Comments Add Comment

त्रिविमा वार्षिक प्रणालीअनुसार नै प्राइभेट परीक्षा

१५ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा वार्षिक प्रणालीअनुसार नै प्राइभेट परीक्षाका लागि परीक्षा फारम खुला गरेको छ ।

त्रिविको परीक्षा नियन्त्रण कार्यालयले मानविकी संकायको राजनीतिशास्त्र र व्यवस्थापन संकायको जनप्रशासन विषयमा प्राइभेट परीक्षाको परीक्षा फारम खुला गरेको हो ।

स्नातकोत्तर तहको सबै विषयको पढाइ सेमेस्टर प्रणालीअनुसार सञ्चालन भइसकेको छ । तर, कक्षामा नियमित उपस्थित हुन नसक्ने विद्यार्थीले वार्षिक प्रणालीअनुसार नै प्राइभेट परीक्षामा सहभागी हुन पाउने भएका छन् । उनीहरुले घरमै पढेर वर्षको एक पटक परीक्षा दिएर स्नातकोत्तर तह पास गर्न सक्नेछन् ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले यसवर्षको प्राइभेट परीक्षामा २०७४ सालसम्म स्नातक तह उतीर्ण गरेका विद्यार्थी सहभागी हुन सक्नेछन् । परीक्षा फारम खुला भएको सूचना त्रिविले शनिबारका दैनिक पत्रिकामा प्रकाशन गर्दैछ । फारम भर्नका लागि एक महिनाको अवधि हुनेछ ।

त्रिविले स्नातकोत्तर तहको पढाइ सेमेस्टर प्रणालीअनुसार मात्र गर्ने भन्दै प्राइभेट परीक्षा बन्द गर्ने तयारी गरेको थियो । तर, विद्यार्थी संगठनहरुले भइरहेको कार्यक्रम बन्द गर्न नपाइने भन्दै विरोध जनाएपछि अन्तिम पटक भन्दै वार्षिक प्रणालीअनुसार नै फारम खोलिएको हो ।

त्रिविमा वर्षेनी करिब ५ हजार जनाले प्राइभेट परीक्षामार्फत स्नातकोत्तर तहको पढाइमा सामेल हुँदै आएका छन् । प्राइभेट परीक्षा बन्द गर्दा धेरै विद्यार्थी प्रभावित हुने देखिएकाले बन्द नगर्न दबाब दिएको अनेरास्ववियु त्रिवि क्याम्पस कमिटी अध्यक्ष मदन विष्टले बताए ।

त्रिविले आगामी वर्षदेखि स्नातकोत्तर तहको कक्षामा नियमित उपस्थित हुन नपाउनेका लागि दूरशिक्षामार्फत पढाइ सञ्चालन गर्ने बताएको छ ।

उपकुलपति डा. तीर्थ खनियाँले यसवर्ष दूरशिक्षामार्फत कक्षा सञ्चालन गर्न नसकिएकाले वार्षिक प्रणालीअनुसार नै प्राइभेट परीक्षा फारम खुला गरेको बताए । ‘आउँदो वर्षदेखि हामी डिस्ट्यान्स लर्निङ सुरु गर्छौं, अहिले विकल्प दिन नसकेकाले वार्षिक प्रणालीअनुसार नै प्राइभेट परीक्षा सञ्चालन गर्न लागेका हौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment