११ बैशाख, काठमाडौं । लिओनल मेस्सीको ५०० औं गोलको मदतमा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई पराजित गरेको छ र ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको इएल क्लासिको भिडन्तमा बार्सिलोनाले रियल मड्रिडमाथि ३-२ को जित निकालेको हो । जितसँगै बार्सिलोना र रियल मडि्रडको समान अंक भएको छ तर, गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।
घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले २८ औं मिनेटमा कासिमेरोको गोलबाट अग्रता लिएको थियो । तर, धेरैबेर जोगाउन सकेन ।
३३ औं मिनेटमा मेस्सीले बराबरी गोल गरे । पहिलो हाफ १-१ को बराबरीमा सकियो ।
खेलको ७३ औं मिनेटमा राकिटिकले गोल गरेपछि बार्सिलोनाले २-१ को अग्रता लियो । चार मिनेटपछि नै रियल मड्रिडले अर्को झड्का व्यहोर्यो । उसका कप्तान सर्जिओ रामोसले रातो कार्ड पाए र टिम १० खेलाडीमा सिमित भयो ।
८५ औं मिनेटमा सब्सिच्युट खेलाडी जेम्स रोड्रिग्बेजले गोल गरेपछि खेल बराबरीतर्फ उन्मुख भएको थियो । तर, खेल सकिन मात्र १२ सेकेण्ड बाँकी रहँदा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ३-२ ले विजयी भएको छ ।
क्लबका लागि उनको यो ५०० औं गोल समेत हो ।
उपाधि अझै रियल मड्रिडको हातमा
रियल मड्रिडले पछिल्लो तीन सिजनमा च्याम्पियन्स लिगको दुई उपाधि जित्यो । यो सिजन पनि सेमिफाइनलमा पुगेको छ तर, घरेलु लिग २०१२ पछि जित्न सकेको छैन । बार्सिलोनाले तीन र एथ्लेटिको मडि्रडले एक पटक ला लिगा जितेको छ ।
यो सिजन भने रियल मड्रिडले सुरुदेखि नै ला लिगामा उत्कृष्ट प्रदर्शन गर्दै आएको थियो ।
तर, बार्सिलोनाको हारपछि ला लिगाको उपाधि होड त खुला भएको छ तर, अझै खेल रियल मड्रिडकै हातमा छ ।
आइतबारको खेलपछि बार्सिलोना ३३ खेलबाट ७५ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको रियल मड्रिडको पनि समान अंक छ तर, एक खेल कम खेलेको छ ।
यदि रियल मडि्रडले बाँकी सबै खेल जित्ने हो भने उपाधि जित्नेछ । तर, हारले भने बार्सिलोनालाई फाइदा हुनसक्छ ।
प्रतिक्रिया 4