Comments Add Comment

कुलमान भन्छन्-विजुली निकाल्दै लाङटाङको पानी काठमाडौं ल्याउन सकिन्छ

२५ असार, काठमाडौं । काठमाडौंमा यसैवर्ष मेलम्चीको पानी ल्याएर वितरण थाल्ने तयारी छ । तर, काठमाडौंमा आउने दैनिक १७ करोड लिटर मेलम्चीको पानी अपुग हुने निश्कर्षसहित सिन्धुपाल्चोककै याङ्ग्री र लार्के खेलाको पानी मिसाउने गरी परियोजना तयार पनि गरिँदैछ ।

यही अवस्थमा नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले एउटा ‘आइडिया’ सार्वजनिक गरेका छन्, जसले काठमाडौंमो पानीको समस्या हल गर्न सकिनेछ भने हिमालको फेदैबाट काठमाडौंमा खानेपानी आपूर्ति  सम्भव हुनेछ ।

उनले सार्वजनिक गरेको जस्तो प्रस्तावित आयोजना तयार भए ४ सय मेगावाट विजुली पनि उत्पादन हुनेछ भने लाङटाङ हिमनदीको पानी काठमाडौंसम्म सजिलै आइपुग्नेछ ।

लाङटाङलाई उपयोग गरेर जलविूत आयोजना बनाउने गरी बनेको मास्टर प्लानमा नै यो विषय समावेश छ । त्यही अध्ययन रिपोर्टलाई कुलमानले बाहिर ल्याएका हुन् ।

कुलमानका अनुसार लाङटाङ क्षेत्रमा रहेको क्यानजिन भ्यालीमा लाङटाङ नदी थुनेर रिर्जभ्वायर बनाउने हो भने त्यो पानी काठमाडौं ल्याउन सकिन्छ ।

तर, त्यसका लागि हेलम्बुसम्म १८ किलोमिटरको सुरुङमार्ग बनाउनुपर्छ । लाङटाङबाट सुरुङ हुँदै झरेको पानीबाट हेलम्बुमा विजुली उत्पादन गर्न सकिन्छ । कुलमानकाअनुसार विजुली निकालेपछिको पानीलाई सीधै मेलम्चीको सुरुङमार्फत काठमाडौं ल्याउन सकिने कुलमान बताउँछन् ।

क्यानजिनको जलासयमा जम्मा भएको पानीलाई सुरुङमार्गबाट हेलम्बु ल्याएर ४ सय मेगावाटको विजुली पनि उत्पादन गर्न सकिने कुलमानको अनुमान छ ।

‘क्यानजिनमा जलासय बनाउन हामी केबलकारमार्फत समान ढुवानी गर्न सक्छौं’ कुलमानले भने,’त्यो केबलकारलाई कायम राखेर पर्यटन प्रवर्द्धन पनि गर्न सकिन्छ । पदमार्गलाई असर नपुग्ने गरी लाङटाङलाई केबलकारसँग जोड्दै विजुली र खानेपानीको लागि प्रयोग गर्न सकिन्छ ।’

उनले अब काठमाडौंमा आएको पानी काभ्रेको पाँचखालसम्म पुर्‍याउनुपर्ने अवस्था रहेको भन्दै यो योजना अघि बढे रसुवाका स्थानीय मात्रै नभएर काठमाडौंका बासिन्दा पनि लाभान्वित हुने उनको भनाइ छ ।

उनले रिजभ्र्वायरको सञ्चालन मुख्य रुपमा हिउँदमा हुने भएकाले काठमाडौंमा पानीको अभाव रहेकै समयमा लाङटाङको पानी आउने अवस्था रहेको सुनाए ।

उनले यो आयोजना बने धेरै क्षेत्रलाई लाभ मिल्ने भन्दै आयोजना बनाउन सरकारको तत्परता आवश्यक रहेको औंल्याए ।
क्यानजिनमा मानव वस्ती पनि नभएकाले त्यो ठाउँ जलासय बनाउन उपयुक्त र सहज स्थान भएको अध्ययनबाट नै देखिएको छ ।

यस्तो जलायस बनाउँदा लाङटाङ क्षेत्रको पर्यावरणलाई जोगाउने योजना पनि बन्नुपर्ने उनको भनाइ छ । लाङटाङको संरक्षण गर्दै त्यसका सबै सम्भावनालाई उपयोग गर्ने हो भने यसले देशको समृद्धीमा अर्को ईटा थप्ने कुलमानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment