+
+

चमेलियाको ड्राइटेस्ट सोमबारदेखि सुरु हुने, कोरियन प्राविधिक आए

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १४ गते १६:०९


१४ जेठ, काठमाडौं  ।  ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको ‘ड्राइ टेस्ट’ भोली सोमबारदेखि हुने भएको छ । आयोजनाका उपकरण कन्डिसनमा छन् वा छैनन् र जडान ठिक तबरले गरिएको छ वा छैन भनेर हेर्न यो परिक्षण गर्न लागिएको हो ।

ड्राइ टेस्ट गर्नका लागि दुई जना कोरियन प्राविधिक शनिबार नै आयोजना निर्माण स्थलमा पुगिसकेका छन् भने दुईजना आइतबार पुग्दैछन् । वेट ड्याम टेस्ट भने आउँदो सेप्टेम्बर सम्ममा परिक्षण गरिसक्ने तयारी रहेको आयोजना प्रमुख अजय दाहाल बताउँछन् ।

चमेलियाको सुरुङमा ६५ मिटर रक ट्र्यापिङ गर्नुपर्नेछ । त्यसमध्ये २४ मिटरको काम सकिएको छ । बाँकी ४१ मिटरको काम अघि बढिरहेको छ । साइड टनेल वान बन्द गर्ने काम यसअघि नै सकिएको छ । मूख्य सुरुङ खन्नका लागि प्रयोग भएका यस्ता टनेल ३ वटा खनिएका थिए । मुख्य टनेल सफा गरिएपछि यस्तो साइड टनेल बन्द गर्ने काम सुरु हुन्छ ।

आयोजनाले सिभिलतर्फको काम सेप्टेम्बर सम्ममा सक्ने योजना बनाएको छ । उनले भने, ‘सिभिलतर्फको काम सेप्टेम्बर सम्ममा सक्छौं, यो सकिएपछि इलेक्ट्रोमेकानिकलको काम सुरु हुन्छ ।’

यो आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी) ले निर्माण गरिरहेको छ । जसले हालैमात्रै जलाशययुक्त आयोजना बुढिगण्डकीको पनि निर्माणको ठेक्का पाएको छ । तर सम्झौता भने सम्पन्न भएको छैन ।

चमेलिया आयोजनाको प्रशारणलाइन यसअघि नै निर्माण सम्पन्न भइसकेको छ । अहिले प्रशारणलाइन वरपर रहेका रुखहरु कटान गर्ने काम भइरहेको छ ।

आयोजनाका प्रमुख दाहाल भन्छन्, ‘निर्माण सम्पन्न भएपछि लामो समय प्रयोगबिहीन भयो, जसका कारण ठाउँ–ठाउँमा बिग्रेको थियो । त्यसको मर्मत सकेर अहिले जोखिमयुक्त रुख कटान गर्ने काम अघि बढाइरहेका छौ ।’

रुख कटानको काम जेठ १ गतेदेखि सुरु भएको छ । जेठ मसान्तसम्ममा कटान सक्ने आयोवजनाको तयारी छ । जेठ मसान्तसम्म रुख कटान नगरे असारदेखि रुख काट्न पाइदैन ।

दार्चुलाको शिखर गाविसमा निर्माणाधिन चमेलिया जलविद्युत आयोजनाको निर्माण सन् २००७ देखि सुरु भएको थियो । तर, लेखा समितिले भ्रष्टाचार भएको आशंकामा काम रोक्न निर्देशन दिएपछि लगभग एक वर्ष निर्माण रोकिन पुगेको थियो । जसका कारण नै ट्रान्समिसन लाइन ठाउँठाउँमा बिग्रन पुगेको हो ।

कुल ६ सय ११ मिटर सुरुङ खनेको समयमा २ सय ३२ मिटर भने खुम्चिएको थियो । संसदको सार्वजनिक लेखा समितिले भेरियसन मूल्यांकनमा भ्रष्टाचार भएको भन्दै वीचैमा काम रोक्न निर्देशन दिएको थियो । सन् २०१५ को फेब्रुअरी १० देखि बन्द भएको सुरुङ मर्मतको काम सन् २०१६ को सेप्टेम्बर २८ बाट मात्रै सुरु भएको थियो ।

ऊर्जा मन्त्रालयले गत २२ सेप्टेम्बरमा नयाँ कार्यसूची दिई सन् २०१७ को डिसेम्बरमा आयोजना सम्पन्न गर्न निर्देशन दिएको थियो । यो आयोजनाको कुल लागत अहिले १५ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । आयोजनाले आगामी डिसेम्बरमा यसबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना बनाएको दाहाल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?