Comments Add Comment

पोखरा महानगरमा उपेन्द्र यादवको फोरमदेखि पत्रकारसम्म !

यस्ता छन् देशकै ठूलो महानगरका मेयर उम्मेदवार

१९ बैशाख, पोखरा । पहिलो चरणको स्थानीय निर्वाचनका लागि मंगलबार पोखरामा पनि उत्साहपूर्वक विभिन्न दलहरुले उम्मेद्वारी दर्ता गरे । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले पनि मेयरमा उम्मेदवारी दिएर स्थानीय चुनावमा सहभागिता जनाएको छ ।

महानगरमा शान्तिपूर्ण ढंगबाट उम्मेदवारी मनोनयन सम्पन्न भएको छ । दलका नेताहरुमा देखिएको उत्साहलाई हेर्दा अब चुनावको रौनक सुरु भएको सहजै अनुमान लगाउन सकिन्छ ।
यो महानगरमा कांग्रेस र एमालेवीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ भने माओवादी, राप्रपा र संघीय समाजवादी एवं नयाँशक्तिले ठूला दलको हारजितलाई प्रभाव पार्न सक्ने देखिएको छ ।
मुख्य दलबाट पोखरा-लेखनाथ महानगरको मेयरका उम्मेदवारहरु यस्ता छन्-

रामजी कुँवर- नेपाली कांग्रेस

कांग्रेसका मेयर उम्मेदवार रामजी कुँवर

भौगोलिक हिसाबले देशकै सबैभन्दा ठूलो महानगरपालिका पोखरा लेखनाथमा कांग्रेसका मेयर उम्मेदवार रामजी कुँवर पूर्व महासमिति सदस्य हुन् । पार्टीको १० औं देखि १३ महाधिवेशनसम्म उनी महासमिति सदस्य थिए । उनी हाल नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय वरिष्ठ उपाध्यक्ष छन् ।

०३६ सालबाट कांग्रेसको ट्रेड युनियनमा आबद्ध कुँवर ०४७ देखि पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । ६१ वर्षीय कुँवर कांग्रेसको पूर्व आमन्त्रित केन्द्रीय सदस्य समेत हुन् । उनी पोखराको मालेपाटनका बासिन्दा हुन् ।

मानबहादुर जीसी- नेकपा एमाले

एमालेका मेयर उम्मेदवार मानबहादुर जिसी पार्टीमा वैकल्पिक केन्द्रीय सदस्य तथा कास्की इञ्चार्ज छन् । ०१७ साल जन्मिएका उनी विद्यार्थी राजनीतिबाट उदाएका हुन् ।

एमालेका मेयर उम्मेदवार मानबहादुर जिसी

०३७ सालमा अखिलको प्रारम्भिक कमिटी अध्यक्ष रहेका जीसी ०३९ सालमा जिल्ला कमिटी उपाध्यक्ष बनेका थिए । ०४१ सालमा पार्टी सदस्यता लिएका उनी तत्कालीन कालिका गाविसका गाउँ र इलाका कमिटी सचिव हुँदै ०५० सालमा जिल्ला कमिटी सदस्य बने । एमालेको कास्की क्षेत्र नम्बर १ का अध्यक्ष बनेका उनी ०६६ मा एमाले कास्कीको सचिवमा उक्लिए ।

जीसी संविधानसभाको दोस्रो निर्वाचनमा कास्की १ बाट एमालेका उम्मेदवार भएका थिए । तर, त्यसबेला उनी कांग्रेसका यज्ञबहादुर थापासँग करिब डेढ सय मतले पराजित भएका थिए । तत्कालीन कालिका गाविस र हाल पोखरा-लेखनाथ महानगरपालिकाको वडा नम्बर २५ मा उनको घर छ ।

विश्वप्रकाश लामिछाने- माओवादी केन्द्र

माओवादी केन्द्रले अन्तिम समयमा नाम टुंगो लगाएको छ । उसले मेयरको उम्मेदवार विश्वप्रकाश लामिछानेलाई बनाएको छ । उनी पार्टीका केन्द्रीय कार्यालय सदस्य हुन् । ०२२ सालमा जन्मिएका लामिछानेले विद्यार्थी राजनीतिबाटै पार्टीको मूलधारमा फड्को मारेका हुन् ।

माओवादी केन्द्रका मेयरका उम्मेदवार विश्वप्रकाश लामिछाने

०३७ सालमा अनेरास्ववियु छैटौंको जिल्ला सदस्य रहेका लामिछानेले ०४० सालमा तत्कालीन मसालको सदस्यता लिएका थिए । ०४२ सालमा मसाल निकट अनेरास्वयुको कास्की अध्यक्ष बनेका उनले सोही पार्टी निकट अखिल नेपाल युवक संगठन, जनवादी युवा लिगमा रहेर पनि काम गरे ।

तत्कालीन नेकपा माओवादीको संगठन विस्तारमा लाग्ने क्रममा ०५८ साल मंसिरमा उनी पक्राउ परेका थिए । त्यसपछिको जीवनलाई नाफा मान्दै उनी सामाजिक जीवनमा क्रियाशील हुँदै आएका छन् ।

केही वर्षअघि फेवाताल संरक्षण समितिको संयोजक रहेका उनी पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष समेत हुन् ।

बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उनी नगर विकास समितिका अध्यक्ष बनेका थिए ।

माओवादी केन्द्रको उपमेयरकी उम्मेदवार गोमा ढकाल

हुमबहादुर गुरुङ- फोरम/नयाँशक्ति

संघीय समाजवादी फोरम र नयाँ शक्तिको तालमेलबाट मेयरको उम्मेदवार बनेका हुमबहादुर गुरुङ पार्टीमा तमुवान संयुक्त संघर्ष समितिका संयोजक छन् । उनी संघीय समाजवादीका प्रचार विभाग केन्द्रीय सदस्य समेत हुन् ।

०२५ सालमा जन्मिएका उनले ०४२ सालमा तत्कालीन मालेको स्कूल कमिटीबाट राजनीतिक यात्रा सुरु गरेका थिए । पोखराको पृथ्वीनारायण क्याम्पसमा विद्यार्थी राजनीति गर्दै एमाले अखिलबाट ०५१ देखि ५५ सम्म क्रमशः स्ववियुको सहसचिव र सचिव भएका थिए ।

संघीय समाजवादी फोरम र नयाँ शक्तिका साझा उम्मेदवार हुमबहादुर गुरुङ र उपमेयर लक्ष्मी खाती

त्यसपछि अखिलको केन्द्रीय सदस्य हुँदै सचिवालय सदस्य बन्न सफल उनी एमाले छाडेर अशोक राईको संघीय समाजवादीमा गएका थिए । हाल सो पार्टीको अध्यक्षमा उपेन्द्र यादव छन् ।

राजनीतिका साथै पत्रकारितामा समेत संलग्न गुरुङ रेडियो अन्नपूर्णका वरिष्ठ संवाददाता छन् । कास्की आवाज दैनिकका प्रधान सम्पादक उनी तमुधीँ नेपालका राष्ट्रिय उपाध्यक्ष समेत हुन् ।

राप्रपाका मेयर गीता गुरुङ र उपमेयर रमेशबहादुर खत्री

तस्वीर: उमेश पुन/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment