Comments Add Comment

भरतपुर १९ मा चुनावी चहल पहल सुरु, देवी ज्ञवाली भन्छन्- ‘फेस’ गर्न तयार छु

रेणु दाहाल र पार्वती शाह पनि १९ नम्बरमा मत माग्न व्यस्त

मेयरका उम्मेदवार देवी ज्ञवाली र उपमेयर उम्मेदवार पार्वती शाह

२ असार, चितवन । एक महिनाअघि चर्चाको शिखरमा थिए भरतपुर महानगरपालिकाका मेयरका दाबेदार देवी ज्ञवाली र रेणु दाहाल । तर, यतिबेला उनीहरुको चर्चा लगभग सेलाएको छ । भरतपुरमा अहिले उनीहरु के गर्दै होलान् ?

खोजीनीति गर्ने क्रममा थाहा भयो, एमाले र माओवादी-कांग्रेस गठबन्धनका उम्मदेवारहरु फेरि भरतपुर-१९ का मतदातासँग भोट माग्नतिर केन्द्रित बनेका रहेछन् ।

पुनःमतदानको विरोध गर्दै आएको नेकपा एमाले पनि सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई ध्यानमा राख्दै १९ नम्बर वडाका मतदाताहरुमा केन्द्रित भएको छ । कांग्रेस र माओवादी नेताहरु पनि १९ नम्बर वडामै केन्द्रित हुन थालेका छन् ।

महानगरपालिकाका एमाले उम्मदेवार देवी ज्ञवालीलाई हामीले सोध्यौं- चुनावको नतिजा एक महिनासम्म आएन, अहिले तपाई के गरिरहनुभएको छ ?

जवाफमा ज्ञवालीले भने- ‘१९ नम्बर, जुन वडामा घटना घटेको हो, त्यही वडामा हामीले अहिले भेटघाटका कार्यक्रमहरु राखिराखेका छौं,पुनःमतदानको तयारीका लागि ।’

एमालेले भरतपुरको १९ नम्बर वडामा पुनःमतगणना हुनुपर्ने बताउँदै आएको छ । तर, सर्वोच्च अदालतले पुनःमतदानमा जाने आदेश दिने हो कि भन्ने चिन्ता एमालेलाई छ । त्यसैले एमालेले आवश्यक परे पुनःमतदानलाई सामना गर्ने रणनीति बनाएको हो ।

पुनःमतदानलाई ‘फेस’ गर्न आफू तयार रहेको बताउँदै ज्ञवालीले अनलाइनखबरसँग भने- ‘भोलि कथंकदाचित चुनावै भयो भने अन्तिम जनार्दन भनेको त जनता नै हुन् । त्यसैले जनतासँग पुग्नुपर्छ र वहाँहरुका भावनालाई आत्मसाथ गर्नुपर्छ भनेर म त अहिले मतपत्र च्यातिएको १९ नम्बर वडाका नागरिकहरुसँग भेटघाट गर्ने क्रममा छु ।’

आफूहरुले पुनः मतगणना हुनुपर्ने माग गरिरहेको भए पनि अदालतबाट जस्तोसुकै फैसला आउन सक्ने ज्ञवालीले बताए । ‘म त्यो परिस्थितिको पनि सामना गर्न तयार छु’, उनले भने, ‘कतै फेरि यो निर्वाचन नै गराइदिने हो कि ? कथंकदाचित त्यो खालको स्थिति आउला कि भनेर नागरिकसँगको भेटघाट र छलफल विचार विमर्श गर्ने कुरामै म केन्द्रित छु ।’

ज्ञवालीले अगाडि भने- ‘अब अदालतको फैसला त आउला नै । जे पनि त आउन सक्ने भो । मतगणना गर भन्ने पनि आउन सक्ने भो । निर्वाचन आयोगले पुनःनिर्वाचन भनिदिएको सन्दर्भमा अब कतै न्ययालयमाथि सरकारी चाहना, हस्तक्षेप हुन पुग्यो भने त्यो दुःखद स्थिति पर्ने हो कि ? यो पनि चिन्ता छ ।’

‘तनाव भयो’

