+
+

दोलखाको पुननिर्माणमा बालुवा गिटीको हाहाकार

व्यवसायी भन्छन्- क्रसर उद्योग खोल्न देऊ

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ४ गते १०:५७


४ बैशाख, दोलखा । भूकम्पका कारण तहसनहस भएको दोलखा जिल्लामा निर्माण सामाग्रीको हाहाकार भएपछि पुननिर्माणको काम प्रभावित भएको छ । ०७२ वैशाख २९ को शक्तिशाली पराकम्पको केन्द्रबिन्दू बनेको दोलखामा अधिकांश सरकारी र निजी संरचना ध्वस्त भएका छन् ।

पछिल्लो समय पहिलो किस्ता पाएसँगै सर्वसाधारणले आ-आफ्ना घर निर्माण गरिरहेका छन् । तर निर्माण सामाग्री विशेषतः बालुवा गिटी पाउन नसकेपछि पुननिर्माण प्रभावित भएको छ । यदि माग अनुसारको बालुवा गिटी उपलव्ध गराउने हो भने दोलखामा कम्तिमा १० वटा अस्थायी क्रसर उद्योग आवश्यक देखिएको सरकारी रिपोर्टले जनाएको छ ।

प्ाुनर्निर्माणको काम तीब्र स्तरमा अघि बढे पछि ३० प्रतिशत निर्माण सामाग्री पनि जिल्लामा नरहेको व्यवसायीले बताएका छन् । बालुवा-गिटीको अभावमा दोलखाको विकास निर्माण समेत प्रभावित भएको छ ।

नियमित विकास निर्माण र भुकम्पले भत्केका संरचना पुर्ननिर्माणमा बालुवा गिटीको माग अत्याधिक वृद्धि भएपछि विकास निर्माण प्रभावित भएको हो । अधिकांश निजी घरको निर्माण रोकिएको छ भने सरकारी, विद्यालय भवन तथा सडक, पुललगायत आयोजनाको काम समेत सुस्त गतिमा भएका छन् ।

जिल्लामा बालुवा गिटीकै कारण विकास निर्माण प्रभावित हुन थालेपछि जिल्ला विकास समिति र स्थानीय प्रशासनले एक उपसमिति गठन गरी अध्ययन समेत गरेको थियो । जिविस दोलखाका इन्जिनियर नारायण शिवाकोटी नेतृत्वको उपसमितिले गरेको अध्ययनमा मागको ७० प्रतिशत बालुवा गिटी अपुग रहेको प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनमा १ लाख ७२ हजार घनमिटर गिटी बालुवा वाषिर्क रुपमा आवश्यकता रहे तापनि ३० प्रतिशत मात्र उपलब्ध भएको उल्लेख छ । दोलखामा ३ वटा क्रसर सञ्चालनमा छन् । पूर्ण क्षमतामा सञ्चालन हुँदा मात्र मागको ३० प्रतिशत उपलब्ध गराउन सक्ने शिवाकोटीले बताए ।
उनको टोलीको अध्ययन प्रतिवेदन अनुसार बालुवा ७७ हजार घनमिटर र क्रसरबाट उत्पादित गिटी १ लाख ४ हजार घनमिटर आवश्यकता छ । तर आपूर्ती बालुवा ५१ हजार र क्रसरबाट उत्पादित गिटी ४५ हजार ९ सय घनमिटर मात्र छ ।

क्रसर उद्योग चलाउन दिनुपर्ने ब्यवसायीको माग

निर्माण ब्यबसायी संघ दोलखाका अध्यक्ष रामेश्वर उप्रेतिले पुनर्निर्माण अवधिभर अस्थायी रुपमा भएपनि क्रसर उद्योग सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् । अध्यक्ष उप्रेतिले क्रसर उद्योग दर्ता गर्ने प्रक्रिया झन्जटिलो हुने र राज्यले अनुमति नदिने बताउदै विकास निर्माणमा सहजता ल्याउन पुनर्निमाण अबधिभरमात्र सञ्चालन गर्न दिनुपर्ने बताएका छन् ।

उनले क्रसर उद्योग सञ्चालनका लागि राष्ट्रिय महत्वका आयोजनाले मात्र अनुमति पाउने भएकाले अन्य व्यवसायीलाई उद्योग चलाउन समस्या रहेको दाबी गरे ।

अध्ययन प्रतिवेदन अनुसार तत्कालै दोलखामा थप क्रसर उद्योगको आवश्यकता रहेको छ । जिविसका इन्जिनियर शिवाकोटीका अनुसार सबैभन्दा बढी सडक विभाग अन्र्तगतका सडक निर्माणका लागि बालुवा गिटी आवश्यक रहेको छ ।

त्यसपछि जिविस अन्र्तगतका सडक निर्माण र भुकम्पले भत्केका संरचनाको पुर्ननिर्माणका लागि बढी गिटी बालुवाको आवश्यकता छ ।
‘निजी आवास पुर्ननिर्माणका लागि मात्र बाषिर्क ४० हजार घनमिटर बालुवा गिटी आवश्यकता पर्छ’ उनले भने ‘६० हजार घर मध्ये यो वर्ष बालुवा प्रयोग गरेर ७ हजार घर निर्माण होला भन्ने अनुमानका आधारमा प्रतिबेदन तयार गरिएको हो ।’

सडक डिभिजन कार्यालय चरिकोटका सुचना अधिकारी कृष्णकुमार महतोले बालुवा गिटीकै कारण सडक निर्माणको काम प्रभावित भएको बताए । अनलाईन खबर सँग कुरा गर्दै महतोले भने-यहाँको आवश्यकता कम्तिमा १० वटा क्रसर हो, तर ३ वटा मात्र छन् ।

क्रसर उद्योग सञ्चालकले एकैसाथ ठूलो माग भएकाले समस्या भएको बताएका छन् । माग बढे पनि नदी तथा खोलाबाट सहज रूपमा गिटी-बालुवा झिक्न नपाएको उनीहरूको भनाइ छ ।

उत्तरी सिँगटी बजारको क्रसरले माथिल्लो तामाकोसी आयोजना र सो क्षेत्रका बासिन्दालाई बालुवा-गिटी उपलब्ध गराउँदै आएको छ । भिरकोट-९ को तामाकोसी रोडा ढुंगा उद्योग एन्ड सप्लायर्स तथा जफे र भिरकोटको बीचमा रहेको दोलखा एकता रोडा ढुंगा उद्योगबाट जिल्लामा सबैभन्दा धेरै बालुवा-गिटी निर्यात हुने गरेको छ ।

सदरमुकाम चरिकोट, जिरी र खरिढुंगासम्मको क्षेत्र तथा रामेछापसँग सिमाना जोडिएका दक्षिणी गाविसमा तामाकोसीमा स्थापना गरिएका दुईवटा क्रसरबाटै बालुवा र गिटी निर्यात हुन्छ । तर, यी दुवै क्रसर उद्योगमा अहिले दिनहुँ ट्रक र टि्रपरको लामो लाइन लाग्ने गरेको छ ।

थप २ क्रसर उद्योग निर्माण हुँदै

यसियाली विकास बैंकको सहयोगमा कालोपत्रे हुँदै गरेको दोलखा सिंगटी सडकको निर्माण कम्पनि स्वच्छन्द निर्माण सेवा र चाईनिज कम्पनि सी आर फाइभले भिमेश्वर नगरपालिकाको नागदहमा क्रसर उद्योग निर्माण गरिरहेको आयोजनाका साइड इन्चार्ज केशब प्रसाद सुबेदीले जानकारी दिए ।

दोलखाको उपल्लो उत्तरी क्षेत्र जोड्ने सुनखानी साङ्बा सडक निर्माणको जिम्मा पनि सोही कम्पनिले पाएकाले उक्त सडकका लागि थप क्रसर उद्योग आबश्यक रहेकाले खोपाचागुको सोरुङ खोला क्षेत्र अथवा सुनखानीको तल्लो भेगमा अर्को उद्योग सञ्चालन गर्ने तयारी रहेको स्थानिय व्यवसायी वालकृष्ण आचार्यले बताए ।
-रञ्जना न्यौपानेबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?