Comments Add Comment

पोखरामा सुरु भो सेती संरक्षण अभियान


५ वैशाख, पोखरा ।  मंगलबारदेखि पोखरामा ‘सेती नदी संरक्षण अभियान’ शुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिकाको मध्य भाग भएर बग्ने सेती नदी संरक्षणका लागि पोखरा अमरसिंहचोकमा रहेको पोखरा युनाइटेड क्लवको अगुवाईमा अभियान शुरु भएको हो ।

अभियानको मंगलबार एक कार्यक्रमकाबीच पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले उद्घाटन गरे । उनले सेती नदी संरक्षणका लागि खटिने पोखरा फोहर व्यवस्थापन प्रालिका यामबहादुर दमाइलाई सफाई सामग्री हस्तान्तरण गर्दै अभियानको उद्घाटन गरेका हुन् ।

०६७ सालमा स्थापित पोखरा युनाइटेड क्लबले सेती सफा गर्ने जिम्मा पोखरा फोहर व्यवस्थापन प्रालिलाई दिएको हो । प्रालिले मंगलबारदेखि नै सेती सफा गर्न शुरु गरेको छ ।

एक हप्ताभित्रमा सफा गरेर सेतीलाई सुरक्षित र सफा हराभरा बनाइने दमाइले बताए । क्लवले बर्सेनि गर्दै आएको पोखरा महोत्सवको अवसरमा प्रत्येक टिकटमा एक रुपैयाँ सेती संरक्षणका लागि छुट्याउँदै आएको थियो । हालसम्म सेती संरक्षणका लागि चार लाख रुपैयाँ संकलन गरेर सोही रकमले सेती सरसफाइका लागि पोखरा फोहरमैला व्यवस्थापन प्रालिलाई ठेक्कामा काम दिइएको क्लबका संस्थापक अध्यक्ष हिमालय बखे्रलले जानकारी दिए । उनले सेती संरक्षण र सफाइका लागि आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले सेती नदी पोखराको पहिचान मध्येको एक भएकाले यसको संरक्षण र सफाइका लागि सबैजना लाग्नुपर्ने बताए । पोखरा युनाइटेड क्लब र यामबहादुर दमाइ जसरी लाग्नुपर्ने बताए । उनले क्लव र दमाईको अभियानमा पोखरा लेखनाथ महानगरपालिका काँधमा काँध र हातमा हात मिलाएर सहकार्य गर्न तयार रहेको बताए ।

क्लवका अध्यक्ष शुकबहादुर गुरुङले सेती नदी पूर्ण रुपमा सफा नभएसम्म अभियान जारी रहने बताए ।

सेती संरक्षण अभियानका संयोजक लालकाजी गुरुङले सके सफाई अभियानमा सहभागि हुन, नसके फोहर नफालेर सहयोग गर्न आग्रह गरे ।

पोखरा युनाईटेड क्लवले आफ्ना बैशाख ७ गते पर्ने वार्षिकोत्सवको अवसर पारेर साताव्यापी कार्यक्रम अन्तर्गत सेती संरक्षण अभियान शुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment