Comments Add Comment

परराष्ट्रमन्त्री डा.महत र सिंगापुरका विदेशमन्त्रीबीच भेटवार्ता

लगानी प्रबर्धन गर्न द्धिपक्षीय सहमति

४ मे सिंगापूर । परराष्ट्रमन्त्री डा.प्रकाश शरण महत र सिंगापुरका विदेश एवम् मानव संशाधन विकास मन्त्री जोसेफिन तेओबीच विहीबार सिंगापुरमा द्विपक्षीय भेटवार्ता भएको छ ।

भेटका क्रममा सिंगापुर र नेपालको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ । दुई देशबीचको कूटनीतिक सम्बन्ध विस्तार तथा लगानी प्रवर्धनका लागि द्विपक्षीय संयुक्त परामर्श संयन्त्र स्थापना गर्ने विषयमा सहमति भएको छ ।

नेपालमा लगानीका लागि मन्त्री डा.महतले सिंगापुरका विदेशमन्त्रीसँग आग्रह गरे । त्यस क्रममा नेपालमा सिंगापरले गर्ने लगानीका सम्भावनाहरु खोज्ने विषयमा सिंगापुर र नेपालका लगानी बोर्डको संयुक्त परामर्श बैठक गर्ने विषयमा सहमति भएको थियो ।

परराष्ट्र मन्त्री डा.महतले लामो समयको राजनीतिक सङ्क्रमणको समाप्तिसँगै नेपाल शान्ति, स्थिरता र विकासको मार्गमा अघि बढेकोले नेपालमा लगानीको वातावरण निर्माण भएको भन्दै लगानीका लागि आग्रह गरे ।

उनले नेपालमा गएको विनाशकारी भूकम्प पश्चातको उद्धार, राहत र पुनर्निर्माणमा सिंगापुरबाट प्राप्त सहयोगका लागि सिंगापुर सरकार र त्यहाँका जनतालाई आभार व्यक्त गरे ।

परराष्ट्र मन्त्री डा.महतले नेपालको आर्थिक विकासमा सिंगापुरको सहयोगका संभावनाहरु औंल्याउँदै नेपालमा विषेशगरी जलश्रोत, पूर्वाधार विकास, पर्यटन तथा सूचना प्रविधीको क्षेत्रमा लगानी बढाउन अनुरोध गरे ।

मन्त्री डा.महतले सिंगापुरमा अध्ययन गर्न चाहने नेपाली बिद्यार्थीहरुलाई भिसा लगायतका व्यवस्थाहरुमा थप सहजीकरणका लागि अनुरोध गरेका छन् । सिंगापुरका विदेशमन्त्री तेओले यी विषयहरुलाई सकारात्मक रुपमा लिएको बताइएको छ ।

यसैबी विहीबार विहानै मन्त्री डा.महतले सिंगापुरस्थित गोर्खा कन्टिन्जेन्टको भ्रमण गरी उक्त कन्टिन्जेन्ट तथा त्यहाँ कार्यरत नेपालीहरुको बारेमा जानकारी लिएका थिए ।

यस क्रममा परराष्ट्र मन्त्रीका साथ सिंगापुरका लागि नेपाली राजदूत डा.खगनाथ अधिकारी तथा परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाप्रसाद भण्डारीको पनि उपस्थिती रहेको मन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए ।

मन्त्री डा.महतले विहीबार साँझ नेपाली राजदूताबास, बैंकक तथा सिंगापुरस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासद्वारा संयुक्त रुपमा आयोजना गरिएको नेपालमा व्यापार, पर्यटन तथा लगानी प्रबर्धन बिषयक सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment