Comments Add Comment

चार नगर र ८ गाउँपालिका प्रमुखमा महिला निर्वाचित (सूचीसहित)

स्थानीय तहका उपप्रमुखमा अधिकांश महिला

८ जेठ, काठमाडौं । पहिलो चरणको स्थानीय चुनाव भएका २८३ मध्ये १२ जना मात्र महिला प्रमुखमा निर्वाचित भएका छन् । उपप्रमुखमा भने अधिकांश स्थानमा महिला नै निर्वाचित भएका छन् ।

भरतपुर, पोखरा र काठमाडौं महानगरपालिकामा मतगणना भइरहँदा त्यहाँ महिला प्रतिस्पर्धीहरु मेयरमा छन् । भरतपुरमा माओवादी उम्मेदवार रेणु दाहाल एमालेका देवी ज्ञवालीसँग प्रतिस्पर्धामै छिन् भने काठमाडौंमा रन्जु दर्शनाले १० हजार मत कटाए पनि जितबाट टाढा पुगेकी छन् । पोखरामा राप्रपाकी गीता गुरुङको पनि जितको सम्भावना सकिएको छ ।

एमालेका ३, कांग्रेसको १ नगर प्रमुख

हालसम्म निर्वाचित भएका १२ स्थानीय तहका प्रमुख महिला मध्ये ४ जना नगरपालिकाका प्रमुख छन् ।

नगरपालिकाको नेतृत्व गर्नेमा कांग्रेसबाट एकजना मात्र भएकी छन् भने एमालेले ३ जना महिलालाई नगर प्रमुख जिताएको छ । पहिलो चरणमा ९२ नगरपालिकामा निर्वाचन भएको थियो ।

प्रतिस्पर्धामा जितको नजिक रहेर पनि केही महिला उम्मेदवारले जित निकाल्न सकेनन् ।

कांग्रेसबाट जुम्लाको चन्दननाथ नगरपालिका प्रमुखमा कान्तिका सेजुवाल निर्वाचित भएकी छन् । यो चुनावमा मेयर निर्वाचित हुने उनी पहिलो महिला उम्मेदवार हुन् ।

एमालेबाट नवलपरासीको कावासोतीमा चन्द्रा पुन, चितवनको राप्ती नगरपालिकामा प्रभा बराल र स्याङजाको पुतलीबाजरमा सीमा क्षेत्री नगर प्रमुखमा निर्वाचित भएका छन् । उनीहरु सबैले पुरुषलाई पराजित गरेका हुन् ।

गाउँपालिकामा कांग्रेसका ४ महिला अध्यक्ष

गाउँपालिका अध्यक्षमा भने नेपाली कांग्रेसबाट सबैभन्दा धेरै चार महिला निर्वाचित भएका छन् । कांग्रेसबाट तनहुँको म्याग्दे गाउँपालिका अध्यक्षमा माया राना निर्वाचित भएकी छन् ।

त्यस्तै नवलरासीको हुप्सेकोट गाउँपालिकामा लक्ष्मी पाण्डे अध्यक्ष निर्वाचित भएकी छन् ।

कांग्रेसबाटै लमजुङको दूधपोखरी गाउँपालिका अध्यक्षमा छुपीमाया गुरुङ निर्वाचित भएकी छन् भने चितवनको इच्छाकामना गाउँपालिकामा गीता गुरुङ निर्वाचित भएकी छन् ।

दिलमाया बुढामगर

एमाले र माओवादीबाट २/२ जना

एमालेबाट दुई महिला गाउँपालिका प्रमुख निर्वाचित भएका छन् । रसुवाको कालिकास्थान गाउँपालिका अध्यक्षमा सीता अधिकारी पौडेल र म्याग्दीको धौलागिरी गाउँपालिका अध्यक्षमा थमसरा पुन निर्वाचित भएकी हुन् । दुबै एमालेबाट चुनिएका हुन् ।

माओवादी केन्द्रबाट पनि दुई गाउँपालिको प्रमुखमा महिला निर्वाचित भएका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिकमा दिपा बोहोरा र सल्यानको कुमाखमालिका गाउँपालिकामा दिलमाया बुढामगर अध्यक्ष निर्वाचित भएका हुन् ।

एमालेका ५ महिला वडा प्रमुख

कार्यकारी अधिकारको हिसाबले गाउँपालिका अध्यक्ष पछि वडाध्यक्ष पनि शक्तिशाली पद हो । हालसम्म प्राप्त तथ्यांक अनुसार ५ जना महिला वडापालिका प्रमुखमा निर्वाचित भएका छन् ।

निर्वाचित हुनेमा एमालेबाट पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १ मा शारदा पराजुली, चितवनको राप्ती नगरपालिका ५ मा मेनुका पाठक, स्याङजा फेदिखोला वडा नम्बर ५ मा चीजा गुरुङ छन् ।

त्यस्तै एमालेबाटै रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ९ को वडाध्यक्षमा चिनीमाया तामाङ र बेशी शहर नगरपालिको वडा नम्बर ८ को वडाध्यक्षमा पवित्रा थापा राना बिजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment