३१ जेठ, काठमाडौं । सल्लाहकार समूहले नेपाल क्रिकेट संघको प्रस्तावित विधान अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा पठाएको छ । तर, जिल्लाको मताधिकारसहितका विषयमा अशोकनाथ प्याकुरेल समूहको फरक मत छ ।
नेपाल सल्लाहकार समूहले केही दिन अघि आईसीसीमा विधान पठाएको सदस्यहरुले बताएका छन् ।
प्रस्तावित विधान अनुसार केन्द्रमा चार पदाधिकारीसहित १७ सदस्यीय कार्यसमिति हुनेछ । अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषध्यक्ष रहेनछन् । जसमध्ये अध्यक्ष र सचिवका लागि स्नातक पास भएको हुनु पर्ने सर्त राखिएको छ ।
प्रदेश र जिल्लामा क्रमशः १५ र १३ सदस्यीय कार्यसमिति गठन गर्ने प्रस्ताव गरिएको छ । सदस्यता वितरणको सम्पूर्ण अधिकार जिल्लालाई दिइएको छ ।
के मा मिलेन विवाद ?
सल्लाहकार समूहमा प्रमुख दुई विषयमा अशोकनाथ समूह र अन्य ५ जनाको फरक फरक मत छ ।
संयोजक विनयराज पाण्डे लगायतले केन्द्रीय साधारणसभामा दुई जिल्ला बराबर एक मत मानेर प्रदेशमार्फत प्रतिनिधि आउने व्यवस्था प्रस्ताव गरेका छन् । तर, अशोकनाथ समूहले जिल्लागत प्रतिनिधित्व नै हुनु पर्ने मत राखेका छन् ।
तत्कालीन क्रिकेट एशोसिएनको विधानमा भने ३८ जिल्लाबाट एक-एक जना र प्रत्येक क्षेत्रबाट २-२ जना प्रतिनिधि सधारणसभामा आउने व्यवस्था थियो ।
अर्को विवाद निर्वाचित क्यानको मताधिकारबारे छ । सल्लाहकार समूहले बनाएको विधानको मस्यौदामा आईसीसीले सहमति जनाएपछि तत्कालीन क्यानको साधारणसभाले अनुमोदन गर्नुपर्छ र राखेपले सहमति दिएपछि लागू हुनेछ ।
त्यसपछि जिल्ला र प्रदेशको अधिवेशन हुनेछ । केन्द्रको अधिवेशनमा जिल्ला र प्रदेशबाट आउने प्रतिनिधि मात्र सहभागी हुनु पर्ने पाण्डेसहित ५ सदस्यको मत छ ।
तर, अशोकनाथ समूहले भने आफूहरुको निर्वाचित क्यानको टिम पनि सहभागी हुनु पर्ने मत राखेका छन् । ‘आईसीसीले निलम्बन गरेको निर्वाचन क्यानलाई कसरी मताधिकार दिन सकिन्छ । यो मान्य छैन’ पाण्डे समूहको मत छ ।
अर्को पत्र लेख्दै अशोकनाथ समूह
विधानमा आफूहरुले राखेको फरक मतको थप ब्याख्या गर्दै चतुरबहादुर चन्द र अशोकनाथ प्याकुरेलले आईसीसीलाई छिट्टै पत्र लेख्ने तयारी गरेका छन् । ‘हामीले राखेको फरक मत किन भनेर पत्र लेख्न लागिएको हो’ एक सदस्यले भने ।
प्रतिक्रिया 4