Comments Add Comment

अनुसन्धानका असइले उम्मेदवारलाई ज्यान मार्ने धम्की दिएः माओवादी

कांग्रेसको चुनाव प्रचारमा हिंडेका अनुसन्धान विभागका लालबीर खड्का रातो घेरामा ।

३१ जेठ, घोराही । नेकपा माओवादी केन्द्र राजपुर गाउँपालिका ७ का वडा अध्यक्षका उम्मेदवार भीम ओलीमाथि मंगलवार राति आक्रमण प्रयास भएको सो पार्टीले जनाएको छ ।

कांग्रेस वडाअध्यक्षका उम्मेदवारका छोरा समेत रहेका राष्ट्रिय अनुसन्धान विभागका असइ लालबीर खड्काले मध्यरातमा एक समूह पठाएर आक्रमण प्रयास गरेको र आक्रमण गर्न नभ्याएपछि फोनमार्फत बारम्बार ज्यान मार्ने धम्की दिएको माओवादी राजपुर चुनाव परिचालन समिति संयोजक लीला शर्मा ‘अस्मिता’ले जानकारी दिइन् ।

शर्माले बुधवार प्रेस विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गरेकी छन् । ‘राष्ट्रसेवक कर्मचारी रहेका अनुसन्धानका असइ खड्का खुलेआम चुनावी प्रचारमा लागिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘खड्काले चुनाव प्रचार गरेको तस्विर र भिडियोसमेत सञ्चारमाध्यममार्फत प्रकाशित भएपछि उनले हाम्रा उम्मेदवारमाथि आक्रमण प्रयास गरेका छन् ।’

राति नै जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएर घटना हुनबाट रोकिए पनि त्यसपछि बारम्बार खड्काले धम्की दिइरहेको भन्दै सरकारी कर्मचारी भएर पनि एउटा पार्टीको प्रचारमा हिँड्ने र उल्टै उम्मेदवारमाथि ज्यानमार्ने धम्की दिने खड्कालाई तत्काल कारवाही गर्न विज्ञप्तिमार्फत् आग्रह गरिएको छ ।

केही समययता नाका क्षेत्रमा कांग्रेसका उम्मेदवारहरुले चुनावी प्रचारका टिसर्टभित्र पैसा राखेर बाँड्ने, मत प्रभावित पार्न ठूला भोजभतेर चलाउने काम गरिरहेको दावी गर्दै विज्ञप्तिमा यस्ता निर्वाचन आचारसंहिता र गैरराजनीतिक क्रियाकलाप रोक्न माओवादीले प्रहरी प्रशासनसँग माग गरेको छ ।

‘हामी निकै संयमितरुपमा प्रस्तुत हुँदै आएका छौं र हरेक कार्यक्रम प्रहरी प्रशासनलाई जानकारी गराएर गर्ने गरेका छौं र हामीबिरुद्ध हुने हरेक घटनाको सूचना प्रहरीलाई दिइरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यति गर्दागर्दै पनि हाम्रा उम्मेदवार, नेता कार्यकर्ता र मतदाताको सुरक्षा हुन नसके हामीमाथि आइलाग्नेविरुद्ध जाइलाग्न पनि तयार छौं, आशा छ प्रहरी प्रशासनले त्यसप्रकारको अवस्था आउने दिने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment