Comments Add Comment

आदिकवि भानुभक्त काठमाडौंमा दौडिने !

२५ असार, काठमाडौं । आदिकवि भानुभक्त आचार्य असार २८ गते ‘अलकापुरी कान्तिपुर नगरी’ मा अवतरण हुने भएका छन् ।

निधन भएको १ सय ५० वर्षपछि आउन लागेका भानुभक्तले कान्तिपुर शहरमा विभिन्न साहित्यिक तथा सांस्कृतिक हस्तीहरुको निवास हुँदै साहित्यिक दौड गर्ने भएका हुन् । तर, यी भानुभक्त भेषभूषाका हिसाबले मात्र आदिकवि देखिन लागेका हुन् ।

भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले साहित्यकार लक्ष्मण सापकोटालाई भानुको पहिरनमा सजाएर साहित्यिक दौड गराउन लागेको हो । भानु जयन्तीको अघिल्लो दिन असार २८ गते सापकोटा लैनचौरस्थित राष्ट्रकवि माधव घिमिरेको निवासदेखि ललितपुर बखुंबहालस्थित वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको निवाससम्म दौडिनेछन् ।

यस्तै, प्रतिष्ठानले भानु जयन्तीमा साहित्यकार गीता केशरी र संस्कृतिकर्मी डा. जगमान गुरुङलाई रथारोहण गराई सम्मान गर्ने भएको छ ।

असार ३० गते भानु सङ्गीत लहरी र असार ३१ गते विशेष कविगोष्ठी कार्यक्रम राखिएको प्रतिष्ठानका महासचिव ऋषभ घिमिरेले जानकारी दिए ।

प्रतिष्ठानले नेपाली जनकल्याण समिति कोलकाता र असम साहित्य सभाका पदाधिकारीलाई पनि भानु जयन्तीका अवसरमा निम्ता गरेको छ । समितिले कोलकातामा १८ वर्षदेखि भानु जयन्तीका साथ ‘बिहानी’ साहित्यिक पत्रिका प्रकाशन गरिरहेको छ । समितिका अध्यक्ष बद्रीविक्रम थापा, सचिव रामबहादुर थापा र नृत्यनिर्देशक दिलीप थापाले भानु जयन्तीका कार्यक्रममा सहभागिता जनाउने भएका छन् ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment