Comments Add Comment

बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति

२६ बैशाख, रौतहट । बेमौसमी वर्षाले रौतहटका इँटा उद्योगहरुमा क्षति पुगेको छ । बैशाख महिनामै केही दिन बिराएर ठूलो पानी पर्दा पोल्न तयार पारिएका इँटाहरु नष्ट भएपछि उद्योगीहरु मारमा परेका छन ।

माघ, फागुन, चैत र बैशाख महिना इँटा उत्पादन गर्ने अनुकुल महिना हुन् । यी महिनामा खासै पानी नपर्ने हुँदा उद्योगीहरुले भारीमात्रामा इँटा उत्पादन गर्दछन् । तर, यस बैशाख महिनामा मात्रै पाँचपटक भन्दा बढी पटक ठूलो पानी परिसकेको छ ।

रौतहट इँटा व्यावयासी संघका अध्यक्ष विनोदकुमार साहले रौतहटमा एक सयभन्दा बढी इँटा उद्योग रहेका र पानी पर्दा १२ करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको बताए ।

वर्षाले इँटामा क्षति पुगेकाले लगानी संकटमा परेको उद्योगीहरुको भनाइ छ । इँटा बनाएर पोल्नको लागि तयार अवस्थामा रहेको ९ लाखभन्दा बढी काचो इँटा वर्षाको पानीले गलेर नष्ट भएको अनिल इँटा उद्योग भलोहियाका सञ्चालक अनिल पाण्डेले बताए । वर्षाले गर्दा एउटै उद्योगमा ५० लाखभन्दा बढीको क्षति भएको उनले बताए ।

रौतहटको भेडियाही, भगवानपुर, राजपुर फरहदवा, डुमरिया, भलोहियामा इँटा उद्योग सञ्चालनमा छन् ।

इँटा उत्पादन हुनुपर्ने समयमा वर्षाले नोक्सानी पुर्‍याएका कारण यस वर्ष उत्पादनमा ह्रास आउने र मूल्यवृद्धि समेत हुनसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment