Comments Add Comment

माओवादी बैठक : मेयरका उम्मेदवार टुंगो लगाउने तयारी

घोषणापत्रमा छात्रालाई आत्मरक्षा तालिम, गाउँमा निःशुल्क वाईफाई

१ बैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनको घोषणापत्र र उम्मेदवारबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको कार्यालय बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा जारी बैठकमा नेताहरुले सातवटै प्रदेशमा पार्टीको स्थितिबारे रिपोर्टिङ गरिराखेका छन् ।

माओवादीका एक नेताले अनलाइनखबरसँग भने, ‘समसामयीक राजनीति र आगामी चुनावमा बैठक केन्दि्रत छ । आज महानगरपालिकाहरुका मेयर पदका उम्मेदवारहरुको टुंगो लगाउने सम्भावना छ ।’

रेणु दाहाललाई चितवनबाट उठाउने चर्चा

माओवादीले रेणु दहाललाई चितवनको मेयर पदको उम्मेदवार बनाउने तयारी गरेको छ । चितवनमा माओवादीका घनश्याम दाहाल ‘अविनाश’, यमबहादुर परियार, इश्वरी भट्टराई र नारायण दाहाल समेत आकांक्षी छन् ।

हालै महानगरपालिका बनेको चितवन प्रचण्डको गृह जिल्लासमेत हो । रेणु माओवादी अध्यक्ष प्रचण्डकी छोरी हुन् ।

दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्रनम्बर १ बाट उम्मेदवार बनेकी रेणु कांग्रेस नेता प्रकाशमान सिंहसँग पराजित भएकी थिइन् ।

घोषणापत्रमा छात्रालाई आत्मरक्षा तालिम, गाउँमा निःशुल्क वाईफाई

माओवादी केन्द्रले स्थानीय तह चुनावको घोषणापत्र तयार पार्ने जिम्मा देव गुरुङ नेतृत्वको समितिलाई दिएको थियो । गुरुङले ‘प्रतिबद्धतापत्र’ नाम दिएर तयार पारेको घोषणापत्रको खाकामा ‘सिंहदरबार केन्दि्रत जनताको अधिकारलाई गाउँ, नगरमा पुर्‍याऊँ, स्थानीय तहको चुनावमा माओवादीलाई जिताऔं’ भन्ने नारा दिइएको छ ।

यसैगरी रोजगारीको सुनिश्चितता, रोजगारको व्यवस्था नहुँदासम्म बेरोजगार भत्ताको व्यवस्था, गाउँ-गाउँमा निःशुल्क वाईफाई, छात्रालाई आत्मरक्षा तालिम लगायतका विषयहरु प्रतिवद्धतापत्रमा उल्लेख छन् । श्रम र भूमि बैंकको व्यवस्थालाई पनि घोषणापत्रमा समेटिएको छ ।

‘जमिनलाई अव्यवस्थित घरघडेरीलगायतका अनुत्पादक क्षेत्रमा प्रयोग गर्न, बाँझो राख्न र खण्डीकरण गर्नलाई नियन्त्रण गरी जमिनलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरिनेछ,’ प्रतिबद्धतापत्रमा भनिएको छ, ‘भूमिलाई उत्पादनमूलक क्षेत्रमा केन्दि्रत गर्न भूमि बैंकको व्यवस्था गरिनेछ ।’

प्रतिवद्धतापत्रमा उल्लेख भएअनुसार माओवादीले शहीद तथा वेपत्ता परिवार र घाइते अपांगहरूको सम्मान, उपचार, शिक्षा, सीप विकास, रोजगार र पुनःस्थापनालगायतका कार्यक्रममा प्राथमिकता दिनेछ ।

माओवादीले घोषणापत्रमा भूकम्प र पुनर्निर्माणको कामलाई तीव्रता दिने पनि उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment