+
+

कमल थापाको गृहनगर हेटौंडामा कसले गर्ला राज ?

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २० गते ९:३५


२० बैशाख, हेटौडा । देशको मध्य भागमा रहेको मकवानपुर क्षेत्रमा चुनावी गर्मी बढेको छ । नेपाली राजनीतिका चतुर खेलाडी मानिने राप्रपा अध्यक्ष कमल थापाको गृहजिल्लामा ठूला दलहरुको रस्साकस्सी पनि आफ्नै ठाउँमा छ ।

पहिलो चरणको निर्वाचनमा एकमात्र उपमहानगर रहेको हेटौंडाको चुनावी चहलपहल सबैको चासोको विषय बनेको छ । हरित नगरको परिचय बनाएको हेटौंडा उपमहानगरमा यसपालि जितको झण्डा कसले फहराउला त ? मेयर र उपमेयरका उम्मेदवारलाई नजिकबाट चिनौंः

आनन्दराम पराजुली – नेपाली कांग्रेस

हेटौंडा उपमहानगरमा कांग्रेसको मेयर उम्मेदवार आनन्दराम पराजुली हाल कांग्रेस नगर समितिका सभापति हुन् । उनी पार्टीका पूर्व जिल्ला सचिव समेत हुन् ।

०२७ सालमा जन्मिएका पराजुलीले कांग्रेसको विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका हुन् । उनी तरुण दलका पूर्व अध्यक्ष समेत हुन् । मकवानपुरमा कांग्रेस कमजोर रहेको अवस्थामा पछिल्लो समय युवाको संगठन बढाउने श्रेय उनलाई दिइन्छ । निर्माण व्यवसायी समेत रहेका पराजुली हाल निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष छन् । उनको हेटौंडा २ मा स्थायी निवास छ ।

यस्तै, उपमेयरकी उम्मेदवार बनेकी लक्ष्मी श्रेष्ठ नेपाल महिला संघकी जिल्ला सभापति हुन् ।

हरिबहादुर महत – नेकपा एमाले


नेकपा एमालेबाट मेयरका उम्मेदवार रहेका हरिबहादुर महत पार्टीका सचिवालय सदस्य हुन् । उनी हेटौंडा ५ को दुई कार्यकाल वडा अध्यक्ष भइसकेका व्यक्ति हुन् ।

०४० सालबाट राजनीतिक जीवन सुरु गरेका महत ५८ वर्षका भए । यसअघिको स्थानीय निर्वाचनमा उनले दुई पटक नगर सञ्चालनको अनुभव लिइसकेका छन् । ०४८ र ०५४ को स्थानीय निकाय निर्वाचनमा उनी उपमेयर भएका थिए । जिल्लाको खेलकुद क्षेत्रमा बढी सक्रिय उनी युवाबीच लोकपि्रय अनुहार हुन् । उनी जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्षसमेत हुन् ।

हरिबहादुरका भाइ पनि मेयरका प्रत्यासी भएकाले यसपालि दाजु-भाइबीच पनि टक्कर हुने देखिएको छ । उनका भाइ भीमसेन महतले नेकपा मालेको तर्फबाट उम्मेदवारी दिएका छन् । भाइ महत पछिल्लो समय हेटौंडामा भ्रष्टाचार विरोधी आन्दोलन र सुरुङ मार्गबारे टिप्पणी गरेर चर्चामा छन् ।

एमालेबाट उपमेयरकी उम्मेदवार रहेकी मीना लामा एमालेकी जिल्ला उपसचिव हुन् ।

कुमारी मोक्तान – माओवादी केन्द्र

माओवादी केन्द्रकी मेयर उम्मेदवार कुमारी मोक्तान पार्टीमा पोलिटब्युरो सदस्य छिन् ।

४० वर्षीया मोक्तान पहिलो संविधानसभा निर्वाचनमा माओवादीको तर्फबाट सभासद भएकी थिइन् । उनी मकवानपुरको क्षेत्र नम्बर ४ बाट निर्वाचित भएकी थिइन् । पहिले मोहन वैद्य समूहमा रहेकी उनी संस्थापनमा आएकी हुन् ।

उपमेयरमा उम्मेदवारी दिने कमला पौडेल पार्टीकी जिल्ला सदस्य हुन् ।

मधु अधिकारी – राष्ट्रिय प्रजातन्त्र पार्टी


राप्रपाबाट मेयरका उम्मेदवार बनेका मधु अधिकारी शाही कालमा हेटौंडाका मेयर भएका व्यक्ति हुन् ।

५१ वर्षीय अधिकारी पार्टी एकता अघि अधिकारी राप्रपा नेपालमा थिए । पार्टीका पूर्व केन्द्रीय सदस्य रहेका उनले यस पटक भने केन्द्रीय सदस्यमा हार्न पुगे । उनी राप्रपामा निरन्तर सक्रिय रहँदै आएका छन् ।

राप्रपाले इन्दिरा न्यौपानेलाई उपमेयरको उम्मेदवार बनाएको छ । उनी राप्रपा जिल्ला सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?