पहिलो चरणको चुनाव जितेर अन्य स्थानीय तहमा जनप्रतिनिधिहरुले काम गर्न थालिसक्दा पनि भरतपुरको नतिजा नआउँदा व्यग्रता र तनाव बढेको ज्ञवालीले व्यक्तिगत अनुभूति सुनाए ।

ज्ञवालीले अनलाइनखबरसँग भने- ‘यो दिन लम्बिँदाखेरि व्यग्रता र तनाव छ । अरु सबैले काम गरिसके । योजना बनाइसके । जनताका काममा संलग्न भइसके । एकैचोटि चुनाव भएको हो । हामीले काम गर्न नपाएको एक महिनाभन्दा बढी भइसक्यो ।’

आफूले जितिसकेको भएता पनि घोषणा हुन नसकेको दाबी गर्दै ज्ञवालीले दिक्दारी प्रकट गरे – ‘मतले स्पष्ट बढी देखिएकै छ, यो देखिँदा देखिँदै पनि काम गर्न नपाउँदा, अगाडि बढ्न नपाउँदा के सिस्टकमा, कस्तो खालको समयमा कस्तो प्रणालीमा हामी गएछौं भन्ने लागिरहेको छ ।’

ज्ञवालीले थपे- ‘संसारका विकसित देशहरुमा भए यो त कल्पना पनि गर्दैनथे मान्छेहरुले । हामीकहाँ चाहिँ यस्तो नियति भोग्नुपर्ने रहेछ । हाम्रो परिस्थिति, हाम्रो नियति, हाम्रो परिस्थितिप्रति नै दुःख लाग्छ ।’

‘उपमेयर’ पार्वती भन्छिन्- १९ नम्बरमा केन्द्रित छौं

पुनःमतगणना गर्दा जित्ने सम्भावना प्रवल रहे पनि पुनःमतदानमा जाँदा मेयरका एमाले उम्मेवार देवी ज्ञवालीले चुनाव जित्ने वा नजित्ने अझै पनि धूकचूक मान्नुपर्ने अवस्था छ ।

तर, कांग्रेस नेतृ एवं उपमेयरकी उमेद्वार पार्वती थापाको भने जीत लगभग पक्कापक्कै जस्तै भइसकेको छ । यसरी उपमेयर बन्ने स्थिति पक्का हुँदाहुँदै पनि पावर्ती अहिले १९ नम्बर वडामा पुनः मत माग्दै हिँडिरहेकी छिन् ।

चुनाव सकिएको एक महिनासम्म उपमेयरमा जितको माला लगाउन नपाएकी पार्वतीलाई हामीले सोध्यौं- अहिले तपाई के गरिरहनुभएको छ ?

जवाफमा पार्वतीले भनिन्- ‘नियम अनुसार, विधिविधान अनुसार त पक्कै पनि अब चुनाव प्रचार गर्नुपर्ने नै होला । त्यसैले हामी पुनः मतदानका लागि तयारी गरिरहेका छौं । हामीले १९ नम्बर वडाका मतदातासँग भेटघाट गरिराखेका छौं ।’

आफूहरुले अदालतको निर्णयलाई कुरिराखेको शाहले अनलाइनखबरलाई बताइन् । उनले भनिन्- ‘अहिले अदालतमा विचारधीन विषय भएकाले हामी त्यसैलाई पर्खेर बसेका छौं ।’

कांग्रेस-माओवादी गठबन्धनबाट मेयरकी दाबेदार रेणु दाहाल पनि आफूहरुसँग १९ नम्बर वडाका मतदातासँग भेटघाटमा सक्रिय रहेेको शाहले अनलाइनखबरलाई जानकारी दिइन् ।

मतगणना हुँदै गर्दा १९ नम्बरको मतपत्र च्यातिनु र एक महिनासम्म मतगणना स्थगित भई पुन मतदानमा पनि जान नसक्नु दुःखद घटना भएको शाहले बताइन् ।

‘नहुनुपर्ने दुखको घटना भयो, यो दुःखकै कुरा हो,’ उपमेयरकी दाबेदार शाहले अनलाइनखबरसँग भनिन्- ‘काम गर्नेलाई महानगरपालिकामा एक दिन पनि महत्वपूर्ण हुन्छ । तर, समय ढीलै भए पनि काम गरिएला, पछि नपरिएला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment