Comments Add Comment

‘पर्पला’ मा प्रेम र यौन मात्रै छैन

उमेर ढल्केका मात्र समाज हुने भए युवाहरु मंगल ग्रहबाट आएका हुन् ?

मैले तीन वर्षको प्रयासमा ‘पर्पला’ उपन्यास तयार पारेको हुँ । ०७० बैशाखमा पहिलो कृतिका रुपमा ‘च्याट गर्ल’ कथासंग्रह निकालेपछि अब उपन्यास लेख्छु भनेर नयाँ किताबमा हात हालेको थिएँ । केही पाना लेख्न पनि थालिसकेको थिएँ ।

तर, बीचैमा एक जना पात्र मेरो सम्पर्कमा आए । उनैले ‘पर्पला’ लेख्न उक्साएपछि लेखिरहेको उपन्यास थाती राखेँ । उनी पर्पलाभित्रको दिव्य भन्ने पात्र हुन् ।

दोस्रो पुस्तकको सकस

पहिलो पुस्तकले एक किसिमको प्रशंसा पाएपछि दोस्रो पुस्तकमा काम गर्दा निकै दबाव महसुस हुँदो रहेछ । ‘च्याट गर्ल’ निकाल्दा थोरै संख्यामा भए पनि गुणात्मक हिसाबले राम्रा प्रतिक्रिया आएका थिए । त्यसो हुनाले यो उपन्यास लेख्न बस्दा लागिरहन्थ्यो, कथासंग्रह मन पराउने पाठकलाई अब यो उपन्यास मन पर्ला कि नपर्ला, मार्मिक लाग्ला कि नलाग्ला ! किनभने दोस्रो पुस्तकमा पाठकको अपेक्षा अझ बढी हुन्छ ।

कथासंग्रहमा मैले त्यस्तो शैली प्रयोग गरेको थिएँ, जुन म आफैंसँग नजिक थियो । अर्थात् कथाहरुभित्र आफैं पनि पात्र भएकाले मनदेखि नजिक भएर लेखेको थिएँ । तर, ‘पर्पला’ लेख्दा मैले अरु पात्रहरुलाई जोड्ने, उनीहरुको मनोभाव महसुस गर्ने र तिनलाई संयोजन गर्नुपर्ने प्राविधिक पाटोहरु थिए ।

त्यस हिसाबले मनभन्दा पनि दिमाग बढी खेलाउनुपर्ने भयो । पात्रको विकासक्रम, चरित्रचित्रण लगायत कुरा पहिले दिमागमा पसाउने अनि मनमा डुबाउने गरियो । अर्को कुरा, अहिले हाम्रो साहित्यमा लेखिँदै गरेका आख्यानको ट्रेन्डभन्दा फरक कुरा लेखूँ भन्ने हरेक लेखकलाई हुन्छ । अहिले नेपालमा हप्ता–महिना दिनमा उपन्यासहरु आइरहेको अवस्था छ । तिनमा शैली, प्रस्तुति लगभग एकै खालको पाइए पनि कतिपयले केही फरक पनि लेखेका छन् ।

यो भीडमा मैले कथा कसरी नयाँ तरिकाले भन्ने भनेर निकै मिहिनेत गर्नुपर्‍यो । पढ्दै जाँदा पाठकलाई आख्यानको रस पनि दिने र समाजलाई गुदी पनि दिने भनेर काम गरेँ ।

यी सबै कुराले दोस्रो पुस्तक लेख्दा चुनौती महसुस हुँदो रहेछ ।

पुस्तक लेख्दाको गाँठो

सिर्जना गर्दा मलाई एकदम सानो विषयले छुन्छ । सानो कुराले छोए पनि एउटा खिरिलो धागोको सहाराले खुला आकाशमा चंगा उडाए झैं कथा बुन्दै जाँदा धेरै कुरा समेटिँदै जान्छ ।

तर, ‘पर्पला’ लेख्ने क्रममा करिब दुई महिना त्यो धागो चुँडिए झैं भयो । चंगा फुत्कियो । मन र दिमाग गाँठो परे ।

मैले उपन्यासको दिव्य भन्ने पात्रलाई सुरुमा अलि नेगेटिभ रुपमा प्रस्तुत गरेको थिएँ । पूरै कथाभरि उसको अराजक अवतार देखाउने भनेर दिमागमा सेट भएको थियो ।

तर, पछि लेख्दै जाँदा एक ठाउँमा मलाई महसुस भयो, यो पात्रलाई यसरी नेगेटिभ मात्र लैजानु हुँदैन । किनभने पात्रहरु आफूसँग हुर्किँदै जाँदा एक खालको प्रेम बस्दो रहेछ । अरु कोणले पनि हेरिँदो रहेछ । ऊ आज भिलेन देखिने जुन ठाउँमा छ, उसलाई कुन परिस्थितिले यहाँ ल्याइपुर्‍यायो भन्ने सोच पनि लेख्दै जाँदा आयो ।

फेरि समाजमा रहेका कोही नेगेटिभ पात्र सधैं नरम्रो मात्र पनि त भइराख्दैनन् । उनीहरु समयसँगै बदलिन्छन् । त्यो यथार्थलाई विचार गर्दा उसलाई न्याय दिनुपर्ने आवश्यकता देखेर सोच्नलाई म दुई महिना रोकिएको थिएँ ।

लेख्दा पात्र र परिवेशलाई न्याय हुन्छ कि हुँदैन भनेर पनि सोच्नुपर्ने हुन्छ । किनकि पात्रहरु समाजमा जुन रुपले प्रवेश गर्छन्, उपन्यास सकिँदा त्यो रुप नहुन पनि सक्छ । त्यसैले आफूले उठाएको विषयवस्तुलाई परिपक्व र विश्वसनीय बनाउन समय पनि दिनुपर्दो रहेछ ।

युवाहरु मंगल ग्रहबाट आएका हुन् ?

मलाई अधिकांशले प्रेमको बारेमा लेख्ने लेखक भनेर बुझ्छन् । ‘च्याट गर्ल’ लाई पनि युवा पुस्ता र प्रेमको विषयमा लेखेको भनेर चर्चा गरियो । पुस्तकको नामले पनि त्यो चर्चालाई ठाउँ दियो होला । तर, ‘च्याट गर्ल’ का अधिकांश कथाहरु प्रेमभन्दा पनि सामाजिक विषयहरुमा केन्द्रित थिए ।

‘पर्पला’ पनि मूलतः प्रेमको बारेमा र युवा पुस्ताकै सेरोफेरोमा लेखिएको छ । तर, यसमा प्रेम मात्र छैन । सबै पात्रहरु आ–आफ्नै सामाजिक अवस्थाबाट गुज्रिएका छन् ।

हामीकहाँ लेखकले सामाजिक मुद्दा उठाउनुपर्छ भनेर दायित्वका कुरा गरिन्छ । प्रेम र युवाका समस्यालाई त्यति महत्व दिइँदैन ।

मिलन संग्रौला

खासमा समाज केलाई भन्ने ? युवाहरु चाहिँ समाजका सदस्य हैनन् त ? प्रतिवर्ष ६ लाख विद्यार्थी स्कूलबाट पास आउट भएर कलेज पढ्न जान्छन् । ती युवालाई सम्बोधन गर्ने चिज पनि त चाहिन्छ । हामीले उनीहरुको कुरा सम्बोधन गरेनौं र सही बाटो देखाएनौं भने त्यो तप्का भड्किने सम्भावना हुन्छ ।

नेपालमा अलिकति उमेर ढल्किएकालाई मात्र समाज मान्ने सोचाइ छ । पाको उमेरको निश्चित घेरालाई मात्र समाज मान्ने सोचका कारण दुःख, गरिबी र राजनीतिका विषय लेख्नु मात्र समाजका कुरा हुने गरेका छन् । त्यसो भए युवाहरु चाहिँ मंगल ग्रहबाट आएका हुन् त ? युवाहरुका भावना र सपनाको कुरा गर्दा चाहिँ समाजका कुरा मानिँदैन । यो तर्कसंगत कुरा होइन ।

मैले ‘पर्पला’ मा युवाको प्रेम र यौनका किस्सा मात्र राखेको छैन । हाम्रो शिक्षा पद्धतिले युवाको मनोभावनालाई सम्बोधन गर्न नसकेको पाटोलाई मूल रुपमा उठाएको छु । उनीहरुको सोचाइ र भावनालाई निर्देश गर्न नसक्नु शिक्षा पद्धतिको कमजोरी नै हो ।

आजको दिनमा हाम्रो समाज सूचना–प्रविधिमा धेरै अगाडि बढिसकेको छ । तर, प्रविधिसँग अपडेट हुन नसकेको शिक्षा प्रणाली भने एकदम परम्परागत छ । युवाहरुले अपनाउने सञ्चारको तौरतरिकाप्रति शिक्षा प्रणाली बेखर झैं छ । युवाहरु जानीनजानी प्रविधिको जालोमा पोखिइरहेका हुन्छन् र प्रेममा परेर स्वच्छन्द यौनको बाटोतिर मोडिइरहेका हुन्छन् ।

यस्तो स्वच्छन्दतामा युवा समाज रमाइरहँदा कसरी अगाडि बढ्ने भनेर हाम्रो शिक्षाले सिकाउँदैन । निकै महत्वपूर्ण मानिने यौन शिक्षा दिँदैन । किनभने सही रुपमा चाहिँदो यौन शिक्षाको अभावले किशोर–किशोरीहरु निकै समस्यामा परिरहेका छन् ।

यथार्थमा हेर्ने हो भने मैले जे भोग्छु, त्यो नै मेरो लागि एउटा समाज हो । अघिल्लो पुस्ताले भोग्ने समाजभन्दा मैले भोग्ने अवस्था फरक भयो । अबको नयाँ पिँढीले भोग्ने कुरा अझै फरक हुन्छ । पहिलेको समाजमा दुःखहरु बढी थिए, समाज विकसित हुँदै जाँदा ती समस्या हटेर गए पनि नयाँ खाले समस्या सिर्जना भइरहेका छन् ।

आजसम्म गरिबी र अभाव र विकट गाउँको कठिन दिनचर्यालाई मात्र दुःख र समस्या मानियो । तर, शहरमा सुविधाजनक जीवनशैली बाँचिरहेका मानिसको पनि समस्या हुन्छ । आधुनिकतासँगै मनोसामाजिक जटिलताहरु भित्रिन्छन् । ती समस्याहरुको सम्बोधन गर्नु नै मेरो लेखनको उद्देश्य हो ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment