Comments Add Comment

चितवनमा स्वास्थ्य बीमा कार्यक्रम शुरु

१, असार, चितवन । चितवनमा बिहीबारबाट स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ ।

जिल्लाका ३ जना सांसद कृष्णभक्त पोखरेल, रामकृष्ण घिमिरे र बिष्णुमाया परियारले २५/२५ सय रकम बुझाएर स्वास्थ्य बीमा कार्यक्रमका शुरु गरेका हुन् ।

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न जिल्लामा १३५ जना दर्ता सहयोगीहरुलाई तालिम दिई छनौट गरिएको कार्यक्रमका फोकल ब्यक्ति अनुप अधिकारीले जानकारी दिए ।

स्वास्थ्य चौंकी र व्यवस्थापन समितिहरुले सिफारिस गरेर पठाएका ब्यक्तिहरुको अन्तरवार्ताका माध्यमबाट छनौट गरी दर्ता सहयोगीहरुलाई तालिम र सोही अनुसारको सफ्टवेयर दिइएको अधिकारीले बताए ।

दर्ता सहयोगीहरुले प्रत्येक घर घरमा पुगेर फोटो खिचाएर परिवारका प्रत्येक सदस्यहरुलाई एक एक वटा बीमा कार्ड वितरण गर्ने छन् ।

१ हजार घरधुरीको डाटा इसन्ट्र गर्न १ जना दर्ता सहयोगी खटाइएको छ । चितवन जिल्लामा ५ लाख ६६ हजार जनसंख्या रहेको छ ।

प्रत्येक घरबाट नै रसिद लिई ५ जनाको परिवारका सदस्यबाट २ हजार ५ सय र त्यसभन्दा माथि १० जना सदस्यसम्मको परीवारका लागि प्रत्येक सदस्य ४२५ का दरले रकम बढी लाग्ने छ ।

अधिकत्तम बीमा १ लाखको हुने छ । ५ जनाका परिवारका सदस्यको २ हजार ५ सय रकम बुझाउँदा वर्षको ५० हजार वरावरको उपचार पाइने छ ।

चितवनमा गत चैत्रबाट नै यस कार्यक्रम लागु गर्ने भनिएपनि विभिन्न कठिनाइहरुका कारण ढिलाई भएको हो ।
बीमा गरेका प्रत्येक सदस्यहरुले प्राथमिक उपचार गराउने केन्द्र, जिल्लाका अस्पताल र केन्द्रका अस्पताल कुन कुनमा उपचार गराउने हो त्यस सम्बन्धी विवरण पनि भरिने छ ।

चितवनमा प्रत्येक परिवारले नजिकको स्वास्थ्य चौंकीलाई प्राथमिक उपचार केन्द्रका रुपमा भर्नुपर्ने छ भने, त्यसपछि भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, क्यान्सर अस्पताल, भरतपुर आँखा अस्पतालबाट उपचार सेवा लिन पाउने छन् ।

त्यसभन्दा माथि सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागु गरेका काठमाडौंका अस्पतालबाट पनि सेवा लिन सकिने छ ।

एक वर्षसम्म बीमा गरेको परिवारको सदस्यलाई ५० हजारसम्मको स्वास्थ्य सेवा (उपचार, निदान र औषधि) प्रदान गरिने छ ।

कहिलेबाट पाइन्छ सेवा ?

प्रत्येक वर्ष बीमा हरेक परिवारले ५ जना सदस्य बरावर लाग्ने २ हजार ५ सय रकम बुझाउनुपर्ने छ ।

१ वर्षभर परिवारका कोही पनि सदस्य बिरामी भएनन् भने पूरा शरीर परीक्षण पनि गर्न पाइन्छ ।

साउन भदौ र असोज महिना बीमा रकम बुझाउने ब्यक्तिले मंसिर महिनाबाट उपचार पाउन शुरु गर्दछ ।

यस्तै कात्तिक, मंसिर र पौष महिनामा बीमा रकम बुझाउनेले फाल्गुण महिना, माघ, फाल्गुण र चैंत्र महिनामा बीमा रकम बुझाउनेले जेठ महिना र बैशाख, जेठ, असार महिनामा रकम बुझाउनेले भदौ महिनाबाट अर्को बर्षको साउनसम्म उपचार गर्न पाँउछ ।

उपचार गर्दा रकम कति खर्च भयो भनेर सम्वन्धित अस्पतालबाट हेर्न मिल्ने व्यवस्था गरिएको छ । बीमा रकम सकिन १० प्रतिशत बाँकी भएपछि मोवाइलमा म्यासेज पठाउने व्यवस्था गरिएको राष्ट्रिय स्वास्थ्य बीमा समिति चितवनकी बीमा प्रवन्धक सिर्जना पौडेेले जानकारी दिइन् ।
बीमा सम्झौता गरेका अस्पताल वा स्वास्थ्य केन्द्रहरुले आफू खुसी बिरामीको पैसा काट्न नपाउने व्यवस्था गरिएको छ ।

कुनकुन सेवा लिदाँ कति रकम बिमा समितिले तिर्ने भन्ने सम्झौतामा उल्लेख भए बमोजिम अस्पतालहरुले भुक्तानी पाउने छन् ।

अस्पतालहरुलाई केही रकम पेश्कीको रुपमा प्रदान गर्ने वा बिरामीले उपचार लिएको १५ दिन भित्र नै अस्पतालले माग दावी गरे बमोजिमको रकम दिने व्यवस्था मिलाइएको स्वाथ्य बीमा कार्यक्रम चितवनका फोकल पर्सन अनुप अधिकारीले जानकारी दिए ।

बीमाको खर्च रकम ९५ प्रतिशत नेपाल सरकारले र ५ प्रतिशत मात्रै परीवारले व्यहोर्ने उदेश्य स्वास्थ्य बीमा कार्यक्रमको रहेको अधिकारीले बताए । सरकारले हाल २५ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लाग गरेको छ ।

चालु आर्थिक वर्षका रकारले २ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७१/०७२ मा सरकारले पहिलो पटक इलाम, बाग्लुङ र कैलालीमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment