Comments Add Comment

काठमाडौंमा एमालेको कमब्याकः नागार्जुन र गोकर्णेश्वरमा अन्तरघात

महानगरको परिणाम नआउँदै जिल्ला समन्वय समिति पनि एमालेकै निश्चित

९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहँदा काठमाडौं जिल्लाभित्रका सबै १० वटै नगरपालिकाको निर्वाचन परिणाम सोमवार रातिसम्म सार्वजनिक भइसकेको छ ।

काँठका नगरपालिकामध्ये सबैभन्दा धेरै मतदाता रहेको बूढानीलकण्ठमा मेयर उपमेयरसहित एक वडाबाहेक सबैमा एमालेले विजय हासिल गरेपछि सबै नगरपालिकाको परिणाम आएको हो ।

काठमाडौंका १० नगरपालिकामध्ये ६ नगरपालिकामा मेयर र ८ नगरपालिकामा उपमेयर जितेर एमाले सबैभन्दा ठूलो दल बनेको छ । नेपाली कांग्रेसले ४ नगरपालिकामा मेयर र २ नगरपालिकामा उपमेयर जितेर दोस्रो दल बनेको छ ।

तेस्रो ठूलो दल माओवादी र चौथो ठूलो दल राप्रपाले कुनै पनि नगरपालिकामा बलियो उपस्थिति समेत देखाउन सकेनन् ।

एमालेले शंखरापुर, कागेश्वरी मनहरा, बुढानीलकण्ठ, तारकेश्वर, टोखा र कीर्तिपुर नगरपालिकामा मेयर उपमेयर सहित बहुमत हासिल गरेको छ । त्यस्तै नागर्जुन र चन्द्रागिरी नगरपालिकामा मेयर हारेर उपमेयरसहित धेरै वडामा एमालेले जित कायम गरेको छ ।

कांग्रेसले गोकर्णेश्वर, नागर्जुन, चन्द्रागिरी र दक्षिणकाली नगरपालिकामा मेयर जितेको छ । उसले चन्द्रागिरी र नागर्जुनमा उपमेयर जित्न सकेन । कांग्रेसले जितेका नगरपालिकामध्ये गोकर्णेश्वर ग्रामीण भेगका कम जनसंख्या समेटिएका नगर हुन् । एमालेले जितेका नगरपालिका जनघनत्व र शहरीकरणका हिसाबले तिब्र विकासमा रहेका छन् ।

२०५६ को संसदीय निर्वाचनपछि काठमाडौंमा ओरालो लागेको एमाले ०६४ सालको संविधानसभा निर्वाचनसम्म पुग्दा पत्तासाफको अवस्थामा थियो । पहिलो संविधानसभा निर्वाचनमा एक सीट पनि जित्न नसकेको एमालेले काठमाडौंमा ०७० को संविधानसभा चुनावमा १० मध्ये २ सिट जितेको थियो ।

जनमतका हिसाबले निकै कमजोर अवस्थामा पुगिसकेको आँकलन गरिएको एमालेले यसपटक स्थानीय तहको चुनावमा आक्रामक ढंगले आफ्नो पुनरागमन गराउन सफल भएको छ । कांग्रेसलाई हाफ र माओवादीलाई पत्तासाफ बनाउने एमालेको योजना काठमाडौंको हकमा सफल भएको छ ।

काठमाडौं महानगरपालिकामा १० हजार भन्दा बढीको अन्तरले एमालेका विद्यासुन्दर शाक्य मेयरको दौडमा अघि रहेका बेला काँठका बहुसंख्यक नगरपालिकामा बर्चश्व कायम गरेपछि एमालेले काठमाडौंमा राहतको सास फेर्न पाएको छ ।

अब एमालेले काठमाडौंमा रहेको पार्टी संगठनको विवाद अन्त गर्दै प्रादेशिक र संसदीय चुनावको तयारी थाल्नुपर्ने अवस्था आएको जिल्ला सहइन्चार्ज सुरेन्द्र मानन्धरले बताए ।

काठमाडौंका ६ मेयर र ८ उपमेयर जितेर एमाले जिल्लाको ठूलो दलमात्र बनेको छ, अब जिल्ला समन्वय समिति पनि उसले एकलौटी गठन गर्ने हैसियत बनाएको छ । काठमाडौं महानगरपालिकाको परिणाम नआउँदै जिल्ला समन्वय समितिमा मतदान गर्ने अधिकार प्राप्त २२ मध्ये १४ जना एमालेका मेयर उपमेयर विजयी भइसकेका छन् ।

एमालेका लागि काठमाडौंको यसपटकका चुनाव उभिने कि सिद्धिने भन्ने दुई विकल्पको बीचमा भएको थियो । चुनावको मुखमा उम्मेदवारी चयनमा तीब्र विवाद हुँदा समानान्तर जिल्ला कमिटी गठनको भेला समेत भएको थियो । उम्मेदवार समेत अलग अलग सिफारिस हुने अवस्था आएको थियो ।

तर, केन्द्रले बेलैमा हस्तक्षेप गरेर जिल्ला कमिटी समानान्तर बन्ने अवस्था रोक्यो र उम्मेदवारी चयनमा प्रदेशले हस्तक्षेप ग¥यो । नागर्जुन नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा अन्तरघातकै कारण हार्नुपरेको र चन्द्रागिरीमा उम्मेवारी चयनमा बिचार नगर्दा मेयर हार्नुपरेको एमाले नेताहरुको विश्लेषण छ ।

एमालेले जितेका मेयर र उपमेयर

शंखरापुर नगरपालिकाःमेयर सुवर्ण श्रेष्ठ,उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ
बुढानिलकण्ठ नगरपालिकाःमेयर उद्धब खरेल,उपमेयर रमा राई
टोखा नगरपालिकाः मेयर प्रकाश अधिकारी,उपमेयर ज्ञानमाया डंगोल
तारकेश्वर नगरपालिकाः मेयर रामेश्वर बोहोरा,उपमेयर भानु डोटेल
कीर्तिपुर नगरपालिकाः मेयर रमेश महर्जन,उपमेयर शरस्वती खड्का
कागेश्वर मनहरा नगरपालिकाः मेयर कृष्णहरी थापा,उपमेयर बिन्दू सिंखडा
नागर्जुन नगरपालिकाः उपमेयर सुशीला अधिकारी
चन्द्रागिरी नगरपालिकाः उपमेयर लिसा नकर्मी
कांग्रेसले जितेका मेयर र उपमेयर
गोकर्णेश्वर नगरपालिकाः मेयर शन्तोष चालिसे,उपमेयर शान्ति नेपाल
दक्षिणकाली नगरपालिकाः मेयर मोहन बस्नेत,उपमेयर बसन्ती महर्जन
नागर्जुन नगरपालिकाः मेयर मोहन बस्नेत
चन्द्रागिरी नगरपालिकाः मेयर घनश्याम गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment