+
+

चमेलियाको बाँध परीक्षण सुरु, सहायक सुरुङ बन्द गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २५ गते १५:०५

२५ वैशाख, काठमाडौं । दार्चुलामा निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाले आइतबारदेखि बाँधको संरचना परीक्षणको काम सुरु गरेको छ । यस परिक्षणमा बाँधमा चुहावट छ वा छैन र निर्माण कस्तो छ भनेर हेरिन्छ ।

परिक्षणका लागि अहिले कृत्रिम जलाशयमा पानी भर्ने काम भइरहेको छ । साथै लागि इन्टेक र डाइभर्सन संरचना पनि बन्द गरिएको छ ।

बाँध परिक्षण भएपछि सुरुङको परीक्षण गर्न मिल्छ । चमेलिया जलविद्युत आयोजनाका प्रमुख अजय दाहालका अनुसार अहिले आयोजनाले सहायक सुरुङ बन्द गर्ने काम अघि बढाएको छ । मूख्य सुरुङ खन्नका लागि प्रयोग भएका यस्ता सहायक सुरुङ ३ वटा खनिएका थिए ।

पहिलो सुरुङ बन्द गर्ने काम अन्तिम चरणमा पुगेको छ । यसैगरी दोस्रो सुरुङ बन्द गर्ने काम सुरु भएको र तेस्रो सुरुङमा रक ट्र्यापिङको काम भइरहेको दाहालले जानकारी दिए । मुख्य सुरुङ सफा गरिएपछि यस्तो सहायक सुरुङ बन्द गर्ने काम सुरु हुन्छ ।

तेस्रो सहायक सुरुङमा रक ट्र्यापिङको काम सकिएपछि स्टील गेट राख्ने काम सुरु हुन्छ । दाहाल भन्छन्, ‘६५ मिटरमध्ये १५ मिटर रक ट्र्यापिङको काम सकिएको छ भने ११ मिटरको अन्तिम चरणमा पुगेको छ ।’

पाँच दिन पर सर्‍यो ‘ड्राइ टेस्ट’

कोरियन प्राबिधिकहरु आउन ढिलो गरेका कारण पुर्वनिर्धारित समयमा ड्राइ टेस्ट नहुने भएको छ । आयोजनाले जेठ १ मा नै ड्राइटेस्ट थाल्ने योजना बनाएको थियो । तर अब ५ दिन पछाडि धकेलिएको छ । जेठ ६ गते मात्रै यसको ड्राइटेस्ट सुरु हुने दाहाल बताउँछन् ।


निर्माण भएका उपकरण कन्डिसनमा छन् वा छैनन् र जडान ठिक तबरले गरिएको छ वा छैन भनेर ड्राइ टेस्ट गरिन्छ । ड्राइ टेस्ट र ड्याम टेस्टको काम सकिएपछि भने सुरुङ परिक्षणको काम सुरु हुन्छ ।

आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी)ले निर्माण गरिरहेको छ । यो आयोजनाको कुल लागत अहिले १५ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । ८ अर्ब रुपैयाँमा बन्नुपर्ने आयोजनाको लागत सरकारी बेवास्ता, ठेकेदार र परामर्शदाताको लापरवाहीका कारण १५ अर्ब पुग्न गएको हो ।

आयोजनाको निर्माण सन् २००७ देखि सुरु भएको थियो । तर, लेखा समितिले भ्रष्टाचार भएको आशंकामा काम रोक्न निर्देशन दिएपछि लगभग एक वर्ष निर्माण रोकिन पुग्यो । संसदको सार्वजनिक लेखा समितिले भेरियसन मूल्यांकनमा भ्रष्टाचार भएको भन्दै वीचैमा काम रोक्न निर्देशन दिएको थियो ।

सन् २०१५ को फेब्रुअरी १० देखि बन्द भएको सुरुङ मर्मतको काम सन् २०१६ को सेप्टेम्बर २८ बाट मात्रै सुरु भएको थियो । ऊर्जा मन्त्रालयले गत २२ सेप्टेम्बरमा नयाँ कार्यसूची दिई सन् २०१७ को डिसेम्बरमा आयोजना सम्पन्न गर्न निर्देशन दिएको थियो ।

तर आयोजनाले भने अहिले अक्टोबरमै काम सक्ने योजना बनाएको छ । सिभिलको काम अगस्टसम्ममा सकिएमा अक्टोबरदेखि नै यो सञ्चालनमा आउने दाहाल बताउँछन् ।

प्रसारणलाइन नजिकका रुख कटान

आयोजनाका लागि प्रसारण लाइनको निर्माण पहिल्यै सकिएको छ । लेखा समितिले काम रोक्न निर्देशन दिने बेलामै प्रसारण लाइनको निर्माण सकिएको थियो ।


पछिल्लो समय प्रसारण लाइनको वरपर रहेका रुख ढलेर विभिन्न ठाउँमा तारहरु नै चुडिएका थिए । तर अहिले प्रसारण लाइनको मर्मतको काम पनि सबै सकिएको छ ।

दाहाल भन्छन्, ‘बनबाट अनुमती लिइसकिएको छ, अब जोखिममा रहेका रुखहरुसमेत काट्ने तयारी छ ।’ असार मसान्तभित्रमा नै यसले प्रसारण लाइनको समेत परीक्षण गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?