१८ बैशाख, काठमाडौं । मधेसी मोर्चामा आवद्ध ६ दलद्वारा गठित राष्ट्रिय जनता पार्टी नेपालले बैशाख ३१ को निर्वाचन प्रक्रियामा भाग नलिने भएको छ । उसले भोलि हुने उम्मेदवारी दर्ता प्रक्रियामा आफ्नो सहभागिता नरहने बताएको छ ।
राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले अनलाइनखबरसँग भने, ‘संविधान संशोधन नभई चुनावमा सहभागी हुन्नौं भनिसकेको छौं ।’
नेता लक्ष्मणलाल कर्णले पहिलो चरणको चुनावका लागि आफूहरुको तयारी नरहेको बताए ।
दलीय हैसियतमा चुनावमा सहभागी नभएपनि आफूहरुको कुनै अवरोध नहुने राजपा नेपालका नेताहरुले बताएका छन् । स्रोतका अनुसार कतिपय ठाउँमा उसका नेताहरू स्वतन्त्र उम्मेदवार बन्न सक्नेछन् ।
संघीय फोरमले भने उम्मेदवारी दिने
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले उम्मेदवारी दर्ता गर्ने बताएको छ । आफ्नो पार्टीले भोलि उम्मेदवारी दर्ता प्रक्रियामा सहभागिता जनाउने फोरम अध्यक्ष उपेन्द्र यादवलाई अनलाइनखबरलाई बताए ।
सोमबार साँझ प्रधानमन्त्रीसँग एको भेटमा पनि फोरमका नेताहरुले आफूहरुले उम्मेदवारी दिने बताएका छन् । सहअध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार सरकारले संविधान संशोधन प्रक्रिया अघि बढाइएकोमा आफूहरु सन्तुष्ट रहेको भन्दै चुनावमा भाग लिन आफूहरु तयार रहेको जानकारी दिइएको छ ।
बैशाख ३१ गते हुने स्थानीय तह चुनावका लागि भोलि विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
संघीय फोरमले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग चुनावी तालमेलको सहमति गरिसकेको छ र दुबै पार्टीले साझा चुनाव चिन्ह ‘मसाल’बाट लड्दैछन् ।
प्रतिक्रिया 4