Comments Add Comment

निगमलाई भाडामा जहाज दिन पत्याएनन् कसैले

३ पटकसम्म विज्ञापन निकाल्दा पनि आवेदन परेन

२२ जेठ,  काठमाडौं । नेपाल वायु सेवा निगमले भाडामा जहाज माग्दै टेन्डर खोलेको झण्डै डेढ महिना बित्न लाग्यो । तर, अहिलेसम्म कसैले पनि यसमा आवेदन दिएका छैनन् ।

सुरुवातमा वैशाख २५ गतेसम्मको म्याद राखेर निगमले सूचना प्रकाशित गरेको थियो । त्यसमा कसैको पनि आवेदन नपरेपछि अहिलेसम्म तीन पटकसम्म सूचना निकालिएको छ । जुन १ मा निकालिएको तेस्रो सूचनाको म्याद अब तीन दिन बाँकी छ ।

सञ्चालनमा रहेको बोइङलाई हेभी मर्मत गर्नुपर्ने भएपछि निगमलाई भाडामा जहाज चाहिएको हो । भाडामा लिएको जहाज क्वालालाम्पुर, दोहा, दिल्ली, बैंगलोर जस्ता गन्तव्यमा उडाउने निगमको योजना छ ।

किन परेन आवेदन ?
निगमले ४५ दिनदेखि २ महिनासम्मका लागि मात्रै भाडामा जहाज खोजेको हो । एकदमै छोटो अवधिका लागि मागिएकाले आवेदन नपरेको निगमका अधिकारीहरुको भनाई छ ।

निगमका सहायक प्रवक्ता शैलेश कंसाकार भन्छन्, ‘छोटो अवधि भएकाले कम्पनीहरुको आकर्षण नभएको जस्तो देखिएको छ, तर आवेदन पर्छ भन्नेमा अझै आशाबादी छौ ।’

निगमका अधिकारीहरुबीच केहि दिनअघि म्याद लम्ब्याएर टेण्डर आह्वान गर्ने कि भनेर छलफल भएको थियो । तर यसले अहिले आवेदन दिनसक्ने म्याद मात्रै थपेर सुचना निकालेको छ ।

निगमले भाडामा जहाज भेटेन भने दैनिक उडान अवरुद्ध हुने छ । निगमसँग अहिले थोरै मात्र अन्तर्राष्ट्रिय उडान भर्ने बिमान रहेका छन् ।

एक बोइङ लिलामीमा र अर्काे मर्मतमा

निगमसँग अहिले दुईवटा बोइङ छन् । तीमध्ये बि ७५७–२०० पुरानो भएर लिलामीमा राखिएको छ भने बि ७५७–२०० एम मर्मतको लागि एक महिनासम्म सिंगापुरको एसटी एरोस्पेस टेक्नोलोजीमा बस्नेछ ।

सन् २०१५ को सुरुवातसम्म नेपाल एयरलाइन्ससँग दुईवटा बोइङ थिए । सोही वर्षको फेब्रुअरी र अप्रिलमा दुईवटा ए ३२० एयरबस थप गरेपछि नेपाल एयरलाइन्ससँग ४ वटा विमान भए । तर, केही समयपछि बि ७५७–२०० बोइङ भने लिलामका लागि राखिएको थियो ।

सन् २०१५ मा थपेका एयरबसका कारण अहिले निगमको बजारहिस्सा बढ्दै गएको छ । त्रिभुवन बिमानस्थलका अनुुसार सन् २०१५ को तुलनामा सन् २०१६ मा यसको उडानमा सुधार आएको छ ।

बिमान बढेसँगै फ्लाइट क्यान्सिल कम भएका छन् जसका कारण यसमा यात्रुको आकर्षण बढेको छ । त्यही साख कायम राख्न भए पनि निगमले भाडामा जहाज खोजेर भए पनि उडान नियमित गर्नुपर्ने बाध्यता छ ।

जहाज डेढ /डेढ वर्षमा हेभी मर्मत गर्नुपर्ने हुन्छ । साधारण मर्मतहरु भने बेलाबेलामा चलि नै रहन्छन् ।

कस्तो जहाज खोज्दैछ निगम ? 
निगमले सुरुमा एयरबसको ३२० सिरिज खोजेको थियो । तर अहिले भने यसले ३१९, ३२० वा ३ सय २१ जुनसुकै भए पनि हुने जनाएको छ । भाडामा लिने जहाज जुनसुकै रङको पनि हुन सक्नेछ । तर यो जहाज १५ वर्षभन्दा पुरानो भने हुनु हुँदैन ।

निगमले यो जहाज बैंगलोर, दिल्ली र क्वालालाम्पुर हप्तामा तीन/तीनपटक उडान भराउने योजना बनाएको छ । साथै दोहा भने हप्ताको चारपटक उडाउने निगमको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment