Comments Add Comment

अस्पतालसँग ५ बुँदे सहमतिपछि रेखाको शव उठाउन आफन्त तयार

८ चैत्र , कैलाली । सुत्केरी महिलाको मृत्युपछि आन्दोलनरत आफन्त र अस्पताल प्रशासनबीच ५ बूँदे सहमति भएको छ ।

धनगढी उपमहानगरपालिकाका मेयर नृप वड, उपमेयर सुशीला मिश्र भट्ट, स्वास्थ्य निर्देशक डा.गुणराज अवस्थी, सामाजिक विकास मन्त्रालयका प्रतिनिधि डा. चेतराज जोशी, दयाकृष्ण पन्त, अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. हेमराज पाण्डेय र मृतक महिलाका पति जयबहादुर थापाबीच अस्पतालमा भएको छलफमा सहमति जुटेको हो ।

सहमतिअनुसार छानबिन समिति गठन गरिनेछ । र समितिले निकालेको निष्कर्षअनुसार आवश्यक प्रकृया अघि बढाउन सबै पक्ष सहमत भएका छन् ।

छानबिन समिति गठनका लागि बरिष्ठ स्त्री रोग बिशेषज्ञ पठाइदिन सुदूरपश्चिम प्रदेश सरकार सामाजिक मन्त्रालयमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडाैंलाई अनुरोध गर्ने निर्णय भएको छ ।

सहमतिअनुसार नवजात शिशुको उपचार आवश्यकता अनुसार सेती अञ्चल अस्पताल र सामाजिक विकास मन्त्रालयले गर्ने छ ।

त्यस्तै मृतकका नवजात शिशुको २४ वर्षसम्म सेती अञ्चल अस्पतालले नि:शुल्क उपचार गर्ने सहमति भएको छ । बच्चाको उपचार फाष्ट ट्रयाकबाट गरिने सहमति भएको छ । बच्चाको उपचार झञ्झटिलो नहोस भनेर परिचय पत्रको व्यवस्था गरिने छ ।

त्यसका साथै मृतकका सन्तानको भरण पोषणका लागि राहत प्रदान गर्न सामाजिक विकास मन्त्रालय मार्फत मन्त्री परिषदमा पेश गर्ने सहमति भएको छ ।

सहमतिसंगै मृतक महिलाहरुका आफन्तजनले आन्दोलनका कार्यक्रम फिर्ता लिएर शव उठाउने प्रकृया शुरु भएको छ । मुचुल्कापछि शव पोष्टमार्टम गरिने छ । सम्भव भए शुक्रवार साँझ नै आफन्तजनले मृतकको शव उठाउने छन् ।

प्रसुति व्यथाले च्यापेपछि सुत्केरी गराउन चैत ४ गते सेती अञ्चल अस्पताल पुर्‍याइएकी धनगढी उपमहानगरपालिका-१२ जुगेडाकी रेखा थापाको शल्यक्रिया गरेर बच्चा निकालिएको थियो ।

सुत्केरी भएपछि स्वास्थ्य अवस्था जटिल भएकी उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको थियो । नेपालगञ्ज लैजादै गर्दा बिहीबार बाटोमै मृत्यु भएपछि परिवारजनले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै शव अस्पतालभित्र राखेर आन्दोलन गरेका थिए ।

शुक्रवार दिउँसो मृतकका आफन्तको प्रदर्शनले उग्र रूप लिएपछि तनावग्रस्त बनेको अस्पतालको अवस्था सहमतिसंगै सामान्य भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment