Comments Add Comment

पोल गाडेको पाँच वर्षमा दुर्गममा बिजुली बल्यो

३१ जेठ, रामपुर (पाल्पा) । बिजुलीको पोल गाडेको पाँच वर्षमा बिजुली बत्ती बलेपछि दुर्गमका स्थानीयवासीमा खुसियाली छाएको छ । रामपुर नगरपालिकाको दुर्गम र अति विकट क्षेत्र वडा नं ३ र ४ का विभिन्न स्थानमा बिजुली बत्ती विस्तार गरिएको छ ।

नगरपालिकाको केन्द्रबाट झन्डै तीन घन्टाको पैदलमा पुगिने विकट क्षेत्र गैलुक, लामटाङ र लाँकुरीमा बिजुली बत्ती बलेपछि गाउँ नै यतिबेला उज्यालोमय बनेको छ । वर्षाैंदेखि टुकी बालेर जीवन गुजारा चलाएका यहाँका स्थानीय बासिन्दालाई टुकी र लालटिन बाल्ने झन्झट सदाका लागि अन्त्य भएको छ ।

मोबाइल, लाइट चार्ज गर्नका लागि दैनिक दुई÷तीन घन्टाको पैदल हिँडेर अन्यत्र गाउँमा गएर जीवन चलाउँदै आएका यहाँका स्थानीय बासिन्दा यतिबेला खुसियालीमा छन् ।

साबिक दर्छा गाविसको  पाँच लाख सहयोग, जिविस पाल्पाको ११ लाख, विद्युत् प्राधिकरण केन्द्रबाट  १३ लाख, स्थानीय उपभोक्ताबाट उठाइएको  १० लाख ५० हजार र स्थानीयवासीको जनश्रमदानबाट नौ लाख ५५ हजार ५०० गरी जम्मा  ४९ लाख पाँच हजार ५०० को लागतमा विद्युत् विस्तार गर्न सफल भएको विद्युत् विस्तार समितिका लागि सचिव रुद्र नेपाली बताउँछन् ।

विद्युतीकरणबाट यस क्षेत्रका १८२ घरधुरीका स्थानीय बासिन्दा लाभान्वित भएका छन् । यहाँ बिजुली बलेपछि बत्ती बाल्न, खाना पकाउन, मोबाइल, लाइट चार्ज गर्न, टिभी हेर्न, रेडियो बजाउने सेवासुविधा उपभोग गर्न पाएपछि गाउँ नै परिवर्तन भएको ५३ वर्षीय सीता ज्ञवाली बताउँछिन् । गाउँमा बिजुलीको पोल गाड्न थालेको लामो समय भएपनि सुविधा उपभोग गर्न पाइएकामा निकै खुसी लागेको उनले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment