Comments Add Comment

सिंचाई मन्त्रीले सार्वजनिक गरे आफूले गरेका कामको सूची

१६ जेठ, काठमाडौं । सरकार परिवर्तन हुनै लाग्दा सिंचाइ मन्त्री दीपक गिरीले आफूले गरेका कामका विवरण सार्वजनिक गरेका छन् ।

मन्त्रालयमा पत्रकार सम्मेलन गरी कांग्रेस नेता समेत रहेका मन्त्री गिरीले कामको विवरण सार्वजनिक गरेका हुन् ।

उनले राष्ट्रिय गौरवका आयोजनमा थुप्रै समस्या रहेको भन्दै आफ्नो कार्यकालमा ती समस्याहरू समाधान गरेको दावी गरे ।

‘राष्ट्रिय गौरवका विषयमा मैले धेरै सुनेको थिएँ । मन्त्री भएर आउनेवित्तिकै राष्ट्रिय गौरवका आयोजनालाई निरन्तरता दिन निर्देशन दिएँ,’ उनले भने, ‘कुरा बुझ्दै जाँदा राष्ट्रिय गौरवका आयोजनामा थुप्रै समस्या रहेछन् । मैले ती समस्या समधान गरेर आयोजनाहरूलाई अगाडि बढाएँ ।’

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्याका विषयमा आफूले मन्त्रिपरिषद् बैठकमा १५ मिनेटसम्म धारणा राखेर प्रधानमन्त्रीलाई विश्वस्त बनाएको बताए ।

सिक्टा, रानीजमरा कुलरिया, बबई सिंचाई आयोजना र भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाहरूका कठिनाईहरु आफूले समाधान गरेको दावी उनको छ ।

मन्त्री गिरीले कोशी नदीमा हाइड्याम बनाउनुपर्ने योजना सुनाए । हाइड्याम बनेमा नेपाल र भारत दुबै देशका नागरिकलाई लाभ हुने उनको दावी छ ।

दाङमा ५३ हजार भूमि सिंचाई

मन्त्री गिरीले गृह जिल्ला दाङको ५३ हजार हेक्टर भूमिलाई सिंचाई गर्ने योजना आफूले बनाएको बताए । दाङको बबई नदीमा दुई दर्जन स्थानमा बाँध निर्माण गरेर सिंचाईको व्यवस्था मिलाएको उनको दावी छ । त्यसका लागि कुइरेपानीदेखि दाङ-सुर्खेत सिमानासम्म ठाउँठाउँमा बाँधको व्यवस्था गरिएको उनको भनाइ छ ।

तर, सुनसरीको चतरामा धार्मिक गुरुले कब्जा गरेको सिंचाई मन्त्रालयको १५ विघा जग्गा भने आफूले फिर्ता गर्न नसकेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment