Comments Add Comment

केराबारीमा कांग्रेस एमालेलाई पत्रकार र विवेकशीलको चुनौती

१९ जेठ, मोरङ । मोरङको केराबारी गाउँपालिका जिल्लाको दुर्गम ठाउँमा पर्छ । तर, यहाँको चुनावलाई विवेकशील नेपालीले निकै रोचक बनाइदिएको छ । काठमाडौंमा रञ्जु दर्शनालाई चुनावमा उठाएर चर्चा कमाएको विवेकशील नेपालीले केराबारी-९ नम्बरको वडाध्यक्षमा २९ वर्षीया सरस्वती आचार्यलाई उम्मेदवार घोषणा गरेपछि गाउँको चुनाब रमाइलो हुने संकेत देखिएको छ ।

केराबारी गाउँपालिकाको यही वडाको वडाध्यक्ष पदमा पूर्वाञ्चलको चर्चित दैनिक पत्रिका ब्लाष्ट टाइम्समा कार्यरत युवा पत्रकार भक्तशेर लिम्बुले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् । युवापुस्ताबाट चुनावमा उठेका आचार्य र लिम्बू दुबै कांग्रेस र एमालेका पुराना नेताहरुका लागि चुनौती बनेका छन् ।

मोरङ जिल्लाको निर्वाचन क्षेत्र नं ८ मा पर्ने केराबारी गाउँपालिकाको यो वडामा सबैभन्दा बढी २७८८ मतदाता छन् । विगतमा यो वडाका बासिन्दाले बेलबारी नगरपालिकामा मिसिने प्रयास गरे पनि अन्ततः सफल भएनन् ।

को हुन् सरस्वती ?

विवेकशील नेपालीमा गत वर्षदेखि आवद्ध रहेकी वडाध्यक्षकी उम्मेदवार सरस्वती आचार्य ओरेक नेपाल नामक एनजीओमा काम गरेकी सामाजिक अभियन्ता हुन् । उनी बिराजेस्थित प्राथममिक तहको विद्यालयमा पढाउँथिन् । तर, उम्मेदवार हुनुअघि उनले जागिर छाडेकी छिन् ।

केराबारी-९ स्थित घंगरुको रामवीर स्कुलनजिकै घर रहेकी सरस्वतीले आफ्नो उम्मदेवारीलाई ‘परिवर्तनका लागि दिएको उम्मेदवारी’ भनेकी छिन् । साथै आफूले गाउँबाट भ्रष्टाचारको जरो उखेलेर फाल्ने उनले बताइन् ।

त्यसैगरी महिलामाथिको विभेद एवं घरेलु हिंसाको विरुद्ध पनि आफूले उम्मदेवारी दिएको बताउँदै आचार्यले गाउँमा महिला हिंसाको अन्त्य गर्ने बताइन् । अब बूढा नेताहरुले होइन, युवाहरुले नै केही गर्न सक्छन् भन्ने सन्देश दिनका लागि पनि आफूले उम्मेदवारी दिएको सरस्वतीले अनलाइनखबरलाई बताइन् ।

गाउँको विकास कसरी गर्न सकिन्छ भन्नेबारे आफूले सकारात्मक सोचका साथ योजनाहरु ल्याउने विवेकशीलकी सरस्वतीले बताइन् ।
घंगरु र भलुवामा विवेकशीलको संगठन रहेको सरस्वतीले बताइन् ।

विवेकशीलले केराबारी-९ मा विषेश गरी नेपाली कांग्रेस र एमालेको भोट काट्ने अनुमान गरिएको छ । किनभने एमाले र कांग्रेसको भोट बैंक रहेकै ठाउँमा विवेकशीलको प्रभाव छ ।

युवा पत्रकारको उम्मेदवारी

करिब एक दशकदेखि बेलबारी र केराबारी एरियामा रहेर पत्रकारिता गर्दै आएका युवा पत्रकार भक्तशेर लिम्बुले सरस्वती आचार्य भन्दा पहिल्यै वडाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेर प्रचार अभियान तीब्र बनाएका छन् ।

पत्रकार लिम्बु माओवादीको हँसिया हथौडा चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका छन् । सरस्वतीले भने चुनाव चिन्ह पाउन बाँकी नै छ ।
विद्यालयमा अध्ययन गर्दादेखि नै कविता संग्रह निकालेका लिम्बु लेखक र पत्रकारका अतिरिक्त फुटबल खेलाडीसमेत हुन् । स्थानीय युवाहरु माझ उनी लोकप्रिय छन् । दुई वर्षसम्म केराबारीको देवीझोडामा उनकै टीमले पूर्वाञ्चल स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेको थियो, जसले गर्दा युवामाझ उनको राम्रो प्रभाव छ ।

गाउँको कुसुमेगौडामा युवा पत्रकार लिम्बुको पहलमा विद्यालय स्थापना भएको छ । गाउँको विकासमा व्यवहारतः सक्रिय रहेका कारण लिम्बू बलिया एवं उर्जाशील युवा उम्मेदवार हुन् । केराबारी ९ माओवादीको बढी प्रभाव रहेको वडाका रुपमा चिनिन्छ ।

आफ्नो उम्मदेवारी माओवादीको चुनाव चिन्हबाट भए पनि समग्र गाउँको विकासको एजेण्डा लिएर निर्वाचनमा होमिएको लिम्बुले अनलाइनखबरलाई बताए ।

पत्रकार लिम्बुले कसैलाई गाली गलौच गर्ने भन्दा पनि केराबारी ९ नम्बर वडाको ५ वर्षे भिजनसहितको घोषणापत्र बनाएर चुनावमा जान लागेको बताए । अहिले घोषणापत्र लेख्ने काम भइरहेको उनले जानकारी दिए । उनले बेलचौरीलाई वडा नं ९ को प्रशानिक केन्द्र बनाउने घोषणा गरेका छन् ।

आफ्नो घोषणापत्रमा वडा कार्यालय स्थापनाका साथै पाँचवर्षभित्र बाटो र नदी कटानको समस्या पूर्णरुपमा समाधान गर्ने योजना समावेश गरिएको लिम्बुले बताए । साथै गाउँलाई भ्रष्टाचारमुक्त बनाउने र सरकारी विद्यालयहरुको गुणस्तर सुधार्ने लिम्बुले योजना सुनाए ।

केराबारी- ९ निवासी पूर्वगाविस उपाध्यक्ष एवं एमाले नेता स्व. खेमराज सुवेदीको अर्धकदको शालिक वडा कार्यालयको प्राङगणमा स्थापना गरिने पत्रकार लिम्बुले घोषणा गरेका छन् ।

केराबारी ९ नम्बर वडामा अहिलेसम्म नेपाली कांग्रेस र नेकपा एमालेले उम्मदेवारी घोषणा गरिसकेका छैनन् ।

मुख्य भनिएका दुईवटा पार्टीले उम्मदेवारको औपचारिक घोषणा नगर्दै युवा उम्मदेवारहरु मैदानमा उत्रिइसकेका छन्, जसले गर्दा एमाले कांग्रेसलाई चुनौतीजस्तै बन्न पुगेको छ ।

साथै युवा उम्मेदवारहरुले गालीगलौच र व्यक्तिगत विषयलाई भन्दा भिजन र एजेण्डालाई प्राथमिकता दिएका कारण केराबारी ९ को निर्वाचन एजेण्डा केन्द्रित बन्ने सकारात्मक लक्षण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment