२६ वैशाख, लन्डन । बेलायतका तीन राज्य इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्समा बिहीबार भएको स्थानीय निर्वाचनको मतगणना अप्रत्यासित आएको छ ।
१३६ स्थानीय काउन्सिलका ५ हजार १४ सिटका लागि भएको निर्वाचन परिणामले नाइजेल फराज नेतृत्वको रिफर्म यूकेले बलियो अग्रता बनाएको छ ।
रिफर्म यूके संयुक्त अधिराज्यको एक दक्षिणपन्थी लोकप्रियतावादी र अति–दक्षिणपन्थी राजनीतिक दल हो जुन आप्रवासीहरुप्रति निकै अनुदार मानिन्छ ।
शुक्रबार मध्यरातसम्मको नतिजाअनुसार रिफर्म यूकेले १४२८ सिट जितेको छ । सत्तारुढ लेबर पार्टी ९५५ सिटमा खुम्चिएको छ भने लिब्डेमले ८३२, कन्जरभेटिभले ७७३ र ग्रीन पार्टीले ५०८ सिट जितेका बीबीसीले जनाएको छ ।
मतगणना अझै जारी छ । नतिजाले प्रधानमन्त्री किअर स्टारमर नेतृत्वको सत्तारुढ लेबर पार्टीलाई ठूलो धक्का पुगेको छ । स्टारमरले लेबर पार्टीको हारको जिम्मेवारी लिएका छन् ।
लेबर पार्टीले इङ्गल्याण्डमा एकहजार बढी काउन्सिलर पद गुमाएको छ भने वेल्स सेनेड चुनावमा ऐतिहासिक हार बेहोरेपछि प्रधानमन्त्री स्टारमरलाई उनका केही सांसदहरूबाटै राजीनामा दिन दबाब परेको छ । अर्को चुनावमा प्रधानमन्त्रीको रूपमा उभिनुहुन्छ कि भनेर सोध्दा स्टारमरले जवाफ दिएका छन् ‘हो । म पाँच वर्षको कार्यकाल निर्वाचित भएको हुँ। म त्यो पूरा गर्न चाहन्छु ।’
उता, रिफर्म यूकेका नेता नाइजेल फराजले पूर्वी लन्डनमा पत्रकारहरूसँग कुरा गर्दै इंग्ल्याण्डको नतिजाले वास्तविक ऐतिहासिक परिवर्तन’ देखाएको बताएका छन् ।
एसेक्सको चेल्म्सफोर्ड पुग्दा फराजले बेलायतमा ‘मतदानको ढाँचामा साँच्चै ऐतिहासिक परिवर्तन’ प्रतिबिम्बित गरेको बताए ।
उनको रिफर्म पार्टीले एकहजार चारसयबढी काउन्सिलर पद जितेको छ । फराजको पार्टीले मिडल्याण्ड्स, उत्तर पूर्व र उत्तर पश्चिममा यसअघिको लेबरको किल्ला भत्काएको छ ।
बेलायतको स्थानीय निर्वाचनको नतिजाले राष्ट्रिय राजनीतिमा समेत नयाँ बहस सुरु गराएको छ ।
रिफर्म यूकेको उदय, लेबरको अपेक्षाकृत कमजोर प्रदर्शन र कन्जरभेटिभको निरन्तर दबाबबीच यो निर्वाचन बेलायती राजनीतिक परिदृश्यका लागि महत्वपूर्ण मानिएको छ ।
वेल्समा पनि सत्तारुढ लेबरले नराम्रो पराजय भोग्नु परेको छ । वेल्समा लेबरले २७ वर्षको आफ्नो पकड गुमाएको छ । उता, स्कटिस नेशनल पार्टी सबैभन्दा ठूलो दल बन्ने देखिएको छ ।
स्कटल्याण्ड र वेल्सका मतदाताले आफ्नो राष्ट्रिय संसदका लागि प्रतिनिधि चयन गर्नेछन् भने इंग्ल्याण्डका विभिन्न काउन्सिलमा काउन्सिलर तथा मेयर चयन हुनेछन् ।
नेपालीमूलका उम्मेदवार पनि उल्लेख्य

यसपटकको निर्वाचनमा नेपाली मूलका उम्मेदवारहरूको उपस्थिति पनि उल्लेख्य थियो ।
अनुमानित डेढ दर्जन बढी नेपाली मूलका उम्मेदवारमध्ये धेरै काउन्सिलर पदमा निर्वाचित हुँदा केही पराजित भएका छन् ।
प्राप्त सूचनाअनुसार लन्डन रोयल ग्रीनवीच बरोको प्लमस्टेड एन्ड ग्लीन्डनमा पूर्वमेयर जीत रानाभाट काउन्सिलर निर्वाचित भएका छन् । रानाभाट १६१० मत प्राप्त गरी निर्वाचित भएका हुन्।
सन् २०२२ मा पहिलोपटक काउन्सिलर निर्वाचित उनले यसअघि उक्त बरोको मेयर तथा सोही बरोको उपमेयर जिम्मेवारी सम्हालिसकेका छन् ।
सोही बरोकै एबिउड वार्डमा रानाभाट पत्नी गौमाया गुरुङ रानाभाट समेत पहिलोपटक काउन्सिलर निर्वाचित भएकी छन् । रानाभाट दम्पत्ति दुवै लेबर पार्टीका हुन् ।
उता, अल्डरसटका रश्मोर बरोअन्तर्गत म्यानर पार्क वार्डमा जीव नारायण बेल्वासे र वेलिङटन वार्डमा पूर्व गोर्खा उत्तरबहादुर गुरुङ काउन्सिलर निर्वाचित भएका छन् ।
कञ्जरभेटिभ पार्टीका उम्मेदवार बेल्वासे दोस्रोपटक तथा लेबर उम्मेदवार गुरुङ पहिलोपटक काउन्सिलर निर्वाचित भएका हुन् ।

गएको झन्डै २५ वर्ष देखि सामुदायिक सेवामा संलग्न बेल्वासेले स्थानीय प्रहरी, रश्मोर बरो काउन्सिल, सिटिजन्स एडभाइस ब्युरो, रश्मोर भोलन्टियर सर्भिसेज, रश्मोर फायर एण्ड रेस्क्यू सर्भिसेज, प्राइमरी केयर नेटवर्क लगायत संस्थामा सेवा गरेका थिए ।
ग्रेटर रश्मोर नेपाली कम्युनिटी अध्यक्ष भइसकेका बेल्वासेले एनआरएनए यूकेमा पनि काम गरिसकेका छन्। रश्मोर भोलन्टियर सर्भिसेज तथा ह्याम्पशायर शेरिफ अवार्डबाट सम्मानित बेल्वासे बीबीसी कम्युनिटी हिरो अवार्डका लागि संक्षिप्त सूची (सर्ट लिस्ट) मा पनि परेका थिए ।
त्यसैगरी, रेडिङ बरोको ब्याटल वार्डबाट लेबर पार्टीकी उम्मेदवार प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित भएकी छन् । उनी रेडिङ बरोमै नेपाली मूलबाट निर्वाचित हुने पहिलो काउन्सिलर बनेकी छन्।
साथै, कन्जरभेटिभ पार्टीका लक्ष्य गुरुङ लन्डन बरो अफ बार्नेटको एड्जवेरवरी वार्डबाट तेस्रो पटक काउन्सिलर पदमा निर्वाचित भएका छन् ।
पूर्व उपमेयर गुरुङले तेश्रो पटक जित्ने आफू पहिलो नेपाली भएको बताए ।
उता, लेबर पार्टीका तर्फबाट पूर्व काउन्सिलर कमल गुरुङ लन्डन बरो अफ बार्नेटकै बन्र्टओक वार्डमा फेरि काउन्सिलर निर्वाचित भएका छन् ।
पराजित उम्मेदवार पनि कयौं
स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गरेका नेपाली मूलका अरु कयौं उम्मेदवार पराजित भएका छन्।
रश्मोरको वेलिङटन वार्डमा कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार डा. विशाल गुरुङ दोस्रो प्रयासमा पनि सफल हुन सकेनन् ।
उता, बेजिङस्टोकमा काउन्सिलर निर्वाचन लडेका पूर्व डीएसपी शिवजी श्रेष्ठ पनि पराजित भए । उनी लेबर पार्टीबाट उम्मेदवार थिए ।
लन्डनको ग्रीनवीच बरोमा जेरेमी कोर्बिन नेतृत्वको योर पार्टीको समर्थनमा उम्मेदवारी दिएका नरेन्द्र कंडेल र टम अधिकारी पनि पराजित भए ।
कंडेल पूर्व मेयर रानाभाट निर्वाचित भएको प्लमस्टेड एण्ड ग्लीन्डन वार्ड तथा अधिकारी वुल्लीचबाट उम्मेदवार थिए ।
लन्डन हन्सलो बरोको फेल्थाम नर्थमा कञ्जरभेटिभ उम्मेदवार इन्द्रहांग लिम्बू पनि पराजित भए ।
त्यस्तै, स्वीन्डनमा पनि कञ्जरभेटिभ पार्टीकै उम्मेदवार ज्ञानप्रसाद गुरुङ पराजित भएका छन् ।
प्रतिक्रिया 4