Comments Add Comment

मेयर भीम पराजुलीको घोषणाः विराटनगरलाई १ नम्बर प्रदेशको राजधानी बनाउँछु

भ्रष्टाचार र गुण्डागर्दीमुक्त शहर बनाउने सपना


२५ असार, विराटनगर । चार पार्टीका दुई अलग-अलग गठबन्धनलाई पराजित गर्दै विराटनगर महानरपालिकाको मेयर जितेर भीम पराजुलीले स्थानीय तहमा एमालेसँग पराजय भोगिरहेको कांग्रेसको घाउमा थोरै भनेपनि मल्हम लगाइदिए । ‘लो-प्रोफाइल’का नेता पराजुली दोस्रो चरणको एकमात्र महानगरपालिकाको ‘हाइ-प्रोफाइल’ मेयर बन्न सफल भए ।

नेकपा एमाले र फोरम लोकतान्त्रिक एवम् संघीय समाजवादी फोरम र माओवादी केन्द्रलाई पछि पार्दै चुनावी मैदानमा उत्रिएका पराजुलीको लागि अब विराटनगरको विकास मुख्य चुनौति हो । कांग्रेसको उर्बरभूमी मानिने विराटनगरमा पराजुलीको जित धेरै अर्थमा महत्वपूर्ण छ ।

कांग्रेसका नगर सभापति रहेका पराजुली हकी र निडर नेताको रुपमा चिनिन्छन् । नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका ४४ वर्षीय पराजुली विराटनगर-३ पोखरिया निवासी हुन् । निम्नमध्यम वर्गीय परिवारमा जन्मिएका पराजुली महेन्द्र मोरङ क्याम्पसको स्ववियुको नेतृत्व लिँदै कांग्रेसको राजनीतिमा सक्रिय भएका हुन् ।

विराटनगर महानगरपालिकाको मेयरमा निर्वाचित भएसँगै पराजुलीले एक सय दिन भित्र बिराटनगरवासीले प्रत्यक्ष रुपमा अनुभव हुने गरी विकासको कामलाई बाँडफाँट गरी योजना बनाएको बताएका छन् । अनलाइनखबरसँगको कुराकानीमा नवनिर्वाचित मेयर पराजुलीले सबैभन्दा पहिला बिराटनगरमा बिकराल बनेको सडक संरचनालाई चाँडो भन्दा चाँडो व्यवस्थित गर्ने आफ्नो योजना सुनाए ।

उनले भने, ‘एक सय दिन भित्रै नगरवासीले विराटनगरको अस्तव्यस्त सडकको कारण जुन समस्या व्यहोर्न वाध्य हुनु भएको छ त्यो अवस्थाबाट आंशिक रुपमा भएपनि नगरवासीलाई राहत महसुस हुने गरी काम गर्ने मेरो पहिलो योजना हुनेछ ।’

पराजुलीले पाँच वर्षको काफ्नो कार्यकालमा विराटनगरको समग्र विकासका लागि सामान्य खालका र बहुवर्षिय योजना बनाएर व्यवस्थितरुपमा काम गर्ने योजना रहेको बताए । उनले नगरभित्र रहेका अल्पसंख्यक जाति गरीवीका रेखा मुनि रहेका नागरिकलाई सहकारीको माध्यमवाट सहुलियत ऋण प्रदान गर्ने योजना पनि उनले सुनाए ।

मेयर पराजुलीले चुनावी एजेण्डामा प्रतिवद्धता गरेअनुरुप बिराटनगर महानगरपालिकालाई प्रदेश नम्बर १ को प्ा्रादेशिक राजधानी बनाएर आर्थिक र औद्योगिक केन्द्रका रुपमा विकास अघि बढाउन ध्यान केन्द्रित गर्ने पनि उनले बताए ।

इटहरी उपमहानगरपालिकाका एमालेबाट निर्वाचित मेयर द्वारिकलाल चौधरीले प्रदेशको राजधानी इटहरी बनाउने भने लगत्तै पराजुलीले विराटनगरलाई प्रदेशको राजधानी बनाउने बताएका हुन् ।

स्थानीय तहको दोश्रो चरणको चुनावी एजेण्डामा प्रादेशिक राजधानीपछि कांग्रेसले ‘हाम्रो र राम्रो बिराटनगर’ निर्माणकालागि धुँवाधूलो र हिलोमुक्त सहर बनाउने उल्लेख गरेको थियो ।

भ्रष्टाचार र गुण्डागर्दी मुक्त महानगर

धर्मकर्ममा निकै लगाव राख्ने नेताको रुपमा चिनिएका पराजुलीले महानगरपालिकालाई भ्रष्टाचार र गुण्डागर्दी मुक्त बनाउने योजना अघि सारेका छन् । उनले त्यसको अन्त्यको रणनीति भने बनाएका छैनन् ।

बिराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्ने र कोसी अञ्चल अस्पताललाई क्षेत्रीय अस्पतालमा रुपान्तरण गरेर एकेडेमिक कार्यक्रम सुरुआत गर्ने पनि बताएका छन् । बैजनाथपुर रंगशालालाई अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने, विराट राजाको दरबारलाई विश्व सम्पदा सूचीमा राखी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने पराजुलीका एजेण्डा हुन् ।

पराजुलीले भने, ‘राजनीतिक र औद्योगिक नगर विराटनगरको साख फिर्ता गराउने गरी म काम गर्ने छु । त्यसका लागि विकासलाई पहिलो प्राथमिकता दिने छु ।’

पराजुलीले २३ हजार ३१ मत प्राप्त गरी बिराटनगरको मेयरमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत पाए । संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९ सय ५८ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment