Comments Add Comment

भरतपुरमा पुनः मतदान भए सशक्त प्रतिकारः महासचिव पोख्रेल

'एमाले हार्न तयार छ तर लोकतन्त्र मर्न दिदैन'

१६ जेठ, चितवन । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले भरतपुर महानगरपालिकाको निर्वाचन परीणाम जे जस्तो आएपनि स्वीकार्न पार्टी तयार रहेको बताएका छन् । एमाले चितवनले भरतपुरमा गरेको बिरोध सभालाई मंगलबार सम्वोधन गर्दै महासचिव पोखरेलले भने, ‘मतगणनाबाट आउने परीणाम सहर्ष स्वीकार्न एमाले तयार छ । के कांग्रेस र माओवादी तयार छन् ?’

महासचिव पोखरेलले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान एमालेका लागि कुनै पनि हालतमा स्वीकार्य नहुने दोहोर्‍याए । पुनः मतदान भएमा एमालेले त्यसको सशक्त प्रतिकार गर्ने उनको चेतावनी छ ।

मतपत्र च्यात्ने काम सत्ता संरक्षित गुण्डागर्दी भएको बताउँदै महासचिव पोखरेलले भने ‘यो निन्दनीय छ, लोकतान्त्रिक प्रक्रिया अगाडि बढाउन यसले बाधा पुर्‍याउँछ ।’

यस घटनाले लोकतान्त्रिक मुल्यमान्यता र प्रक्रियामा कति असर पुर्‍याउँछ भन्ने ढंगले हेरिने पर्ने बताउँदै उनले भने, ‘यस्ता घटनाले हाम्रो निर्वाचन प्रक्रिया अगाडि बढ्न सक्दैन ।’

हार्ने निश्चित हुनेहरुले मतपत्र च्यात्दै जाने र पुनः मतदान गर्दै जाने हो भने मतदान प्रक्रिया कहिल्यै अन्त्य नहुने महासचिव पोखरेलको भनाइ छ । भरतपुरमा एमालेलाई जिताउनका लागि मात्रै एमालेले यस्तो दृष्टिकोण नराखेको बताउँदै उनले मुलुकको लोकतन्त्रिक अभ्यासलाई कमजोर हुन नदिन भनिएको बताए ।

प्रहरी प्रमुख, प्रमुख निर्वाचन अधिकृत र राजनीतिक दलका जिम्मेवार व्यक्तिहरु घटनाका साक्षी रहेको बताउँदै उनले भने, ‘यो घटनाको दोषी को हो भन्ने कुरा लुकाएर लुक्दैन ।’

मतपत्र च्यात्ने कामको अगुवाई माओवादी पोलिटब्यूरो सदस्य सूर्य सुवेदी ‘पथिक’को अगुवाईमा भएको दावी गर्दै उनले भने, ‘यस घटनाको योजना बालुवाटारको कुनै गोप्य कोठामा भएको थियो ।’

एमालेले बुधवारसम्म पर्खने

मतपत्र च्यात्ने घटनाका बिरुद्ध सडक संघर्षमा उत्रिएको नेकपा एमालेले बुधवारसम्म पर्खने र बिहीबारदेखि थप संघर्षका कार्यक्रम ल्याउने चेतावनी दिएको छ । एमाले चितवनका उपाध्यक्ष तेजेन्द्रबहादुर खड्काले बिहीबारदेखि जिल्ल्ाा नै ठप्प बनाउने गरी संघर्षका कार्यक्रम ल्याउने बताए ।

निर्वाचन आयोगले घटनाबारे छानविन समिति गठन गरी जेठ १७ गतेभित्र प्रतिवेदन बुझाउन समयसीमा दिएको त्यतिञ्जेल एमालेले पर्खने उपाध्यक्ष खड्काले जानकारी दिए ।

‘प्रतिवेदन पछि आयोगले गर्ने निर्णयका आधारमा हामीले आन्दोलनका कार्यक्रम तय गर्दछौं,’ खड्काले भने, ‘पुनः निर्वाचन गर्ने प्रस्ताव आए जिल्ला ठप्प बनाउने छौं ।’

एमालेको धर्ना शुरु

सभा अघि नेकपा एमाले चितवनले नारायणगढको पुलचोकदेखि भरतपुरको कभर्डहलसम्म विरोध र्‍याली निकालेको थियो ।

मतगणना स्थल कभर्डहल अगाडि एमालेले मतदान सुरु गर्न दबाव दिँदै धर्ना कार्यक्रम शुरु गरेको छ । मतगणनास्थल नजिक बरको फेंदमा एमालेले कालो ब्यानर टाँगेर धर्ना शुरु गरेको हो । धर्नामा एमाले कार्यकर्ताहरु पालैपालो बस्ने एमाले चितवनकी सचिव पार्वती रावलले जानकारी दिइन् ।

मतगणना सुरु गर्न ४ दलको माग 

एमाले बाहेकका ४ साना दलले पनि मतगणना सुरु गर्न माग गरेका छन् । नयाँ शक्ति नेपाल चितवनका सहसंयोजक पदमबहादुर गुरुङ, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष अमरबहादुर क्षेत्री, देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला सचिव बाबुराम परियार, संयुक्त दलित अधिकार मञ्च नेपाल तथा पहिचान पक्षधर घटकका अध्यक्ष मोतीबहादुर बिकले मंगलवार संयुक्त बिज्ञप्ती जारी गरी मतगणना सुरु गर्न माग गरेका हुन् ।

मतपत्र च्यात्ने घटनाले लोकतान्त्रिक मूल्य मान्यताको धज्जी उडाएको भन्दै उनीहरुले प्रतिगमन तर्फ अघि लैजाने यस्ता घटना र प्रवृतिलाई निरुत्साहित गर्न तत्काल मतगणना शुरु हुनुपर्ने माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment