Comments Add Comment

दुईवटा जहाज चढेर प्रचण्ड, देउवा र ओली चितवन ओर्लिए

एकैपटक दुई ठाउँमा सभा

चितवन जाने क्रममा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा एउटै जहाजभित्र । तस्वीर: प्रकाश दाहाल

२८ बैशाख, भरतपुर । स्थानीय तह चुनावमा मतदाताहरुलाई सम्बोधन गर्न कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु आज चितवन आएका छन् ।

आ-आफ्नो उम्मेदवारलाई हौसलासहित कार्यकर्तालाई थप उत्साहीत गराउन तीनवटै पार्टीका शीर्ष नेता चितवन आएका हुन् ।

प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभामा सहभागी हुन बिहीबार बिहान चितवन आएका हुन् ।

प्रचण्ड र देउवा सँगै बुद्ध एयरको जहाज चढेर आए पनि ओली भने यती एयरलाइन्सको जहाज चढेर चितवन आएका छन् । एउटै जहाज चढेर चितवन ओर्लिएका देउवा र प्रचण्डले चुनावी तालमेलको सन्देश दिन खोजेको नेताहरु बताउँछन् ।

चितवनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेका छन् । एमाले भने एक्लै चुनावी मैदानमा छ । भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्ड पुत्री रेणु दाहाल उम्मेदवार छिन् । एमालेको तर्फबाट देवी ज्ञवाली मेयर पदको उम्मेदवार बनेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली भरतपुर विमानस्थलमा । तस्वीर: सुवास पण्डित

तीनवटै पार्टीका नेताहरुले चितवनको भरतपुर महानगरपालिकालाई प्रतिष्ठाको विषय बनाएका छन् । निर्वाचनलाई लक्षित चुनावी सभामा कांग्रेस, एमाले र माओवादीले शक्ति प्रदर्शन गर्ने तयारी गरेका छन् ।

कांग्रेस र माओवादीको संयुक्त चुनावी सभा भरतपुरको केन्द्रीय बस टर्मिनलमा र एमालेको चुनावी सभा नारायणगढको पोखरा बसपार्कमा आयोजना गरिएको छ । कांग्रेस-माओवादीको सभामा प्रचण्ड र देउवासहित शशांक कोइराला, अमिक शेरचन, बालकृष्ण खाँड, जितनारायण श्रेष्ठ, कल्याण गुरुङ लगायत नेताहरु छन् ।

शीर्ष नेताहरु नै उपस्थित भएपछि चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

चितवनको सभालाई सम्बोधन गरेपछि देउवा लम्जुङ जाने कार्यक्रम छ भने प्रचण्ड काठमाडौं फर्किने छन् ।

यसैगरी ओलीले रत्ननगर, पर्सा खैरहनी र राप्तीमा हुने चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम तय भएको एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment