+
+

जेद्धावासी नेपालीले मनाए ‘उत्सव नयाँ वर्षको’

नवराज घिसिङ नवराज घिसिङ
२०७४ वैशाख ३ गते ११:०३

१६ अप्रील, साउदी । साउदी अवरवको जेद्धाका प्रवासी नेपाली समुदायले नयाँ वर्षको उत्सव उल्लासपूर्वक मनाएका छन् ।

नेपाली सेवा समाज जेद्धाले नयाँ वर्ष २०७४ को अवसरमा जेद्धाको सरफिया स्थित इम्पालागार्डेन रेष्टुरेन्टको हलमा ‘उत्सव नयाँ वर्षको ‘ कार्यक्रम गरी शुभकामना आदानप्रदान गरेको हो ।

कार्यक्रम नेपाली महावाणिज्य दूतावास जेद्धाका कार्यवाहक महावाणिज्यदूत रेवतीरमण पौडेलको प्रमुख आतिथ्य तथा नेपाली सेवा समाज जेद्धाका अध्यक्ष सादुराम ढकालको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा विशेष अतिथिका रूपमा वाणिज्यदूत मनहरी दंगाल र श्रम सहचारी भोराज घिमिरेका साथै जेद्धामा क्रियाशील विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधिहरु, सामाजिक अभियन्ताहरु र समाजसेवी तथा वुद्धिजीवीहरुको पनि उपस्थिति रहेको थियाे ।

कार्यक्रममा नयाँ वर्षको उत्सव मनाउन जेद्धाका अलावा भौगोलिक दुरीका हिसाबले करिब ६-७ सय किलोमिटर टाडा रहेका खुरमा, ताइफ, जिजान, यान्बू लगायतका क्षेत्रबाटसमेत उल्लेख्य मात्रामा प्रवासी नेपालीहरुको सहभागिता रहेको थिए ।

औपचारिक कार्यक्रमको समापन लगत्तै गैरकानुनीरुपमा रहेका विदेशी कामदारहरुको लागि साउदी सरकारले घोषणा गरेको ९० दिने घरफिर्ती आममाफी कार्यक्रम अन्तर्गत त्यस्ता गैरकानुनी हैसियतमा रहेका नेपालीहरुलाई घर फर्किनको लागि पुरा गर्नुपर्ने प्रक्रिया र अन्य जानकारी समेटिएका सामग्री  प्रस्तुत गरिएकाे थियाे ।

उक्त जानकारीमुलक सामग्री महावाणिज्य दूतावास र सामाजिक संस्थाहरुले संयुक्त रुपमा तयार पारेका थिए भने गैर आवासीय नेपालीसंघ, पश्चिम क्षेत्रीय समिति जेद्धाका सहसचिव राज कुमार गिरीले प्रस्तुत गरेका थिए ।

दोस्रो चरणको सांस्कृतिक कार्यक्रममा भने सबैभन्दा मुख्य आकर्षण नेपाली सेवा समाज समुहको लाइव ब्यान्ड प्रस्तुति रहेको थियो ।

समूहले विभिन्न गीतहरु प्रस्तुत गरेर कार्यक्रमलाई संगितमय वनाएका थिए । विशेष गरेर लाइवप्रस्तुतिमा युवाहरु निक्कै नै झुमेका थिए ।

समूहमा दिनेश क्षेत्री भोकल, बिनोद न्यौपाने गिटार, पूर्ण कार्की गिटार, युदी अरन्तो  (इन्डोनेसिया) बेश गिटार र ड्रममा तशरिक (श्रीलंका) रहेका थिए ।

त्यसैगरी गैरआवासीय नेपाली संघ,साउदी अरबका उपाध्यक्ष ध्रुव रिजालकी छोरी दिया रिजालले ‘माइतीघर माइतीघर’ बोलको गीतमा निक्कैनै उत्कृष्ट नृत्य प्रस्तुत गरेकी थिइन ।

साथै अर्पित मगरले पनि ‘बस है बाबा बस है आमा’ बोलको गीतमा शैनिक भेषमा निक्कै नैमर्मस्पर्शी नृत्य प्रस्तुत गरेका थिए । अन्य कलाकारहरुमा नेत्र गुरुङ, धन गुरुङ, शान्ता तामाङ (मखमली) , शान्ति तामाङ, ठाकुर भुषाल, अनन्त कार्की, विष्णु न्यौपाने, पुजा सरगम, सिमरन मगर लगायतले आ-आफ्नो प्रस्तुती दिएका थिए।

कार्यक्रमको अन्त्यमा विशेष अतिथि श्रम सहचारी भोजराज घिमिरेको संयोजकत्वको मूल्यांकन समितिले कलाकारहरुको प्रस्तुतिलाई मुल्यांकन गरी पहिलो तथा उत्कृष्ट दिया रिजाल र दोस्रोमा अर्पित मगरलाई नगद पुरस्कार सहित विशेष मायाको चिनो र प्रशंसापत्र प्रदान गरिएको थियो भने अन्य सबै कलाकारहरुलाई मायाको चिनो र प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा आयोजकले प्रवासमा रहेर सामाजिक कार्यमा समर्पित भई योगदान पुर्‍याएका  संघ-संस्थाका प्रतिनिधिहरु र सामाजिक अभियन्ताहरुलाई पनि मायाको चिनो र खादा अर्पण गरेर सम्मान गरेका थिए ।

त्यसैगरी नेपाली महावाणिज्य दूतावासको समुदाय र श्रमिक मैत्री तथा रचनात्मक कार्यको सराहना गर्दै कार्यवहाक महावाणिज्यदूत रेवतीरमण पौडेल, वाणिज्यदूत मनहरी दंगाल र श्रम सहचारी भोराज घिमिरेलाई विशेष मायाको चिनो प्रदान गर्नुको साथै ढाकाको खादा अर्पण गरेर सम्मान गरिएको थियो ।

कार्यक्रमका सभापति  समाजका अध्यक्ष सादुराम ढकालले नेपाली सेवा समाज यस क्षेत्रमा स्थापित नेपाली संघ-संस्थाहरुमा सबैभन्दा जेठो संस्था रहेको र स्थापना कालदेखि नै नेपाली समुदायको सामाजिकीकरणको अभियानमा निकै जटिल र चुनौती पूर्ण परिस्थितिको सामना गर्दै यहासम्म आइपुगेको बताए ।

यहाँ पछिल्ला समय क्रियासिल रहेका गैर आवासीय नेपाली संघ, नेपाली यूवा क्लब लगायतका संस्थाहरु नेपाली सेवासमाजकै पहलमा स्थापना भएको र आफूहरुले जेठो हुनुको दायित्व पुरा गरेको कुरा उनले सगौरव चर्चा गरे ।

सुरुका दिनहरुमा यहाँ नेपाली समुदायको सामाजिक गतिविधि शुन्यप्राय रहेकोमा आज आएर यसमा व्यापक हुँदै आइरहेको र हालनेपाली समुदायको फराकिलो दायरा निर्माण गर्नुमा नेपाली सेवा समाजको अग्रणी भूमिका रहेको जिकिर पनि गरे ।

अन्त्यमा उनले कार्यक्रम सफल पार्न हरेक तवरबाट साथ र सहयोग दिएका सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापनभएको घोषणा गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?