+
+
Shares

रामकुमारी झाँक्री भन्छिन्ः तर्साउन मात्र खोजेकी हुँ, खुट्टा त के भाँच्थें !

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २३ गते ३:१०

२२ असार, काठमाडौं । एमाले नेतृ रामकुमारी झाँक्री विवादमा तानिएकी छिन् । उनको एउटा अडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
अडियोमा झाँक्रीले कुँवरलाई गालीगलौज गर्दै खुट्टा भाँच्ने चेतावनी दिएकी छिन् । कुँवरले लेखेको फेसबुक स्टाटसमा आपत्ति जनाउँदै उनले धम्की दिएकी हुन् ।सो अडियोमा उनले सभ्य नागरिकले बोल्नै नसुहाउने शब्दहरु प्रयोग गर्दै आफ्नो स्तरबाट तल ओर्लेर एकजना शिक्षकलाई थर्काएकी छिन् । बमबहादुर कुँवर नाम गरेका गुृल्मी जिल्लाको पुर्कोट गाविसका ती शिक्षक नेपाली कांग्रेस निकट हुन् । झाँक्रीको स्थायी घर पनि गुल्मी नै हो ।

‘तँ गधा ५ मिनेटमा यहाँ आउँछस् कि केटाहरु बोलाएर तेरो खुट्टा भाचौं ?’ झाँक्रीले भनेकी छिन् ।

यस प्रकरणबारे बुझ्न अनलाइनखबरले फोन सम्पर्क गर्दा झाँक्री फेसबुक स्टाटस लेख्न ठिक्क परेकी रहिछन् । उनले सामाजिक सञ्जालमा भाइरल भएको अडियो आफ्नो भएको स्वीकार गरिन् ।

झाँक्रीका अनुसार दोस्रो चरणको स्थानीय चुनावको पर्सिपल्ट १६ असारका दिन गुल्मीमा यो संवाद भएको हो । व्यक्तिगत रुपमा आफूले कुँवरलाई नचिन्ने उनको दावी छ ।

झाँक्रीले भनिन्, ‘फेसबुकमा मेरो विरुद्ध उनले जे-जस्ता पोष्ट गरेका छन्, त्यसको तुलनामा मैले गरेको गाली सामान्य हो । मैले सामान्य बोलीचालीको भाषा प्रयोग गरेकी छु ।’

चुनावको सेरोफेरोमा आफ्नो चरित्र हत्या गर्नेगरी कुँवरले थुप्रै फेसबुक स्टाटस लेखेको उनको भनाइ छ ।

उनी भन्छिन्, ‘चुनावका क्रममा मेरो नेतृत्वमा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार भएको र म पक्राउ परेको जस्ता कपोलकल्पित कुराहरु उनले फेसबुकमा लेखेछन् र त्यसैलाई आधार मानेर केही अनलाइनहरुले समाचार बनाएछन् । त्यही कारण मैले उसलाई झपार्नु परेको हो ।’

अडियोमा झाँक्रीले फेसबुक स्टाटसको कुरा निकाल्दा कुँवरले ‘सुनेको आधारमा लेखेको’ जवाफ दिएका छन् ।

यस्तो कुरामा कानूनी प्रक्रियामा नगएर किन खुट्टा भाँच्ने कुरा गर्नुभयो भन्ने अनलाइनखबरको जिज्ञासामा उनले भनिन्, ‘मैले कानूनको अध्ययन गरे, तर यो विषयलाई साइबर कानूनले पनि छुन नसक्ने निस्कर्षमा पुगेपछि त्यतातिर नलागेकी हुँ ।’

के साँच्चिकै खुट्टा भाँच्नुहुन्छ त ? भन्ने प्रश्नमा उनले जोगिँदै भनिन्, ‘होइन, उसलाई तर्साउन धम्की मात्रै दिएकी हुँ, खुट्टा त के भाँच्थेँ ।’

झाँक्रीका अनुसार त्यस दिन कुँवरसित उनको यो दोस्रो फोन संवाद थियो ।

‘अघिल्लो संवादमा उनले ममाथि नानाथरी मुख छाडेका थिए, दोस्रोपटक चाहिँ रेकर्ड गरेका रहेछन् र विनम्र भई टोपले,’ उनले भनिन् ।

चुनावमा आफ्नो पक्षमा परिणाम नआएपछि कांग्रेसले कुँवरलाई प्रयोग गरेर आफूमाथि लाञ्छना लगाएको र केही अनलाइन मिडियाहरु पनि त्यसैको पछाडि दौडिएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?