Comments Add Comment

अर्थमन्त्रीको घोषणाः बजेटमा नयाँ कार्यक्रम आउँदैन


८ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७४ को बजेटमा सरकारले कुनै पनि नयाँ कार्यक्रम समावेश नगर्ने भएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार पत्रकारहरुमाझ यसको औपचारिक जानकारी गराएका हुन् ।

यसअघि चुनावलाई प्रभावित गर्ने गरी बजेटमा कुनै पनि नयाँ कार्यक्रम नल्याउने विषयमा प्रमुख तीन दलबीच समझदारी बनेको थियो । नयाँ कार्यक्रम ल्याउँदा राजनीतिक दलहरुसँग सम्बन्ध बिग्रन सक्ने संभावना भएकाले पुरानै कार्यक्रमलाई मात्रै निरन्तरता दिन लागेको अर्थमन्त्री महराले बताए ।

यद्यपि, यो बजेट आंशिक नभएर पूर्ण स्वरुपको नै हुने उनको भनाइ छ ।

अहिलेको बजेटले राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकता दिन लागेको उनले जानकारी गराए । महराले भने, ‘पुनर्निर्माण र राष्ट्रिय गौरबका आयोजनालाई विशेष प्राथमिकतामा राखेका छौं र प्रदेशको चुनावका लागि पनि रकम छुट्याइने छ ।’ तर, केन्द्रको चुनावको विषय उनले उल्लेख गरेनन् ।

जेठ १५ भित्रै बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार यो सरकारले अहिलेको बजेट सार्वजनिक गर्न लागेको हो ।

स्थानीय तहको दोस्रो चरणको चुनाव अगावै अहिलेेको सरकार परिवर्तन हुने चर्चा छ । निर्वाचनभन्दा अघि बजेट ल्याउन पाइने वा नपाइने भन्ने समेत अन्योलता थियो ।

तर, निर्वाचन आयोगले जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्वाचन आचार संहिताले नरोक्ने बताएपछि भने सरकारले बजेट निर्माणको काम द्रुत गतिमा अघि बढाएको छ ।

संविधान कार्यान्वयनको लागि पनि बजेट ल्याउनु आवश्यक भएको अर्थमन्त्री महराको भनाइ छ । महरा भन्छन्, ‘यो सरकारको प्रमुख उद्देश्य भनेको राजनीतिक दलहरु बिचको विवाद अन्त्य गर्ने हो, त्यसैले हामीले राजनीतिक सन्तुलन कायम गरेर बजेट घोषणा गर्छाैं ।’

अहिले अर्थमन्त्रालय प्रादेशिक सरकारमा प्राकृतिक स्रोत तथा रकम के-कसरी बाँडफाड गर्ने भनेर वित्तीय आयोग निर्माण गर्ने चरणमा छ ।

अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदीले आयोग गठनको चरणमा रहेको जानकारी दिए ।

बजेटले प्रसारण लाइन निर्माणलाई पनि प्राथमिकतामा राखेको सुबेदी बताउँछन् । उनले भने, ‘केही स्थानमा प्रसारणलाइनको अभावले विद्युत खेर जाने अवस्था आउन थाल्यो, त्यसैले प्रसारण लाइन निर्माणलाई पनि यो सरकारले बिशेष प्राथमिकतामा राखेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment