Comments Add Comment

बिराटनगरको चुनावः ‘हेबीवेट’ उम्मेदवार र तालमेलको चलखेल

कांग्रेस-एमालेसँग मिलेर उपमेयर जित्ने दाउमा माओवादी र मधेसवादी

२८ जेठ, बिराटनगर । बिराटनगर महानगरपालिकाको चुनाव कसले जित्ला ? प्रचण्ड गर्मीमा बिराटनगरको चुनावी चर्चाले आम मान्छेलाई समेत तताएको छ ।

कांग्रेस र मधेसवादी दलले उम्मेदवार नतोक्दै चुनावी तालमेलको चर्चा पनि शुरु भएको छ ।

एमालेले पार्टीका जिल्ला अध्यक्ष विनोद ढकाललाई मेयरमा उठाउने निर्णय गरेसँगै बिराटनगरको चुनावी माहौल अरु तातेको छ । एमालेले मेयरमा उम्मेदवार तोके पनि उपमेयर खाली राख्नुले तालमेलको सम्भावना खुला गरेको छ ।

कांग्रेसले सांसद अमृत अर्याललाई मेयरको टिकट दिने चर्चाले बिराटनगर महानगरको राजनीति थप गर्माएको छ ।

प्रदेश नम्वर १ को सम्भावित राजधानीका रुपमा अघि सारिएको बिराटनगरमा ०५४ सालको स्थानीय निर्वाचनमा कांग्रेसभित्रको अन्तरकलहबाट फाइदा उठाउँदै एमालेले चुनाव जितेको थियो ।

नेपाली कांग्रेस विगतको इतिहासलाइै तोड्दै आफनो जित सुनिश्चित गरी नया रेकर्ड कायम गर्ने दाउमा छ भने विराटनगरमा फेरि पनि एमालेलाई आˆनो साख जोगाउने चिन्ता छ ।

एमाले र कांग्रेसभित्रको प्रतिष्ठाको लडाइँ बन्न सक्ने विराटनगरमा माओवादी केन्द्र भने तालमेलको प्रयासमा लागेको छ । माओवादीले उपमेयर उम्मेदवार नमिता न्यौपानेलाई जसरी पनि जिताउन तालमेलको नीति अपनाएको हो ।

उम्मेदवारको दौडको रस्साकस्सी

बिराटनगर महानगरपालिका घोषणा भएलगतै विराटनगरको मेयरमा ‘हेबी वेट’का उम्मेदवारको चर्चा शुरु भएको छ । केही दिन यतावाट कांग्रेस सांसद अमृत अर्यालको नाम मेयरको उम्मेदवार रुपमा चर्चामा आएको छ ।

एमालेले पनि जिल्ला अध्यक्ष विनोद ढकाललाई नै मेयरमा उठाएपछि कांग्रेसले अमृत अर्याल उठाएमा उनी ढकालभन्दा प्रभावशाली उम्मेदवार हुनेछन् । अर्याल मोरङको क्षेत्र नं ५ प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

कांग्रेसको युवा जमात नगर सभापति भीम पराजुलीको पक्षमा छ । त्यसो त महिला संघकी केन्द्रीय अध्यक्ष डिला संग्रौलाले पनि आफू मेयर उम्मेदवार बन्नका लागि सभापति शेरबहादुर देउवालाई दबावमा पारेकी छन् । ०५४ मा जस्तै कांग्रेसभित्र अहिले पनि अन्तर्घातको डर छ । यस्तो भएमा एमालेको पक्षमा नतिजा जान सक्छ ।

कांग्रेसमा अन्तरघात हुने स्थिति आयो र एमालेले कुनै दलसँग तालमेल गरेमा कांग्रेस थप संकटमा पर्न सक्छ । उता माओवादीले मेयरमा उठाएका भोगेन्द्र यादवलाई अर्को दलसँग तालमेल हुनासाथ ‘ब्याक’ गर्ने योजना रहेको बुझिएको छ ।

माओवादीले तालमेलका लागि संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम लगायतका दलसँग छलफल चलाएको छ । एमालेले पनि फोरम लोकतान्त्रिकसँग तालमेल हुन सक्ने संकेत गरेको छ । माओवादी र कांग्रेसवीचमै तालमेल हुन सक्ने पनि धेरैले अनुमान गरेका छन् ।

बिराटनगर महानगरपालिकामा संघीय समाजवादी फोरमको मत निर्णायक छ । फोरमबाट मेयरका लागि जयराम यादव, भूराज राई र सञ्जय सिंह दाबेदार छन् । यादव फोरमका जिल्ला अध्यक्ष हुन् भने राई बिराटनगरमा एमालेबाट उपमेयरमा निर्वाचित भएका र हाल एमाले छाडेर फोरममा लागेका नेता हुन् ।

त्यसैगरी फोरम लोकतान्त्रिकका तर्फवाट पर्यटन व्यवसायी भविष श्रेष्ठ, जिल्ला उपाध्यक्ष सविर महमद र पंकज शर्माको नाम चर्चामा छ । राजपाका उम्मेदवार चर्चामै छैनन् ।

राप्रपाको तर्फवाट मेयरमा पञ्चायतकालका पूर्वमेयर समेत रहेका प्रल्लाद शाहलाई अघि सारिएको छ । पछिल्लो समय विवेकशील र साझा पार्टीले पनि बिराटनगरमा उम्मेदवार अघि सार्ने तयारी गरेका छन् ।

तालमेलको खेल

बिराटनगर महानगरपालिकाको चुनावमा प्रायः सबै दल तालमेलको मनस्थितिमा देखिएका छन् । ठूला दलहरु साना दललाई उपमेयर दिएर आफ्नो पक्षमा तान्ने दाउमा छन् ।

माओवादी, फोरम लगायतका दलहरु पनि जोसँग तालमेल गर्दा उपमेयर सुरक्षित हुन्छ, त्यसैसँग मिल्ने गरी रणनीति बनाउँदैछन् ।

बिराटनगर महानगरमा ५, ६ र ७ नम्बर निर्वाचन क्षेत्र पर्छन् । यी तीनवटै क्षेत्रबाट कांग्रेसका अमृत अर्याल, महेश आचार्य र डा. शेखर कोइरालाले जितेका छन् ।

कांग्रेसले अहिलेसम्म एकलरुपमा नै आफू चुनाबमा जाने रणनीति बनाएको छ । यद्यपि केन्दि्रय तहमा भएको सहमति अनुरुप तालमेल हुँदा माओवादी केन्द्रसँग मिल्ने सम्भावना रहेको कांग्रेस नेताहरु बताउँछन् । कांग्रेसले फोरम लोकतान्त्रिकसँग पनि तालमेलको हात बढाउन सक्छ ।

एमालेले पहिलो चरणको निर्वाचन परिणाम र केपी ओली सरकारले गरेका कामको प्रचार गरेर विशेषतः बिराटनगरका पहाडे समुदाय र मारवाडी समुदायमा ध्यान केन्द्रित गरेको छ ।

एमाले फोरम लोकतान्त्रिकदेखि अन्य राजनीतिक शक्तिसँग तालमेल गर्नेसम्मको रणनीति बनाएको छ । मेयर उम्मेदवार समेत रहेका एमाले अध्यक्ष विनोद ढकालले जिल्ला तहमा अहिलेको अवस्थामा कुनै पार्टीसँग चुनावी तालमेलका लागि छलफल नभएको बताए ।

यद्यपि उनले कांग्रेस बाहेकका अन्य शक्तिसँग स्थानीय तहको चुनावमा तालमेल गरेर अघि वढन सकिने सम्भावना भने जिवित रहेको बताए ।

माओवादी केन्द्रका मोरङ अध्यक्ष गोपी अछामीले कांग्रेससँग चुनावी तालमेल हुन सक्ने संकेत गरे ।

बिराटनगरको निर्वाचनमा मधेसवादी दलहरु महत्वपूर्ण शक्ति हुन् । विराटनगरको दक्षिण क्षेत्रमा उनीहरुको राम्रो प्रभाव छ । संघीय समाजवादी फोरम बिराटनगरमा बलियो देखिन्छ । संघीय समाजवादीका जिल्ला अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको चुनावमा जिल्लाका सबै तहका निकायमा अन्य दलहरुसँग चुनावी तालमेत गरी अघि बढ्ने योजना रहेको बताएका छन् ।

उनले विषेश गरी चुनावमा सहभागी हुन आएका खण्डमा रापजासँगको तालमेत गर्ने योजना सुनाए । उनले फोरम लोकतान्त्रिक र माओवादीसँग पनि तालमेलको सम्भावना रहेको बताए ।

बिराटनगरमा विजय गच्छदारको पार्टी फोरम लोकतान्त्रिकको पनि राम्रो प्रभाव छ । फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष भक्ति माझीले संघीयता पक्षधर शक्तिवीच तालमेलका लागि कुराकानी भइरहेको बताए । उनले कांग्रेस र राप्रपा बाहेक एमाले वा मधेसवादीसँग तालमेल हुन सक्ने बताए ।

सबै मधेसवादी दल मिलेर चुनाव लडे भने ठूला पार्टीलाई बिराटनगरमा कडा चुनौती दिनेछन् । तर, यो सम्भावना कमै देखिएको छ । मधेसवादी दलहरु नै ठूला पार्टीसँग तालमेलको रणनीतिमा देखिन्छन् ।

मतदाताको अवस्था

करिब ८० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बिराटनगरको कुल जनसंख्या २ लाख १४ हजार ६ सय ६३ छ । निर्वाचन कार्यालयमा ३५ वटा दल दर्ता भएका छन् ।

कुल ११९ वटा मतदान केन्द्र रहेको बिराटनगर महानगरपालिकामा १ लाख ४० हजार ८ सय ३२ मतदाता छन् । ७५ प्रतिशत मत खसेमा करिब ८० हजार मतले निर्वाचनको फैसला गर्नेछ ।

विराटनगरमा महानगरपालिकामा १९ वटा वडा छन् । मधेस आन्दोलनपछि बिराटनगरमा पहाडे समुदायको आगमनमा कमी आए पनि सप्तरी र सिराहा लगायतका जिल्लाहरुबाट मधेसी समुदायको बसाइँ सराइ हृवात्तै बढेको छ ।

जनसंख्याको अवस्था

जातीय जनसंख्याका आधारमा विश्लेषण गर्दा बिराटनगरमा पहाडे क्षेत्री बाहुनहरु करिब ५० हजारको हाराहारीमा छन् । अहिलेसम्म बिराटनगरको मेयर पहाडे बाहुनले नै जित्दै आएको अवस्था छ ।

यी सबै तथ्यांकका आधारमा बिराटनगरको राजनीतिमा अझै पनि पहाडे बाहुन क्षेत्रीय समुदायकै क्लष्टर निकै बलियो मानिँदै आएको छ । पहाडे क्षेत्री बाहुनको संख्या बिराटनगरमा करिब ५० हजार छ भने बाहुन एक्लैको संख्या ३९ हजार भन्दा बढी छ ।

बिराटनगरमा पहाडे जनजातिहरु, लिम्बु, गुरुङ, तामाङ, राई लगायतको बसोबास निकै थोरै छ । उनीहरु सबैको संख्या जोड्दा लगभग ७/८ हजारको हाराहारीमा पुग्छ ।

पछिल्लो जनगणनाको तथ्यांकलाई आधार मान्दा बिराटनगरमा मुस्लिम समुदाय १७ हजार छन् । यो समुदायले आगामी चुनावमा निकै ठूलो भूमिका खेल्न सक्छ ।

त्यस्तै ९ हजार हाराहारीमा रहेका यादवहरुको संख्यामा मधेसी समुदायका तेली, धानुक, केवट, मल्लाह लगायतको संख्या थप्दा करिब ३१ हजारभन्दा बढी हुन आउँछन् । यो संख्या बिराटनगरका रहेका पहाडे बाहुनहरुको संख्याको लगभग करिब रहेको मान्न सकिन्छ ।

बिराटनगरमा थारु र राजबंशी जातिको संख्या करिब ९ हजार रहेको छ । त्यस्तै नेवारहरु लगभग १० हजारको संख्यामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment