Comments Add Comment

रुपन्देहीको सुरक्षा रिपोर्ट: ११४ मतदानस्थल सम्वेदनशील

निर्वाचन गराउन समस्या छैन–प्रजिअ

३ असार, भैरहवा । रुपन्देहीमा स्थानीय तह निर्वाचनका लागि कायम गरिएका २०८ मतदानस्थलमध्ये ११४ स्थलमा खतराको घण्टी देखिएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाका ११४ मतदानस्थललाई अति संवेदनशील र संवेदनशीलमा वर्गीकरण गरेको छ ।

जिल्ला सुरक्षा समितिले ७५ मतदानस्थललाई अति संवेदनशील, ३९ मतदानस्थललाई संवेदनशील र ९४ मतदानस्थललाई सामान्यको सुचीमा राखेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले बताए ।

राजपाले चुनावमा भाग नलिएको अवस्थालाई मध्यनजर गर्दै मतदान स्थलको सुरक्षाको वर्गीकरण गरिएको उनले बताए । यदि राजपाले चुनावमा भाग लिएमा अति संवेदनशील र संवेदनशील मतदान स्थलको संख्या व्यापक कमी आउने प्रजिअ बताउँछन् ।

मतदानस्थलाई विशेष गरी जिल्ला सदरमुकामदेखि पश्चिम दक्षिणी, पश्चिमी र पूर्वी क्षेत्रलाई अति संवेदनशील र संवेदनशीलमा वर्गीकरण गरिएको छ भने जिल्लाको उत्तरी क्षेत्रमा रहेका मतदानस्थललाई सामान्यमा वर्गीकरण गरिएको जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका सिंहले बताए ।

सिंहका अनुसार जिल्लाको पश्चिम दक्षिणी मर्चवार क्षेत्रका तीनवटै गाउँपालिका समरीमाई, कोटहीमाई र मर्चवारीमाईलाई अति संवेदनशीलको रुपमा वर्गीकरण गरिएको छ । त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिका, मायादेवी गाउँपालिका, रोहिणी गाउँपालिका र उत्तरी भागको केही मतदान स्थललाई अति संवेदनशील र संवेदनशीलमा वर्गीकरण गरिएको उनले बताए ।

उनले भारतसगँको खुल्ला सीमा रहेको कारण पनि अधिकांश मतदान स्थललाई अति संवेदनशीलमा वर्गीकरण गरिएको बताए ।

सुरक्षा चुनौतीः राजपा, सिके राउत र विप्लव

वर्तमान अवस्थासम्म चुनावमा भाग नलिने जनाइरहेको राष्ट्रिय जनता पार्टी (राजपा), स्वतन्त्र मधेस गठबन्धन (सिके राउत) र विप्लव माओवादीले निर्वाचनमा समस्या उत्पन्न गर्ने सक्ने रुपन्देही प्रशासनको अनुमान छ ।

जिल्लाको दक्षिणी, पश्चिमी, पुर्वी क्षेत्रमा राजपा र सिके राउत समूहले तथा जिल्लाको उत्तरी भागको केही मतदानस्थलमा विप्लव माओवादीले समस्या उत्पन्न गर्न सक्ने प्रशासनको अनुमान लगाएको छ ।

यी समूहहरुको गतिविधिबारे आफूहरुको सजग रहेको बताउँदै यी समुहहरुको उपस्थित रहेको क्षेत्रको मतदान स्थलमा उच्च सुरक्षा अपनाइने प्रजिअ सिंहले बताए ।

५ हजार सुरक्षाकर्मी परिचालन हुने

निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्लामा करिब ५ हजार सुरक्षाकर्मी परिचालन हुने प्रजिअ सिंहले बताए । सुरक्षाकर्मीले प्रत्येक मतदान स्थललाई ३ घेरमा सुक्षा दिनेछन् । जसमा पहिलो घेरामा अर्थात मतदान स्थलमा म्यादी प्रहरी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना सुरक्षाका लागि खटिने उनले बताए ।

यो सँगसँगै राष्ट्रिय अनुसन्धान विभाग पनि जिल्लाको प्रत्येक मतदान स्थलमा गोप्य रुपमा खटिनेछ ।

सीमामा संयुक्त पेट्रोलिङ

नेपाल भारतको खुल्ला सीमानालाई मध्यनजर गर्दै सीमामा नेपाल भारतको सुरक्षाकर्मी संयुक्त सुरक्षा गस्ती भइरहेको उनले बताए । उनले सीमामा संयुक्त सुरक्षा गस्ती गरिने बताए । साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले पैदल गस्ती, मोबाइल गस्ती लगायत जारी राखेको उनले बताए ।

निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचनअघि ४८ घण्टा सीमा बन्द गर्ने भारतका अधिकारीहरुसँग सहमति भएको उनले बताए ।

निर्वाचनका लागि तयारी अवस्थामा छौँ– प्रजिअ


अगामी असार १४ गते हुने स्थानिय तहको निर्वाचनको सम्पुर्ण तयारी भइसकेको बताउँदै निर्वाचन गराउनका लागि जिल्लामा कुनै समस्या नरहेको र रुपन्देही प्रशसान तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारीले बताए ।

‘रुपन्देही जिल्लामा निर्वाचन गराउन कुनै समस्या छैन,’ प्रजिअ सिंहले अनलाइनखबरसँग भने– ‘निर्वाचन आयोगको तालिका अनुसार हामी निर्वाचन गराउनका लागि पूर्ण तयारी अवस्थामा बसेका छौँ ।

२०८ वटा मतदानस्थल रहेको रुपन्देहीमा ५४३ वटा मतदान केन्द्र छन् भने ४ लाख ६२ हजार ५ सय ४६ मतदाता रहेका छन् । त्यस्तै जिल्लामा एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका गरी १६ स्थानीय तह रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment