+
+

राप-तापः दयाहाङ अर्को राजेश हमाल बन्ने खतरा छ

'हनुमानजी' को नजरमा दयाहाङ राई

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १४ गते १४:०५


आजका चल्तापुर्जा नायक दयाहाङ राई र कलाकार/निर्माता रविन्द्रसिंह बानियाँको दोस्ती निकै अगाडिदेखिको हो, जतिबेला उनीहरु रंगमञ्चमा काम गर्थे । एक समय गुरुकुल नाटकघरको डाँडा वा कुनै चिया पसलमा गफिँदा भविष्यमा के गर्ने भनेर निधार खुम्च्याउने उनीहरु आज नेपाली चलचित्र क्षेत्रमा स्थापित नाम बनेका छन् ।

रंगकर्मको सिलसिलामा ०५९ सालदेखि सरसंगत बढेपछि यी दुईले नाटकको ब्याक स्टेजमा बाक्लै सहकार्य गरे । तर, नाटकमा सँगै भने देखिने मौका जुरेन । लामो समयपछि यी दुईले गत वर्ष दीपक रौनियार निर्देशित ‘सेतो सूर्य’ मा दाजु-भाइको भूमिकामा अभिनय गरे । वास्तविक जीवनमा पनि यी दुईको सम्बन्ध दाजु-भाइभन्दा कमको छैन ।

अनलाइनखबरको ‘राप-ताप’ स्तम्भमा ‘पशुपतिप्रसाद’ फिल्मका ‘हनुमानजी ‘उर्फ रविन्द्रसिंह बानियाँले दयाहाङको अन्तरकुन्तर खोतल्दै गुण र दोष केलाएका छन् । पढौं हनुमानजीकै शब्दमाः

व्यक्तिको रुपमा दयाहाङ

एकदम असल मान्छे हो दया । कोही पनि व्यक्ति लोकपि्रय हुनुमा धेरै हदसम्म उसको व्यक्तित्वले निर्धारण गर्छ । खतरा काम गर्ने भएर मात्र हुँदैन, ऊ कति असल छ भन्ने कुराको पनि अर्थ हुन्छ । दयाहाङमा कुनै अहम् छैन । सबैसँग मिल्न सक्ने गुणले नै ऊ धेरै ठाउँमा प्यारो भएको हो ।

मैले निर्माण गरेको फिल्म ‘टलकजंग भर्सेस टुल्के’ मा साम्तेन लामा डनको रोल गर्न सुरुमा विपिन कार्कीलाई भनेका थियौं । तर, विपिन अर्कै प्रोजेक्टमा व्यस्त भएपछि अप्ठेरो स्थिति आइपर्‍यो । त्यस्तो बेला दयाले त्यो भूमिकामा म गर्दिन्छु नि त भनेर सहयोग गरेको थियो । मान्छेलाई उसले सजिलो बनाइदिन्छ । साथीहरुलाई हर तरहले सघाउन खोज्छ । आफ्नो सकारात्मक पक्षकै बलमा ऊ यहाँसम्म आइपुगेको हो । खतरा भएर मात्र नभई असल भएकैले मान्छेहरुले उसलाई विश्वास गरेका हुन् ।

उसलाई म बाहुन भन्छु । राई भईकन पनि ऊ एकदम बाठो छ । बाठो भन्नाले कसैको बिगार गरेर फाइदा लिने भन्नै हैन । कसैको हानि नगरी र नियत खराब नराखी को सँग कसरी प्रस्तुत हुँदा राम्रो हुन्छ भनेर उसलाई राम्ररी थाहा छ । उसले ‘मण्डला थिएटर’ सञ्चालन गरेको देखेको छु मैले । संस्थागत स्वार्थको लागि पनि त्यो बठ्याइँलाई प्रयोग गरिरहेको हुन्छ । हामीले हेर्दा कतिपय ठाउँमा दयाले यो काम चाहिँ नगरिदिए हुन्थ्यो भन्ने लागिरहेको हुन्छ, तर त्यो काम गर्दा उसले दीर्घकालीन रुपमा हेरेको हुन्छ ।

कलाकारको रुपमा

कलाकारको रुपमा दयाहाङ राई ‘इफोर्टलेस एक्टिङ’ गर्छ, त्यही नै उसको मुख्य विशेषता हो । ‘इफोर्टलेस एक्टिङ’ भन्नाले एक्टिङ गरे झैं नगरी ऊ एकदम सहज रुपमा आफ्नो काम देखाउँछ । बनिबनाउ रुपमा प्रस्तुत नभई स्वाभाविक अभिनय गर्ने उसको खुबीले नै दर्शकलाई तानेको हो ।

फिल्ममा आफूले खेल्ने र अरुहरुको क्यारेक्टरमा पनि ऊ यस्तो गर्दा राम्रो होला कि, यसो गरौं भनेर इनपुट दिइरहेको हुन्छ । उसले कहाँ-कहाँ देखेका र सुनेका क्यारेक्टरहरु ल्याएर भूमिकालाई सबल बनाउन खोज्छ ।

दयाहाङको कमजोरी

दयाहाङ पछिल्लो समय चुनौतीको धारमा छ । वर्षमा उसले ७-८ सम्म फिल्ममा काम गरिरहेको छ । त्यसबाट उसको काम नोटिस हुन गाह्रो भइसक्यो । हरेक फिल्ममा ऊ एकै शैलीमा देखिँदा दर्शकलाई मोनोटोनस होला भन्ने अवस्था आइसक्यो । मैले उसलाई भनिरहेको हुन्छु, लौ न अब त अलिक फरक गर्नुपर्‍यो, धेरै फिल्म गर्नुभएन, सेलेक्टिभ भएर काम गर्नुपर्‍यो भनेर ।

ऊ आजको दिनमा अर्को राजेश हमाल बन्ला भन्ने अवस्था छ । हमालले खेलेका हरेक फिल्ममा क्यारेक्टरभन्दा स्टार हावी देखिन्थ्यो । बिलकुल दयाको पनि त्यस्तै अवस्था छ । कलाकारको अनुहार आफ्नो परिचय हुने भए पनि दयाको हकमा अनुहार नै कमजोरी बनेको छ । आर्य लुक्स भएको भए अरु विविध क्यारेक्टरमा ढाल्न सजिलो हुन्थ्यो । तर, अनुहारको बनावटले ऊ हरेक फिल्ममा दयाकै छविमा उभिएको देखिन्छ । अहिलेसम्म उसलाई स्वाभाविक र जीवन्त अभिनयले नै धानिरहेको छ ।

सुधार्नुपर्ने कुरा

सरसंगत गर्दा दयाको त्यस्तो सुधार्नैपर्ने कुनै अवगुण देख्नु र भोग्नुपरेको छैन । बरु करिअरको हिसाबमा थोरै गर, राम्रो गर भन्ने सुझाव दिइरहेको हुन्छु । कतिवटा फिल्म गर्ने भनेर उसको स्वतन्त्रता र इच्छाको कुरा होला । तर, अब चाहिँ केही फरक गरे हुन्थ्यो भन्ने हामी सबैले महसुस गरेका छौं ।

उसले लगातार गर्दै आएका फिल्महरु हेर्दा भर्सटायलिटी देखिँदैन, त्यसमा उसले ध्यान दिनुपर्छ । एकै खालका फिल्महरु गरेको गर्‍यै गर्दा जोखिम आउन सक्छ । तर, मान्छेले काम गर्दा गाँस, बास, कपाससँगै आफ्नो सपनाको पनि कुरा आउँछ । दयाका पनि केही सपना छन् । ती सपना पूरा गर्न उसले आर्थिक उपार्जनको स्रोत फिल्मको अभिनयलाई नै बनाएको छ ।

रंगमञ्च र कलाका अन्य गतिविधि एकै थलोमा गर्न सकिने एउटा आर्ट मल बनाउने उसको सपना छ । त्यही सपना पूरा गर्न उसले जस्तोसुकै फिल्ममा काम गरेर आफ्नो करिअर दाउमा राखिरहेको स्थिति छ । कतिपय मान्छे सबै कुरा भएर पनि सपना देख्न सक्दैनन् । उसले भने कठिन संघर्षबाट आजको दिनमा आउँदै कलाकारितामा सपना देखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?