को भोलि १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ गर्नेछन् । त्रिपुरेश्वस्थित दशरथ रंगशालाबाट उद्घाटन कार्यक्रम राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसक्रममा रंगशालादेखि वसन्तपुरसम्म पत्रयात्रा पनि गरिनेछ, जसमा विभिन्न विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहने छ । अभियानका क्रममा ०७४ सालको अन्तिम दिन अर्थात चैत मसान्तसम्म विभिन्न कार्यक्रम सञ्चालनमा आउनेछ ।

‘स्वास्थ्य प्रणाली र सेवाको विस्तार गर्नु सरकारको दायित्व हो । तर, व्यक्तिको संलग्नता विना सरकारले मात्र स्वास्थ्य सेवा पुर्‍याउँछु भनेर केही हुँदैन । यसको लागि व्यक्तिको सकि्रय सहभागिता आवश्यक छ’, स्वास्थ्य मन्त्री गगनकुमार थापाले भने, ‘यही सोच अनुसार नै हामीले यो अभियानको थालनी गरेका छौं ।’

मन्त्री थापाले अभियान अन्तर्गत पाँच प्रतिवद्धता जनाउन आमजनतामाझ अपिल समेत गरेका छन् ।

पाँच प्रतिवद्धता यस प्रकार छन्–

  • म रक्सी, चुरोट तथा सुर्तीजन्य पदार्थ खान्न
    म नियमित व्यायाम गर्छु
    म स्वस्थ र पोषिलो खाना खान्छु
    म नियमित स्वास्थ्य परिक्षण गराउँछु
    म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु ।

विशेषगरी बदलिदो जीवनशैली तथा खानपानका कारण नसर्ने रोगको प्रकोप बढिरहेको बेला स्वस्थ जीवनशैली अपनाउनको लागि पनि यो अभियान सुरु गरिएको मन्त्री थापाले जानकारी दिए । नयाँ पुस्तालाई मदिरापान नगर्ने पुस्ताको रुपमा अगाडी ल्याउन तथा खानेलाई कम खान तथा यसका असर बुझ्न आग्रह गरे ।

उनले हामीमाझ खानालाई लिएर भएको बुझाईको कमीका कारण पनि मानिसहरु नसर्ने रोगको चपेटामा परेका छन् । उनले भने, ‘नेपालमा कुल मृत्युको ४४ प्रतिशत कारण नसर्ने रोग देखिएको छ । हरेक वर्ष ८ देखि १० हजारको हाराहारीमा नयाँ क्यान्सरका विरामी थपिँदै गएका छन् ।’

उनले अभियान अन्तर्गत वर्ष भरी गरिने कार्ययोजना पनि सार्वजनिक गरे । यस्तो छ मन्त्री थापाका कार्ययोजनाः

  • सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुको सहकार्यमा स्कि्रनिङ्ग र उपचार प्याकेज उपलब्ध गराउने
    विद्यालयहरुमा प्रारम्भिक परिक्षण र चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने
    आमसञ्चारका माध्यममा आधुनिक सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत जनचेतनामुलक र जानकारीमुलक सामग्री प्रवाह गर्ने
    मोबाइल एप्स मार्फत स्वास्थ्य जानकारी उपलब्ध गराउने

उनले अघि भने, ‘हाम्रो सानो प्रयोसले तथा जीवनशैलीमा गरिएको सानो परिवर्तनले मात्र पनि हामी आफैं पनि यो अवस्थालाई रोक्न तथा घटाउन सक्छौं ।’ यसको लागि सबै नागरिकले आफ्नो तर्फबाट कम्तीमा एउटा मात्र भएपनि प्रतिवद्धता जाहेर गर्न उनले अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment