Comments Add Comment

स्वास्थ्य समूहका कर्मचारीलाई एक साताभित्र स्थानीय तहमा खटाइने

स्वास्थ्य विभाग खारेज हुने, जिल्ला अस्पताल पनि अब स्थानीय तहलाई


४ असार, काठमाडौं । दोस्रो चरणको निर्वाचन कार्यक्रम चलिरहँदा सरकारले स्थानीय तहमा भटाभट कर्मचारी खटाउन थालेको छ ।

मन्त्रालयले स्थानीय तह बाहेक संविधानको अनुसुची ९ मा रहेको विषयसँग सम्वन्धित कार्यालयलाई पनि स्थानीय तहमा पठाउन थालेको छ ।

स्वास्थ्य मन्त्रालयले अब हरेक स्थानीय तहसम्म आफ्ना संरचना पठाउन केन्द्रमा भएको कर्मचारीलाई तल पठाउने गृहकार्य गरिरहेको छ ।

मन्त्रालयले अब एक हप्ताभित्र कर्मचारी खटाउने गरी गृहकार्य गरेको उपसचिव बाबुराम खनालले जानकारी दिए । अहिले कर्मचारी खटाउने मोडलबारे कृषि मन्त्रालयसँग छलफल गर्ने र एक सातामा कर्मचारी खटाउन थाल्ने उनले बताएका हुन् ।

विभागहरु खारेज हुँदै

स्वास्थ्य मन्त्रालयले स्थानीय तहमा कर्मचारी खटाउने र केन्द्रमा रहेको विभागहरु खारेज गर्ने गृहकार्य गरेको छ । स्वास्थ्यसँग सम्वन्धित सबै कामहरु अव स्थानीय तहबाट हुने भएपछि मन्त्रालयले त्यस्तो गृहकार्य गरेको हो । यस्तै मन्त्रालयले क्षेत्रीय कार्यालयहरुलाई पनि हटाउने गृहकार्य गरेको छ ।
उपसचिव खनालले भने, भोली प्रदेशमा कुनै कार्यालय रहनसक्छ, त्यसैले विभाग र क्षेत्रीय कार्यालयको संरचना लेला तर अब केन्द्रमा विभाग र क्षेत्रीय कार्यालय नराख्ने भन्ने तयारी छ ।

औषधी विभाग राख्ने कि ?

केन्द्रमा स्वास्थ्यसँग सम्वन्धित विभाग नराख्ने तयारी भए पनि औषधी व्यवस्था विभागका बारे के गर्ने भन्नेबारे मन्त्रालय अन्योलमा छ । औषधी व्यवस्था विभागले छुट्टै ऐन कार्यान्वयन गर्ने हुँदा त्यसलाई प्राधिकरणको स्वरुपमा राख्ने कि भन्नेबारे छलफल चलेको छ ।
औषधी व्यवस्था विभाग प्रदेश अनुसार फरक-फरक राख्न नहुने भएकाले पनि उक्त विभागको भविष्यका बारेमा थप छलफल गर्नु परेकेा उनले बताए ।

कहाँ कस्ता कर्मचारी जान्छन् ?

मन्त्रालयले महानगर र उपमहानगरमा नौ वा दश तहको कर्मचारी खटाउने गरि गृहकार्य गर्दैछ । स्वास्थ्य सेवा समूहका कर्मचारीको पद तहमा पद्धतीमा रहने गरेको छ । प्रशासन समूहका आधारमा भन्दा नौ वा दश तहका कर्मचारी उपसचिव सरहका हुन्छन् ।

मन्त्रालयले महानगर वा उपमहानगरमा नौ वा दश तहको कर्मचारीको नेतृत्वमा विभिन्न ५ देखि ७ जना कर्मचारी खटाउने छ । ती कर्मचारीले स्थानीय तहसँगको समन्वयमा त्यहाँ बन्ने स्वास्थ्य संरचना निर्माण गर्ने र नेतृत्व गर्ने काम गर्नेछ । उनीहरुले स्वास्थ्य महाशाखा वा हेल्थ डेस्क स्थापना गरेर तत्काल सेवा प्रवाह थाल्नेछन् ।

यस्तै स्वास्थ्य मन्त्रालयले नगरपालिका र गाउँपालिकामा भने त्यहाँको जनसंख्याको चाप अनुसार ६ वा ७ तहका कर्मचारी खटाउने गृहकार्य गरेको छ । यो तह भनेको अधिकृत स्तरको हो ।

प्रदेशमा के हुन्छ ?

स्वास्थ्य सेवा समूहमा १२ औँ तहको कर्मचारीले सचिव भएर काम गर्ने गरेका छन् । ९ र १० औँ तहका कर्मचारीलाई स्थानीय तहमा खटाएपछि प्रदेशमा ११ औँ तहको कर्मचारी खटाउने मन्त्रालयले जनाएको छ । तर त्यसबारे प्रयाप्त गृहकार्य नभएको उपसचिव बाबुराम खनालले बताए ।

स्वास्थ्य चौकीहरु के हुन्छन् ?

मन्त्रालयले सबै प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीहरु, आयुर्वेद विभाग अन्तरगतका आयुर्वेद केन्द्रहरु स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । मन्त्रालयले ती संस्थाहरु जे जस्तो भौतिक पूर्वाधार छ, त्यही अवस्थामा असार मसान्तसम्म जनशक्ति र भौतिक सम्पत्ति सहित स्थानीय तहलाई हस्तान्तरण गर्न लागेको हो ।

जिल्ला अस्पताल पनि स्थानीय तहलाई नै दिने

मन्त्रालयले जिल्ला अस्पतालहरु पनि स्थानीय तहमै हस्तान्तरण गर्ने गृहकार्य गरेको छ । त्यसपछि जिल्ला अस्पतालको नाम स्थानीय तहले परिवर्तन गर्न सक्नेछ । यस्तै अब स्थानीय तहमा नयाँ अस्पताल स्थापनाको स्वीकृति, जनस्वास्थ्य सेवाको मापदण्ड, कार्य जिम्मेवारी, अनुगमन प्रकृया सहितको कार्ययोजना ३ महिनाभित्र बनाई कार्यान्वयन गर्ने व्यवस्था मिलाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment