वैज्ञानिकहरूले बेलायतको ग्लोस्टर क्षेत्रमा गोहीको एक अत्यन्तै दुर्लभ र नयाँ प्रजाति फेला पारेका छन् । करिब २१ करोड ५० लाख वर्ष पुरानो ‘ट्रायसिक’ कालखण्डको यो जीव अहिलेका गोहीहरूजस्तो पानीमा बस्ने नभई जमिनमा निकै तीव्र गतिमा दौडनसक्ने खालको रहेको अनुसन्धानले देखाएको छ ।
यसको शारीरिक बनावट आधुनिक ‘ग्रेहाउन्ड’ जातको कुकुरसँग मिल्दोजुल्दो रहेको र यो आफ्ना लामो खुट्टाको सहायताले सुख्खा मैदानहरूमा साना जनावरहरूको शिकार गर्ने गर्दथ्यो ।
वैज्ञानिकहरूले यस नयाँ प्रजातिको नाम ‘गालाहाडोसुचस जोन्सी’ राखेका छन् । यो नाम आर्थरियन दन्त्यकथाका पात्र ‘गालाहाड’ र यस अध्ययनका मुख्य लेखक इवान बोडेनहामका भौतिक विज्ञान शिक्षक ‘डेभिड राइस जोन्स’ को सम्मानमा राखिएको बताइएको छ ।
लण्डनस्थित नेचुरल हिस्ट्री म्युजियम र यूसीएलका विद्यावारिधि विद्यार्थी इवानले आफ्ना गुरुले विज्ञानप्रति जगाएको चासो र प्रेरणाका कारण यो खोज सम्भव भएको बताएका छन् ।
दक्षिण वेल्स र दक्षिण–पश्चिम इङ्ल्यान्डका गुफाहरूमा फेला परेका जीवाश्महरूको सूक्ष्म अध्ययन गर्दा यो जीव यसअघि थाहा पाइएको ‘टेरेस्ट्रिसुचस’ भन्दा १३ वटा विभिन्न पक्षमा भिन्न रहेको पाइएको छ ।
यस खोजले ‘ट्रायसिक–जुरासिक’ महाविनाशभन्दा ठीक अघिको पारिस्थितिक प्रणाली बुझ्न ठूलो मद्दत पुग्ने वैज्ञानिकहरूको विश्वास छ । ज्वालामुखी विष्फोट र जलवायु परिवर्तनका कारण धेरै प्रजातिहरू लोप हुनुअघि यस्ता जीवहरू कसरी अनुकूलित भएका थिए भन्ने कुराले भविष्यमा पृथ्वीमा आउन सक्ने वातावरणीय उथलपुथल बुझ्न सहयोग पुर्याउने देखिन्छ ।
प्रतिक्रिया 4