Comments Add Comment

रुकुमको चौरजहारी नगरपालिकामा माओवादीको फराकिलो जीत

३ जेठ, रुकुम । रुकुमको चौरजहारी नगरपालिकामा माओवादी केन्द्र फराकिलो अन्तरले विजयी भएको छ । मेयर पदमा माओवादीका विशाल शर्मा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारलाई २१ सय बढी मत अन्तरले हराउँदै निर्वाचित भएका छन् ।

माओवादी केन्द्रका शर्मा ५ हजार ४२० मतसहित विजयी भएको चौरजहारी नगरपालिकाका निर्वाचन अधिकृत परमानन्द घिमिरेले जानकारी दिए ।

शर्माका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बलबीर गोसाईंले ३ हजार २०४ मत पाएका छन् । एमालेका शेरबहादुर केसीको २ हजार २८२ मत छ ।

यसैगरी उपमेयर पदमा पनि माओवादी केन्द्रकी राधा रोका विजयी भएकी छन् । उनले ५ हजार ३२५ मत पाएकी छन् । उपमेयर पदमा कांग्रेसकी मनिषा भण्डारीले ३ हजार ४० मत पाइन् । एमालेबाट उपमेयरकी उम्मेदवार कल्याणी खड्काले २ हजार ४१३ मत पाएकी छन् ।

चौरजहारी नगरपालिकाका १४ वडामध्ये १० वटा वडामा माओवादी, ३ वडामा कांग्रेस र एउटा वडामा एमाले विजयी भएको छ ।

वडा नम्बर २ मा कांग्रेसको पूरै प्यानल विजयी भएको छ ।

वडानम्बर १३ मा एमाले प्यानलसहित विजयी भएको छ । वडानम्बर ११ मा वडा अध्यक्ष र दुई सदस्य कांग्रेसले जितेको छ । ११ वडामै २ सदस्य माओवादी र १ सदस्यमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

अरु सबै वडाहरुमा माओवादी उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।

रुकुममा पहिलो चरणमा निर्वाचन भएका ६ स्थानीय तहहरुमध्ये पाँचवटामा माओवादी विजयी भइसकेको छ । रुकुमका मु्सिकोट नगरपालिका, चौरजहारी नगरपालिका, बाँफीकोट गाउँपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा माओवादी विजयी भएको हो । अब आठबिसकोट नगरपालिकाको परिणाम आउन बाँकी छ । आठबिसकोटमा पनि माओवादी अग्रस्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment